१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

हेटौंडाकी गर्भवती कोरोनामुक्त, आजै डिस्चार्ज गरिँदै

सुरुमा नमुना लिएकाे एक सातापछि गरिएका दुवै परीक्षणमा नेगेटिभ देखिएपछि ती महिला अस्पताल आएको पाँचाैं दिनमै डिस्चार्ज हुन लागेकी हुन् ।
रमेशकुमार पौडेल

चितवन — भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत हेटौंडाकी संक्रमित गर्भवती कोरोनामुक्त भएकी छन् । पछिल्लो दुई दिन लगातार गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालले उनलाई आजै डिस्चार्ज गर्ने तयारी गरेको छ ।

हेटौंडाकी गर्भवती कोरोनामुक्त, आजै डिस्चार्ज गरिँदै

जेठ १४ मा हेटौंडामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी सोही दिन भरतपुर अस्पताल आएकी थिइन् । ‘अस्पताल बुधबार आए पनि नमुना लिएको दिनदेखि गणना गरेर हामीले हप्तादिन पुगेका आधारमा शुक्रबार पहिलो पटक नमुना लिएर परीक्षण गरेका थियौं, त्यसमा नेगेटिभ नतिजा आयो । फेरि शनिबार पनि नमुना संकलन गरेर हेर्‍यौं, त्यसमा पनि नेगेटिभ नतिजा आयो,’ भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले भने । उनका अनुसार लगातार दुई पटक नेगेटिभ नतिजा आएपछि संक्रमण नभएको ठहर गर्ने प्रक्रिया छ ।

चितवनमै डेरामा बस्दै आएकी ती महिला जेठ ९ गते हेटौंडास्थित घर गएकी थिइन् । संक्रमण भेटिएपछि उनको सम्पर्कमा रहेका चितवनका व्यक्तिको पनि परीक्षण गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार उनी बस्ने घरका तीन र छिमेकी एक जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको थियो ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले महिलालाई लिन आजै हेटौंडा उपमहानगरपालिकाले एम्बुलेन्स पठाउने बताए । उनका अनुसार हाल भरतपुर अस्पतालको आइसोलेसन वार्डमा यी महिलासहित तीन जना संक्रमित छन् । यसअघि चितवनका दुई जना निको भएर घर फर्किसकेका छन् । भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा पनि हाल चार जना उपचाररत छन् ।

प्रकाशित : जेष्ठ १८, २०७७ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?