कोरोना संक्रमित महिलाको उपचारमा संलग्‍न दुई डाक्टरको रिपोर्ट नेगेटिभ- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमित महिलाको उपचारमा संलग्‍न दुई डाक्टरको रिपोर्ट नेगेटिभ

सुवास विडारी

हेटौंडा — काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएकी हेटौंडा–४, हुप्रचौरकी ५४ वर्षीया महिलाको उपचारमा संलग्न तीनजना डाक्टरमध्ये दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

हेटौंडामा उपचारपश्चात् थप उपचारका लागि काठमाडौं रिफर गरिएको बिरामीका कोरोना पुष्टी भएपछि शनिबार हेटौंडाका तीन डाक्टरसहित १९ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । ‘क्वारेन्टाइनमा रहेको अरुको स्वाबको रिपोर्ट आउने क्रम जारी रहेको छ । हामीले पीसीआरका लागि पठाएको ७८ स्वाबमध्ये १२ वटाको रिपोर्ट प्राप्त भएको छ । हालसम्म परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ हेटौंडा अस्पताल विकास समिति अध्यक्ष प्रकाश पौडेलले भने ।

उनका अनुसार क्वारेन्टाइनमा रहेको दुई जना डाक्टरको रिपोर्ट नेगेटिभ आएको र अन्यको रिपोर्ट आजै आउनेछ । ‘आजै प्रदेशसभा सदस्य र हाम्रो अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी तथा विकास समिति सदस्यहरुको रिपोर्ट एकैपटक आउने प्रयोगशालाबाट सूचना प्राप्त भएको छ,’ उनले थपे ।

उक्त महिलालाई जेठ ४ गते हेटौंडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । उक्त महिलामा शुक्रबार कोरोना पुष्टि भएपछि उनको उपचारमा संलग्न डाक्टरसहित अन्य स्वास्थ्यकर्मीलाई हेटौंडा–११, स्थित हेटौंडा एकेडेमीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

ड्रागन र सिंहको चेपुवामा नेपाल

उत्तरतिर आगो ओकल्ने ड्रागन प्रतीक बोकेको चीन र दक्षिणतिर शक्तिशाली सिंह निसान छाप भएको भारतबीच नेपालले कूटनीतिक सम्बन्ध सुधार गर्नु नै छ । यसमै उसले आफ्नो अस्तित्व उँचो राख्नु छ ।
गंगा बीसी

चीनको प्राचीन संस्कृतिले ड्रागनलाई शक्तिको प्रतीक मान्छ । खतरनाक आगो ओकल्ने विशाल अजिंगरलाई अहिले पनि शक्तिको प्रतीककै रूपमा लिइन्छ । त्यसैले कतिपयले चीनलाई ड्रागन शक्तिका रूपमा चिन्छन् । पछिल्लो समय उसले यो शक्ति अझ बढाउँदै लगेको प्रतीत हुन्छ ।

ऐतिहासिक रूपमा चीनका सम्राटले राजकीय शक्तिको प्रतीकका रूपमा ड्रागनको उपयोग गर्दै आएका छन् । हान राजवंशका संस्थापक लियु बैंगकी आमाले सपनामा देखेपछि यसको प्रयोग हुँदै आएको मानिन्छ ।

भारतको निसान छापमा रहेको चारमुखे सिंहलाई शक्ति, साहस, गर्व र आत्मविश्वासको प्रतीकका रूपमा लिइन्छ । इसापूर्व २५० मा स्थापित सारनाथस्थित अशोकस्तम्भमा यो प्रतीक भेटिएपछि भारतले यसलाई निसान छापका रूपमा प्रयोग गर्दै आएको छ ।

जसले जे भने पनि यी दुई शक्तिबीच नेपाल छ ।

पृथ्वीनारायण शाहले विक्रम संवत् १८३० तिर नेपाललाई दुई ढुंगाबीचको तरुल भनेर संज्ञा दिए । पछिल्लो यो परिभाषा अलिक फेरिएको छ । भौगोलिक रूपले अहिले पनि नेपाल आर्थिक र सैन्य हिसाबले विशाल यी दुई देशको बीचमा छ । भूगोल उही हो, परिभाषा मात्र फेरिएको हो ।

यति बेला यी दुई देशबीच नेपाललाई तरुल होइन, गतिशील पुल बनाउने विचार पनि आएको छ । तर, तथ्यले अहिलेसम्म गतिशील पुल पुष्टि भइसकेको छैन । बरु पछिल्लो परिभाषामा नेपाल ड्रागन र सिंहबीच रहेको यथार्थ मान्न सकिन्छ ।

०००

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नयाँ नक्सा जारी गरेपछि भारतमा त्यसको चर्को विरोध भयो । भारतका सेनाप्रमुख एमएम नरभानेले नेपालले नक्सा जारी गर्नुमा कसैको हात भएको प्रतिक्रिया जनाए । यसकै आधारमा भारतीय मिडियाले नयाँ नक्सा जारी गर्न चीनले उक्साएको आरोप लगाउन भ्याए । यो आरोपको बेइजिङमा खासै चर्चा नहोला । यसबारे चिनियाँ विदेश मन्त्रालयले पछिल्लो विवाद दुई देशबीच भएको प्रतिक्रिया दिइसकेको छ । तर, भारतीय मिडियाले चीनको बलमा नेपालले नयाँ नक्सा जारी गरेको रटान लगाइरहे । बेइजिङले यसको प्रतिक्रिया दिन चाहेन । यसको अर्थ उसले नेपालको नयाँ नक्सा जारी गर्ने कदमलाई समर्थन गरेको भने होइन ।

नेपालको नयाँ नक्साले भारतमा तरंग ल्याउनु स्वाभाविक छ । आफूले उपभोग गर्दै आएको नेपाली भूभाग नक्सामा समेटेर जारी गरेपछि एकाएक दुई देशबीच सम्बन्ध चिसिएको छ । नेपालले नक्सा जारी गरेपछि भारतले ठाडै अस्वीकार गर्दै वार्ताको वातावरण नेपालले बनाउनुपर्ने अडान राखेको छ । भारतको यो वक्तव्य आएपछि सीमा समस्या समाधानका लागि वार्ता अनिश्चित भएको छ । भारतले लिपु पास जाने सडक उद्घाटन गरेपछि नेपालले कूटनीतिक नोट पठाएर असहमति जनाएलगत्तै भारतले कोरोना संक्रमणपछि वार्ता गर्ने बताएको थियो ।

सन् २०१५ मेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमणका बेला लिपुलेक व्यापारिक केन्द्र बनाउने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । त्यति बेला चीन र भारतबीच भएको सहमतिप्रति नेपालले असहमति जनाएको थियो । यसबारे चीनलाई आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरेको थियो । यसबारे चीनको ठोस प्रतिक्रिया आएको छैन । लिपुलेक पास सडक बनाउन भारत मात्र होइन, चीनको पनि चासो देखिन्छ । नेपाल र चीनबीच सीमा विवाद नभए पनि त्रिदेशीय यो विन्दुमा दुई देशबीच भएको सहमति नेपालको हितमा थिएन । चीनसित सहमति भएपछि भारतले व्यापारिक नाका बनाउन सडक निर्माणलाई तीव्रता दिएको थियो ।

यसअघि चीनले नेपालको आर्थिक समृद्धिका लागि भारतसँग पनि सहकार्य गर्नुपर्ने सुझाव दिँदै आएको छ । नेपालको राजनीतिक गतिविधिमा नजिकबाट चासो राख्दै आएको चीनले भारतसँग हुने विवादमा चासो राख्दैन, जबसम्म उसको स्वार्थमा असर गर्दैन । यो लिम्पियाधुरा, लिपुलेक र कालापानी विवादमा पनि उसले कुनै हिसाबले चासो राख्न उचित ठानेको छैन ।

चीनले शान्तिपूर्ण तरिकाले बर्मा, नेपाल, अपगानिस्तान, मंगोलिया र कोरियासँग सीमा विवाद सुल्झाइसकेको छ । दोस्रो विश्वयुद्धपछि चीनले अधिकांश देशसँग सीमा समस्या समाधान गरेको थियो । भारतसँग लद्दाखमा भने विवाद कायमै छ । बेलाबेला यो विवाद चर्को रूपमा उठ्छ ।

नेपाल–चीनबीच सीमा सन्धिमा ५ अक्टोबर १९६१ मा हस्ताक्षर भयो । सगरमाथालगायत ३२ ठाउँको विवाद त्यति बेला टुंगोमा पुगेको थियो । त्यसपछि चीन र नेपालबीच कहिलै सीमा विवाद भएको छैन ।

०००

चीनमा कूटनीतिबारे एउटा भनाइ लोकप्रिय छ, ‘जब ओठ चल्छन्, दाँतमा चिसोको सम्पर्कमा पुग्छन् ।’ अर्को भनाइ पनि छ, ‘टाढाको नातेदारभन्दा नजिकको छिमेकी प्यारा हुन्छन् ।’

यसको अर्थ उसले राजनीतिक र भौगोलिक रूपले निकट छिमेकीसँग राम्रो सम्बन्ध बनाउने कूटनीति अघि सार्नु हो । तिब्बत मामिलामा चीन जति निकट रहेर नेपालसँग छलफल गर्छ, अरू विषयमा सक्रिय देखिँदैन । व्यापारिक हिसाबले चीनका लागि भारत बढी महत्त्व भएको देश हो । यद्यपि २०१९ अक्टोबर दोस्रो साता चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत र नेपाल भ्रमण एकसाथ गरे । त्यस बेला चीन र नेपालबीच भौतिक पूर्वाधारमा केरुङ रेलको सम्भाव्यता अध्ययन, सीमा व्यवस्थापन प्रणालीलगायतमा सहमति भएको थियो ।

नेपाल–भारतबीच कूटनीतिक सम्बन्ध भारतमा सन् १७०० पछि अंग्रेजले शासन गरेदेखि निरन्तर छ । सन् १९५० को सन्धिपछि कूटनीतिक सम्बन्ध व्यवस्थित रूपमा अघि बढ्यो । खुला सिमाना, ऐतिहासिक रूपमा भाषा–संस्कृति, धार्मिक मूल्य–मान्यताले अझ नजिक बनाउँदै आएको छ । नेपाली नागरिक निर्बाध भारतमा गएर काम गर्न सक्छन् । भारतीय नागरिक पनि त्यसरी नै नेपालमा काम गर्न स्वतन्त्र छन् । सदियौंदेखि ‘भारतसँग रोटी–बेटी’ को सम्बन्ध रहँदै आएको छ ।

यति बेला भने नेपालले नयाँ नक्सा जारी गरेपछि भारतसँग ‘नक्सा–युद्ध’ सुरु भएको छ । यो लामै समय जाने देखिन्छ, जबसम्म यो क्षेत्रको विवाद कूटनीतिक तरिकाले समाधान हुनेछैन । नेपाल सरकारको लिपुलेक विवाद समाधान गर्न चीनले सहजीकरण गर्नुपर्ने अपेक्षा गरेको छ । किनकि लिपुलेक पास सम्झौता चीन र भारतबीच भएको थियो ।

०००

यही मे १० तारिखमा सिक्किमको नाकुला (३४४८ किलोमिटर लाइन अफ एक्चुअल– एलओसी) मा चीन र भारतीय सैनिकबीच ढुंगा हानाहान हुँदा ११ भारतीय सैनिक घाइते भएका थिए । उनीहरूबीच गोली हानाहान भने भएन । उक्त क्षेत्रमा भारतीय सेनाले गतिविधि गरेको भन्दै ढुंगा हानाहान भएको थियो ।

त्यस्तै २०१७ अगस्टमा भुटानको दोक्लममा चीन र भारतका सेना आमनेसामने भएका थिए । भुटान र चीनको सीमाक्षेत्रमा चीनले बाटो बनाएपछि भुटानलाई सहयोग गर्न भारतीय सेना पुगेका थिए । त्यस बेला चीन–भारत दुवैले पाँच साता सैन्य अभ्यास गरेका थिए । यो विवाद चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्री स्तरबाट साम्य पारियो । भुटानसित सीमा विवाद भने कायम छ ।

भारत र चीनबीच लद्दाख (भारतको केन्द्रीय स्वशासित, केही समयअघि विवादित कश्मीरको भूभाग) मा सीमा विवाद छ । त्यस्तै अरुणाञ्चल प्रदेशको मकमहानमा ठूलो विवाद छ । सन् १९६२ मा चीन र भारतबीच यही क्षेत्रमा युद्ध भएको थियो । सन् १९९६ मा विश्वासको वातावरण र आपसी समझदारी गरी ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मानिएको थियो । अहिले पनि बेलाबेला चर्को रूपमा विवाद उठिरहन्छ ।

भारत र पाकिस्तानबीच कश्मीरको विषयलाई लिएर सन् १९४७ देखिको विवाद हालसम्म जारी छ । तीनपटक युद्ध भइसकेको छ । कश्मीरलाई भारत र पाकिस्तान शासित क्षेत्रका रूपमा लिइन्छ । सन् २०१९ फेब्रुअरीमा भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो । पाकिस्तानले लडाकु विमान खसालेर पाइलटलाई कब्जामा लिई हस्तान्तरण गरेको थियो ।

०००

भारतले बंगलादेशसँगको सीमा विवाद भने पाँच वर्षअघि शान्तिपूर्ण तरिकाले हल गरेको थियो । सन् २०१५ जुलाई मध्यरातमा भएको सम्झौतामा भारततिर परेको ११० ठाउँ बंगलादेशले लियो भने बंगलादेशमा परेको ५१ ठाउँ भारतले लिएको थियो । यो सम्झौताअनुसार भारतले २ हजार ८ सय ८० हेक्टर र बंगलादेशले ६ हजार ९ सय ४० हेक्टर भूभाग प्राप्त गरेका थिए ।

हाल बंगलादेश र भारतबीच सीमा विवाद छैन । यो सम्झौता नरेन्द्र मोदी भारतका प्रधानमन्त्री भएको एक वर्षपछि भएको थियो । त्यस बेला नेपालसँगको कालापानी सीमा विवाद पनि समाधान हुने विश्वास कतिपय नेपालीले गरेका थिए । मोदी प्रधानमन्त्री भएको दोस्रो कार्यकालमा विवाद झन् बल्झिएको छ । उनले पहिलो कार्यकालमा लिपु पासलाई व्यापारिक केन्द्र बनाउन चीनसँग सम्झौता गरे । २०७६ कात्तिकमा केन्द्रीय शासित बनाएपछि जारी गरेको नक्सामा लिम्पियाधुरा, कालापापानी र लिपुलेक समावेश गरे ।

०००

नेपालले २०७२ असोज २ मा संविधान जारी गरेपछि भारतले करिब ६ महिना नाकाबन्दी गरेको थियो । नाकाबन्दीबीच प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन १२ मा भारतको भ्रमण गरे । भ्रमण सकेर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वितरण गरेको प्रेसनोटमा भनेका थिए, ‘नेपाल र भारतबीच लामो समयदेखि सम्बोधन हुन नसकेका १९५० का सन्धि पुनरावलोकन र अन्य पुराना सन्धि–सम्झौता तथा कालापानी र सुस्ताको सीमांकनको विषय पनि हामीले भारतीय पक्षसँग उठाएका थियौं ।’ त्यति बेला प्रधानमन्त्री ओली नाकाबन्दीविरुद्ध खरो रूपमा प्रस्तुत भएका थिए ।

मन्त्रिपरिषद्बाट नयाँ नक्सा पारित गरेको अर्को दिन २०७६ जेठ ५ मा उनी कडा रूपमा प्रस्तुत भए । ‘यो कुनै चलाखीको हिसाब वा तथाकथित राष्ट्रवाद देखाउन गरिएको होइन । कुनै तमासा गरिएको होइन, यथार्थमा फिर्ता लिन गरिएको हो । हाम्रो भूभाग हो । हामी फिर्ता लिन्छौं,’ उनले भने ।

नेपाल र भारतबीच ‘नक्सा–युद्ध’ कसरी अन्त्य होला ? यसका लागि पहिले वार्ता अनि सम्झौता गरेर सीमा विवाद सकिनेछ । जसरी बंगलादेश र भारतबीच विवादित जमिन लेनदेन गरी शान्तिपूर्ण तरिकाले समाधान भएको थियो । उत्तरतिर आगो ओकल्ने ड्रागन प्रतीक बोकेको चीन र दक्षिणतिर शक्तिशाली सिंह निसान–छाप भएको भारतबीच नेपालले कूटनीतिक सम्बन्ध सुधार गर्नु नै छ । यसमै उसले आफ्नो अस्तित्व उँचो राख्नु छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ ०९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×