ग्यास लिक हुँदा बनेपामा ५ जना घाइते

नगेन्द्र अधिकारी

काभ्रेपलाञ्‍चोक — ग्यास लिक भई आगलागी हुँदा बनेपा–७ तरकारी बजारमा ५ जना  घाइते भएका छन् ।

रत्नकुमार शाह ठकुरीको तीन तले घरको तेस्रो तलमा रहेको भान्छामा ग्यास लिक भई आगलागी हुँदा १८ महिने शिशु रत्ना ठकुरीसहित २६ वर्षीय रुकेश, २४ वर्षीया सोफी, १६ वर्षका आयुष र अनिश ठकुरी घाइते भएको इलाका प्रहरी कार्यलय बनेपाले जनाएको छ ।

तत्काल बनेपास्थित शिर मेमोरियल अस्पताल पुर्‍याइएका उनीहरुलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । भान्सा पूर्ण रुपमा क्षति भएको र आगो अन्यत्र फैलन नपाएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्

सगरमाथाले फुर्सद पाएकाे बेला

सन्दर्भ– तेह्रौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस
कुम्भराज राई

जतिखेर सोभियत संघ (रूस) र अमेरिकाका वैज्ञानिक चन्द्रमा छुन तल्लीन थिए, त्यतिखेरसम्म पृथ्वीकै उँचो भाग अर्थात् सगरमाथा (चोमोलोङ्मा) मा कसैले पाइला टेकेका थिएनन् ।  प्रयास वर्षौंदेखि भइरहेको थियो । केहीले त्यही लहडमा ज्यान गुमाइसकेका थिए ।

१९५३ मे २९ अर्थात् आजभन्दा ६७ वर्षअघि सगरमाथाको शिरमा मानव पाइला पुग्यो । न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङनोर्गे शेर्पाले पाइला राखे । सोभियत संघको अन्तरिक्ष यान लुना २ ले त्यसको ६ वर्षपछि १९५९ सेप्टेम्बर १३ मा चन्द्रमा छोएर फर्कियो । त्यसको १० वर्षपछि सन् १९६९ को जुलाई २० का दिन संयुक्त राज्य अमेरिकाको एपोलो ११ ले निल आर्मस्ट्रङसहितको मानव टोली लिएर चन्द्रमामा अवतरण गर्‍यो ।

सगरमाथा आरोहणको १६ वर्षपछि चन्द्रमामा मान्छे पुगे । जबकि समुद्री सतहदेखि सबैभन्दा उँचो शिखर सगरमाथामा पहिचान भएको १ सय १ वर्षपछि आरोहण सफल भएको थियो । मैले यहाँ सगरमाथा र चन्द्रमा बीच तुलना गर्न खोजेको होइन । तर, सगरमाथा आरोहण कति कठिन थियो भन्ने प्रस्ट पार्न खोजेको हुँ । अवश्य कुनै यान लिएर चन्द्रमा पुग्नु र सगरमाथाको शिखरमा पुग्नु उत्तिकै कठिन थियो ।

आजकै दिन अर्थात् मे २९ तारिख आरोहण इतिहासको गर्विलो दिन हो । जहिलेदेखि हामीले विश्वको सर्वोच्च शिखर हाम्रो देशमा रहेको महत्त्व बुझ्न पायौँ । नेपाल सरकारले १३ वर्षअघिदेखि मे २९ लाई सगरमाथा दिवस मनाउन थालेको छ । सगरमाथाको पहिलो सफल आरोहण टोलीका एकमात्र जीवित सदस्य कान्छा शेर्पाले गत वर्ष पंक्तिकारसँगको भेटमा भनेका थिए, ‘हिलारी र तेन्जिङ हाम्रा लागि आरोही मात्र थिएनन् । उनीहरू त भगवानकै रूप थिए जसले गर्दा आजको स्थितिमा हामी पुग्यौँ ।’

नेपालको हिमाली पर्यटनको विकासले त्यसपछि मात्र छलाङ मार्न सुरु गरेको हो । आज नेपालको पर्यटनको महत्त्वपूर्ण हिस्सा हिमाल आरोहण र हिमाली पर्यटनले ओगटेको छ । ६७ वर्षको सगरमाथा आरोहण इतिहासमा करिब ८ हजार आरोहीले पाइला टेकिसकेका छन् । तीमध्ये यकिन संख्या नभए पनि सयौंले ज्यान गुमाएका छन् । आरोहीमध्ये ७ सय हाराहारी महिला रहेको नेपाल पर्वतारोहण संघकी उपाध्यक्ष माया शेर्पाको भनाइ छ ।

पर्यटन विभागको सन् २००९ सम्मको तथ्यांकमा २ हजार ६ सय ९३ आरोहीले अनुमति लिएर आरोहण गरेको देखिन्छ । तीमध्ये महिलाको संख्या १ सय ३७ जना देखाइएको छ । त्यसयताको कुल आरोही संख्या सार्वजनिक भएको छैन । ‘हाम्रा लागि मे २९ तारिख उत्सव नै हो । केही वर्षयता नेपाल सरकारले यसलाई सगरमाथा दिवसका रूपमा घोषणा गरेपछि हामीले विभिन्न कार्यक्रम गरेर मनाउने गरेका थियौँ,’ सगरमाथा आरोही संघकी अध्यक्षसमेत रहेकी शेर्पाले भनिन्, ‘तर यसपालि कोभिड–१९ का कारण आरोहण भएन । उत्सवका रूपमा कार्यक्रम गर्ने अवस्था छैन । तैपनि पर्यटन मन्त्रालयको अनुरोधमा सानो औपचारिक कार्यक्रम गर्ने सल्लाह भएको छ ।’

झन्डै सात दशकको सगरमाथा आरोहण इतिहासमा सयौं कीर्तिमानसँगै र अनेकौं विवाद पनि सुनिएको छ । यसबीच केही वर्ष हिमपहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिका कारण आरोहण स्थगित भयो । यस वर्ष त्यस्तो विपत्ति कोरोना भाइरस बन्न पुग्यो ।

तिब्बती मोहडाबाट सगरमाथा मापनका लागि केही दिनअघि चिनियाँ टोली चुचुरोमा पुगेको छ । २०७२ को भूकम्पपछि सगरमाथाको उचाइ केही घटबढ भयो कि भनेर नेपालका तर्फबाट समेत दुई वर्षदेखि मापन सुरु गरिएको छ । काम सकिएको भनिए पनि यसको पछिल्लो उचाइ सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार चीन सरकारले आफ्नो देशका तर्फबाट पनि मापन गर्ने र सँगै नतिजा घोषणा गर्ने सहमतिको कारण ढिलाइ गरिएको हो ।

संसारकै हिमाल आरोहणमा नेपालका शेर्पाहरूको साहसका गाथा सुनिन्छन् । त्यसैले नेपाल विश्वमा बुद्ध, गोर्खा, शेर्पा र सगरमाथाका कारण प्रसिद्ध छ । सगरमाथा आरोहणको कीर्तिमानका लागि बाबुछिरी शेर्पा, आङरिता शेर्पा, आप्पा शेर्पा, कामिरिता शेर्पालगायत संसारभर परिचित छन् ।

सगरमाथा बर्सेनि अर्बौंर् रकम भित्र्याउने हिमाल हो । एक विदेशी आरोहीलाई आरोहण अनुमतिका लागि सरकारले ११ हजार अमेरिकी डलर राजस्व लिने गर्छ । वर्षमा औसत तीन सयभन्दा बढी आरोहीले अनुमति लिने गर्छन् । राजस्वबाट मात्र ५० करोड हाराहारी आम्दानी हुन्छ । हजारौंले पाउने रोजगारी र अन्य व्यापारबाट हुने आम्दानी जोड्दा बर्सेनि एक अर्बभन्दा बढी पुग्छ ।

सगरमाथाको उत्तरी पाटो चीन भए पनि चुचुरोचाहिँ नेपाली भूभागमा पर्छ । तर बेलाबेला चिनियाँ सञ्चारमाध्यमले सगरमाथा चीनमा पर्छ भन्ने गरेका छन् ।

नेपाल सरकारले सगरमाथा आरोहण र अन्य व्यवस्थापनको पक्षमा अझै धेरै काम गर्न सकेको छैन । बर्सेनि सगरमाथामा हुने फोहोरको चर्चा हुने गरेको छ । प्रथम आरोही एडमन्ड हिलारीले भनेझैं सगरमाथालाई बिसाउन दिनुपर्ने अवस्था छ । केही वर्ष आरोहणलाई स्थगित गरी फोहोर संकलनको काम गर्न जरुरी देखिन्छ । यसै वर्ष पनि त्यो अवसरका रूपमा रहेको थियो तर त्यतापट्टि सरकारले ध्यान दिन सकेन ।

अहिले विश्व नै कोरोना भाइरससँगको युद्धमा छ । कोरोनासँगको युद्ध जितिसकेपछि नेपालले सगरमाथाको छवि उँचो बनाउन गर्नुपर्ने बाँकी काम गर्नुपर्छ । त्यसपछि जसरी सगरमाथा विश्वको मानचित्रमा अग्लो भएर उभिरहेको छ, त्यसरी नै नेपाल र नेपालीको शिर बनेर भोलि पनि उभिइरहनेछ ।

kumbha.kantipur@gmail.com

प्रकाशित : जेष्ठ १६, २०७७ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×