राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सनलाई साढे २ अर्ब 

विनियोजित रकम मुआब्जा तथा अस्थायी भौतिक संरचना निर्माणमा खर्च हुने आयोजनाले जनाएको छ ।
राजकुमार कार्की

सिन्धुली — राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन आयोजना निर्माणका लागि आगामी बजेटमा २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । विनियोजित रकम मुआब्जा तथा अस्थायी भौतिक संरचना निर्माणमा खर्च हुने आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सनलाई साढे २ अर्ब 

चालु आर्थिक वर्षमा आयोजनाका लागि २ अर्ब ५ करोड बजेट रहेको छ । मुआब्जा वितरणको काममा लाग्दै गर्दा कोरोना कहरले आयोजनाको उल्लेख्य प्रगति हुन सकेको छैन ।

आगामी आर्थिक वर्षका लागि विनियोजित रकम सुरुङमार्ग निर्माण लगायतका काममा खर्च गर्ने भने पनि लागतअनुसार बजेट पर्याप्त नभएको आयोजनाको गुनासो छ । हालको बजार मूल्यअनुसार आयोजनाको लागत ४६ अर्ब रुपैयाँ रहेको छ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । आयोजनाका प्रमुख सुशीलचन्द्र आचार्यका अनुसार सुरुङको डिटेल डिजाइन निर्माण कार्यसमेत सकिन लागेको छ  । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन निर्माणको अन्तिम चरणमा छ ।

आयोजनाको सुरुङ खन्न प्रयोग गरिने टनेल बोरिङ मेसिन (टीबीएम) को डिजाइनसमेत निर्माण भइरहेको आचार्यले जानकारी दिए । आयोजना निर्माणका लागि मुख्य लगानीकर्तामा चीनलाई राखिएको थियो । आयोजना प्रमुख आचार्यका अनुसार लगानीको वातावरण तयार गर्नका लागि अर्थ मन्त्रालय र आयोजनाको टोली चीन जाने कार्यक्रम तय भएकोमा कोरोना महामारीले स्थगित भएको छ ।

सुनकोसी–मरिण डाइभर्सन निर्माणका क्रममा बीपी राजमार्गको ९ सय ५० मिटर सडक डुबानमा पर्ने भएको छ । आयोजनाको बाँधस्थल सुनकोसी गाउँपालिका-७ को कानढुंग्री नजिकको बीपी राजमार्ग डुबानमा पर्ने भएको हो । सडक डुबानमा परेपछि २ हजार ३ सय मिटर नयाँ सडक निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । 'सडक रोक्ने कुरा आउँदैन,' आयोजनाका एक अधिकारीले भने, ‘काम सुरु हुनासाथ प्रभावित सबै काम एकसाथ गर्नुपर्ने भएकाले दाता खोज्न सबै लागिपर्नुपर्ने हुन्छ ।’

त्यस्तै खुर्कोट मन्थली सडक पनि ३० मिटर डुबानमा पर्ने भएको छ । आयोजना निर्माणका क्रममा एक हजार ५८८ मिटर ग्रामीण सडक, एक दशमलब २७ किलोमिटर विद्युत प्रसारण लाइन र २ वटा झोलुंगे पुल डुबानमा पर्ने जनाइएको छ । १२ मिटर उचाइको बाँधबाट रामेछाप र सिन्धुलीको ३१२ हेक्टर जमिन डुबानमा पर्नेछ । बाँधबाट निर्माण हुने जलाशयमा माछापालन गर्ने योजनासमेत रहेको छ । डुबान क्षेत्रमा ९० प्रतिशत माझी जाति र ५३२ घरधुरी प्रभावित हुने देखिएको आयोजनाले जनाएको छ ।

आयोजनाको मुख्य उद्देश्य तराईका बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एकलाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने रहेको प्रमुख आचार्यले बताए । सुनकोसीको पानी डाइभर्सनपछि मरिणखोलामा मिसाउन कमलामाई नगरपालिका–२ कुसुमटार फाँटमै खसालिनेछ । उक्त फाँटबाट मरिणखोला हुँदै ४२ किलोमिटर दुरीमा रहेको वाग्मती बाँधमा पानी पुर्‍याई सिँचाइ सुविधा बढाउने लक्ष्य सरकारको छ ।

हाल वाग्मती सिँचाइ आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदै आएको छ भने सुनकोसी–मरिण–डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने देखिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?