१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

विद्यार्थीलाई नयाँ पुस्तकसँगै 'लकडाउन गृहकार्य'

सिन्धुलीको एक विद्यालयले शिक्षकलाई टोलटोलमा खटाएर 'लकडाउन होमवर्क’को अभ्यास गरिरहेको छ ।
राजकुमार कार्की

सिन्धुली — कमलामाई नगरपालिका-१३ को प्रभात मावि रानीवासले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको साता नबित्दै दुई साताका लागि गृहकार्य थमाइदिएको छ । विद्यालयका प्रधानाध्यापक अरुणकुमार थिङका अनुसार विद्यार्थीलाई विषयगत शिक्षकले १५ दिनका लागि गृहकार्य दिएका छन् ।

विद्यार्थीलाई नयाँ पुस्तकसँगै 'लकडाउन गृहकार्य'

'सबै शिक्षकको बैठक राखेर सामाजिक दुरी कायम गर्दै टोलटोलमा पुगेर पहिलो चरणमा ‘लकडाउन होमवर्क’को अभ्यास गरिएको छ,’ उनले भने, 'विद्यालयले होमवर्कका लागि स्टेसनरीको समेत व्यवस्था गरेको छ ।'

'हामी तपाईंको टोलटोलमा आउनेछौं, विद्यालय आउनु पर्दैन, अतिरिक्त शुल्क लाग्दैन' भनेर विद्यालयले सूचना जारी गरेको थियो । ५ कक्षासम्मका ८५ जना विद्यार्थीका लागि होमवर्क प्याकेजमा मास्क पनि दिइएको छ । केही दिन नयाँ किताब हेरेका विद्यार्थीहरु जिज्ञासु भई प्रश्न गर्ने बेला भयो भनेर टोलटोलमा पुगेको सहायक प्रधानाध्यापक मीनप्रसाद बरालले बताए । ‘अभिभावक र विद्यार्थीको पढाइको चाहना देखेर हामीमा जाँगर पलाएको छ । पाठ्यपुस्तक मात्र वितरण गरेर बस्ने हो भने विद्यार्थीको च्यात्ने कामभन्दा केही नहुने ठानेर होमवर्कको विकास गरेका हौं,' उनले थपे ।

शिक्षकमा मात्र होइन विद्यार्थीहरु पनि नयाँ किताब लिएर होमवर्कको जिम्मेवारी पाएपछि दंग छन् । कक्षा ४ बाट प्रथम भई ५ मा पुगेकी छात्रा क्रिश्चला कार्कीले नयाँ किताबसँगै होमवर्क समेत पाएपछि पढ्न रहर लागेको बताइन् । ‘विद्यालयमा गएर पढ्न नपाए पनि सर र मिस टोलमै आएपछि खुसी लागेको छ,' उनले भनिन्, 'नजानेको सोध्न पनि पाइयो ।’

अभिभावक मोहनबहादुर कार्की टोलमा शिक्षक-शिक्षिका आएर होमवर्क दिँदा नानीबाबुहरु खुसी भएको बताए । कोरोना माहमारीले विद्यालय खुल्ने/नखुल्ने चिन्ता भइरहेकै बेला विद्यालयको यो अभियानले अभिभावकको टाउको हलुंगो भएको उनको भनाइ छ ।

होमवर्क मात्र होइन, टोलटोलमा पुगेका शिक्षकहरुले लकडाउन हुनका कारण र कोरोना भाइरसका विषयमा विद्यार्थीलाई बुझाउने प्रयास गरेका थिए । विद्यालयबाट समुदायमा कोरोना संक्रमण नफैलियोस् भनेर विद्यालय बन्द भए पनि पढाइ बन्द नभएकाले होमवर्क दिने, नबुझेको विषयमा अभिभावकमार्फत शिक्षकलाई प्रश्न गर्ने र उत्तर मौखिक वा लिखित लिन सुझाइएको प्रअ थिङले बताए । प्रभात माविले अंग्रेजी माध्ययमा पढाइ थालेपछि स्थानीयस्तरमा खोलेको बोर्डिङसमेत तीन वर्षअघि बन्द भइसकेको छ ।

पहिलो चरणमा कक्षा ५ सम्मका लागि गरिएको प्रयासबाट अभिभावक र विद्यार्थीहरुमा जागरण पैदा हुने र टोलटोलमा शिक्षक पुग्ने नीतिलाई अवलम्बन गरी १० कक्षासम्मका विद्यार्थीलाई जोड्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप दाहालले सुनाए । विद्यालयलाई क्वारेन्टाइनस्थल बनाए पनि टोलमा शिक्षक पुग्ने र विद्यार्थीसँग प्रश्नोत्तरको संवाद जारी राख्दा फाइदा पुग्ने वडाध्यक्ष किरण माझीको बुझाइ छ । विद्यालयमा कार्यरत २४ शिक्षकलाई विषयगत पालैपालो टोल विभाजन गरिएको छ । विद्यालयमा १० कक्षासम्म ४८२ विद्यार्थी छन् ।

जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख नेत्रप्रसाद गजुरेल विद्यालय सञ्चालन गर्नुस् भन्ने परिस्थिति नभएकाले सामाजिक दुरी कायम गरेर शिक्षकहरुले गरेको मेहनत कदरयोग्य भएको बताउँछन् । कमलामाई नगरपालिकामा सामुदायिकतर्फ ९८ र २६ वटा निजी विद्यालय छन् । इकाइका अनुसार बालविकाससहित जिल्लाका ९ वटा स्थानीय तहमा ५७५ वटा विद्यालय रहेका छन् ।

प्रकाशित : जेष्ठ १८, २०७७ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?