लकडाउनले बोटमै सुके फूल

लिली फूल फूलाएर बेच्ने सपना पालेका उनी अत्यधिक वर्षात्ले फूलको बीउ गानो नै कुहिने हो कि भन्ने चिन्तामा छन्
हरिहरसिंह राठौर

धादिङ — गत सातासम्म धादिङको अमिलीटार विभिन्न रंगका लिली फूलले ढकमक्क थियो । पृथ्वीराजमार्गबाटै त्रिशूलीपारि देखिने यो फूलबारी अहिले ओइलाउँदै गएको छ । सात रोपनीमा फैलिएको बारीको फूल लकडाउनले बिक्न सकेन । उल्टै २ दिनको झरीले चुटेपछि ओइलाएर खेर गयो ।


धादिङको गजुरी घाटबेंसीस्थित सिद्धलेक ७ अमिलीटारमा ७० हजार तरबार लिली फूल फुलाएर वेच्ने सपना पालेका सुधीर खतिवडा अत्यधिक वर्षातले फूलको बीउ गानो नै कुहिने हो कि भन्ने चिन्तामा छन् ।

खतिवडा २०६२ सालदेखि २०७२ सालसम्म ठमेलमा व्यवसाय गर्थे । विनाशकारी भूकम्पपश्चात व्यापार खस्क्यो । व्यापार छोडेर ६ महिना युरोप बसे । तर, आफ्नै देशमा केही गर्ने सपनाले उनलाई त्यहाँ बसिरहन मन लागेन । पैतृक भूमिमा फूल फुलाउने बोकेर स्वदेश फर्के ।

‘फूलखेती पर्यटन क्षेत्रकै अर्को रूप हो । ट्राभल एजेन्सी र ट्रेकिङ एजेन्सीले आफ्ना विदेशी पाहुनाहरुलाई स्वागत गर्न र बिदाई गर्न फूल तथा बुकी प्राय: अनिर्वायजस्तै छ,’ उनले भने, ‘नेपालको फूलले मात्र नपुगेर भारतबाट समेत आयात गर्नुपरेको छ । त्यसैले फूल खेती गरेको हुँ ।’

काठमाडाैंनजिक र राजमार्गको छेउमै आफ्नो जग्गा भएर पनि फूलखेती गर्न सहज भएको उनले बताए । तर सिँचाइका लागि वर्षाको पानीको भर पर्नुपर्ने उनको भनाइ छ । यस वर्ष पानी परिरहेकाले सिँचाइ गर्न सजिलो भएको उनले भने । ‘फूलको पात तरवाजस्तो हुने भएर तरवार लिली भनिन्छ । यो बहुवर्षे जातको फूल हो । यसको गानोबाट नयाँ बिरुवा निस्कन्छ,’ उनले भने । विवाह तथा व्रतबन्ध मण्डप गाडी, सभासमारोह स्थल सजाउन र स्वागत गर्न प्रयोग हुने फूल प्रतिगोटा १० देखि १४ रुपैयाँसम्म होलसेलमा बिक्ने खतिवडाले बताए ।

उनले फूलखेती सोख भएकाले लगानी नउठे पनि विस्मात् नभएको बताए । हालसम्म १० लाखभन्दा बढी लगानी गरिसकेका उनले अझै लगानी थप्नुपर्ने सुनाए । अहिले सात रंगका फूलहरु फुलिरहेका छन् । ‘यो सिजनको फूल लकडाउनले बोटमै सुक्ने भो । पर्यटक र यो फूलको भेट नहुने भो,’ सुधीरले भने ।

प्रकाशित : जेष्ठ १९, २०७७ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्

‘सुत्केरी र गर्भवती बचाऊ’

कोभिड–१९ संक्रमणको त्रासले गर्भवती जँचाउन र प्रसूति गराउन अस्पताल जाने घटेका छन्
ऋषिराम पौड्याल

काठमाडौँ — कोभिड–१९ को संक्रमणको त्रासले गर्भवती र सुत्केरी महिलाले अस्पतालबाट स्वास्थ्य सेवा पाउन कठिन भएको भन्दै सांसदहरूले उनीहरूको जीवनरक्षाका लागि विशेष पहल गर्नुपर्ने माग गरेका छन् । संक्रमणको भयले अस्पताल नजाने र गए पनि सहज रूपमा उपचार नपाउने गरेको सांसदहरूले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको प्रसूतिगृह र जिल्लाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा गर्भवती एवं सुत्केरी जाँच गराउन आउनेको संख्या घट्दै गएको छ । प्रतिनिधिसभामा आइतबार सांसदहरूले गर्भवतीले क्वारेन्टाइनमै सुत्केरी हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेकपाकी सांसद विद्या भट्टराईले बन्दाबन्दीका बेला ५६ जना सुत्केरी महिलाको मृत्यु भएको र ६० हजार गर्भवती स्वास्थ्य सेवाबाट वञ्चित भएको बताइन् । असुरक्षित गर्भपतन र रक्तस्रावका कारण महिलाको मृत्यु हुने गरेको उनको भनाइ थियो । नेकपाकी सांसद विन्दा पाण्डेले अस्पतालमा सुत्केरी हुनेको संख्या कम भएको उल्लेख गर्दै बालिकामाथि हिंसा बढेकामा सरकारको ध्यानाकर्षण गराइन् । पुसमा एक जना सुत्केरीको मृत्यु भएकामा चैतमा ५३ जना पुगेको तथ्यांक उनले पेस गरिन् । उनले बलात्कारलगायत लैंगिक हिंसा डरलाग्दो गरी बढेको दाबी गरिन् । ‘गाउँको स्वास्थ्य चौकीमा गएका महिलालाई स्वास्थ्यकर्मीले टाढैबाट हेर्ने गरेका छन्,’ उनले भनिन् । दैलेखमा एक महिला क्वारेन्टाइनमै सुत्केरी भएकी छन् । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेकी गर्भवती आइतबार निको भएर घर फर्केकी छन् ।

राजधानीको थापाथलीस्थित प्रसूतिगृहकी प्रशासक रानु थापाका अनुसार लकडाउनमा गर्भ जँचाउन आउने झन्डै ५० प्रतिशत कम भएको छ । उनले भनिन्, ‘सुत्केरी गराउने भने करिब १० प्रतिशत मात्र घटेका छन् । अन्य अस्पताल जाने बिरामी पनि कोरोना त्रासले थापाथली नै आउने गरेका छन् । त्यस हिसाबले त सामान्य अवस्थामा भन्दा धेरै घटेको हो ।’ थापाथली अस्पतालमा काठमाडौं, भक्तपुर, ललितपुरका झन्डै ६० प्रतिशत गर्भवती जँचाउन आउने गरेका छन् । कोभिड–१९ ले सिन्धुपाल्चोककी सुत्केरीको मृत्यु भएपछि शिक्षण अस्पताल महाराजगन्जमा जँचाउने गर्भवतीको संख्या घटेको छ । पाटन अस्पतलालाई कोरोना उपचार अस्पताल बनाइएकाले त्यहाँ जाने गर्भवती पनि कम भएका छन् । थापाका अनुसार दैनिक ओपीडीमा जँचाउन आउने गर्भवतीलाई पनि सामान्य अवस्थामा अस्पताल आउन प्रोत्साहन गरिँदैन । मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले गर्भवती र सुत्केरी अस्पताल आउन डराएकाले पनि जाँच गराउनेको संख्या घटेको बताए ।

सुत्केरीको मृत्यु

डोटीमा सुत्केरी भएको तीन दिनपछि एक महिलाको मृत्यु भएको छ । केआईसिंह गाउँपालिका–४ कार्कीबगरकी २६ वर्षीया नारु कार्कीको आइतबार बिहान मृत्यु भएको हो ।

ती महिलाले जेठ १६ गते शल्यक्रियाबाट छोरी जन्माएकी थिइन् । बेथा लागेपछि उनलाई दुर्गामाडौं स्वास्थ्यचौकीले दिपायल राजपुरस्थित सुजंग अस्पताल रिफर गरेको थियो । उनको मृत्युको कारण भने थाहा हुन सकेको छैन । शुक्रबार शल्यक्रिया गरिएकी महिलाको शनिबारसम्म स्वास्थ्य अवस्था सामान्य थियो । जन्डिस र टाइफाइडको समस्या देखिएकी उनलाई आइबार बिहान साढे ४ बजे एक्कासि बान्ता भई श्वास फेर्न गाह्रो भएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।

श्वासमा समस्या देखिएपछि अक्सिजन तथा बाफसमेत दिइएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उनलाई थप उपचारका लागि बाहिर पठाउने तयारी हुँदाहुँदै मृत्यु भएको हो । नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य छ । जिल्ला स्वास्थ्य कार्यालयले कोरोना परीक्षणका लागि मृतकको स्वाब संकलन गरेको छ । अस्पतालले यसअघि गरेको आरडीटी परीक्षणमा महिलाको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित : जेष्ठ १९, २०७७ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×