हेटौंडामा संक्रमितलाई अझै अस्पताल लगिएन

संक्रमण भएका र अरूलाई एउटै आइसोलेसन वार्डमा राख्दा जोखिम बढ्याे
सुवास विडारी

मकवानपुर — कोराना संक्रमण पुष्टि भएका र नभएकालाई हेटौंडास्थित एउटै आइसोलेसन वार्डमा राख्दा जोखिम बढेको छ । बुधबार राति आइसोलेसनमा रहेका हेटौंडा–९ का एक व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । उनलाई राख्न छुट्टै अस्पताल नभएकाले वार्डकै एउटा कोठामा राखिएको छ ।

हेटौंडामा संक्रमितलाई अझै अस्पताल लगिएन

उनीसँगै अघिल्लो दिन बसेका अर्का एक जनालाई पनि छुट्टै राखिएको आइसोलेसन वार्डका संयोजक भोला चौलागाईंले जानकारी दिए । हेटौंडामा कोरोना संक्रमितको उपचार गर्न छुट्टै अस्पताल नहुँदा छिमेकी जिल्ला चितवन पठाउनुपर्ने बाध्यता छ ।

३० बेडको आइसोलेसन वार्डमा बिहीबार ५६ जना राखिएका छन् । संक्रमित र अन्यले प्रयोग गर्ने शौचालय पनि छुट्टाछुट्टै नभएका कारण थप जोखिम बढेको छ ।

यता, हेटौंडा–१ मा कोरोना पुष्टि भएकी महिलाका पति र उनको परिवारका अरूको रिपोर्ट अझै आएको छैन । ती महिलालाई चितवनको भरतपुरस्थित कोरोना अस्थायी अस्पतालमा राखिएको छ । समयमै रिपोर्ट प्राप्त नहुँदा साधारण हलमा रहेका एक व्यक्तिमा पोजिटिभ आए अन्य व्यक्तिमा पनि सर्ने जोखिम रहन्छ । बुधबारसम्म हेटौंडाको कोरोना प्रयोगशालामा १ हजार ४ सय ८५ स्वाबको नमुना प्राप्त भएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

वार्ड संयोजक चौलागाईंका अनुसार हेटौंडाको प्रयोगशालामा बिहीबार २६ जनाको स्वाब नमुना संकलन गरेर पठाइएकोमा रिपोर्ट आएको छैन । हेटौंडाको जेठ ९ देखिको ल्याब रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?