कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वाग्मतीका १० जिल्लामा फौजी किराको प्रकोप

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेशका १० जिल्लामा अमेरिकी फौजी किराको प्रकोप बढ्दो छ । गत वर्षदेखि मकैवालीमा देखा पर्न थालेको यो किरा अहिले अझ विस्तार भएको छ  । 

वाग्मतीका १० जिल्लामा फौजी किराको प्रकोप

‘वाग्मती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लाका मकैबालीमा यो रोग देखापरेको छ,’ कृषि विकास निर्देशनालय हेटौंडाकी बाली संरक्षण अधिकृत सुलोचना श्रेष्ठ भनिन्, ‘गत वर्ष यो प्रदेशमा २–३ जिल्लामा मात्र यो रोग देखापरेको थियो, अहिले विस्तार भएर १० जिल्लामा फैलिएको छ ।’

गत वर्ष सिन्धुली, चितवन र रामेछापका केही भागमा मात्र देखापरेको थियो । मकैको गुवामा लाग्ने फौजी किराले बोट नै सुकाइदिने गरेको छ । सुरुकै चरणमा रोग देखापरेकाले कृषि प्राविधिकहरूलाई सम्बन्धित क्षेत्रमा गएर उपचारका विधि अपनाउन निर्देशनालयले निर्देशन दिएको छ ।

‘गत आवमा सबैभन्दा बढी सिन्धुलीमा मकै बाली नष्ट गरेको थियो,’ बाली संरक्षण अधिकृत श्रेष्ठले भनिन् । सिन्धुलीमा धान बालीमा पनि फौजीको प्रकोप देखिएको थियो । निर्देशनालयका अनुसार गत आवमा वाग्मतीमा फौजी किराले ४ सय २५ हेक्टर जमिनमा लगाएको मकैबाली नष्ट गरेको थियो । प्रदेशमा १ लाख ९९ हजार १ सय २५ हेक्टरमा मकै खेती गरिएको छ । फौजीको प्रकोप २०७६ सालदेखि यो प्रदेशमा देखा परेको हो । मकवानपुरका १० वटै पालिकाका मकैबालीमा यो रोग देखापरेको प्राविधिकले बताएका छन् ।

प्राविधिकहरूले कृषकलाई उपचार विधि पनि सिकाइरहेका छन् । हेटौंडा उपमहानगरपालिकाका कृषि प्राविधिक रवीन्द्र पौडेलले भने, ‘उपमहानगरका सबै क्षेत्रका मकै बालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएकाले औषधि उपचार गर्न/गराउन खटिएका छौं ।’

धानको बिउ निःशुल्क

धानको उत्पादन वृद्धि गर्न मनहरी गाउँपालिकाले कृषकहरूलाई निःशुल्क बिउ वितरण गरेको छ । मूल र उन्नत जातको गरी १५ टन बीउ बाँडिएको हो । मूल बिउमा शतप्रतिशत र उन्नत जातको बिउमा ७५ प्रतिशत अनुदान दिइएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । खाद्यान्न उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषकहरूलाई अनुदानमा धानको बीउ उपलब्ध गराइएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?