कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

काेरोनाले मृत्यु भएकी महिलाकाे शिशुलाई पूर्वमन्त्रीदेखि स्थानीयसम्मको सहयोग 

अनिश तिवारी

सिन्धुपाल्चोक — कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएकी बाह्रबिसे नगरकी सुत्केरी महिलाको शिशुको स्याहारसुसारका लागि सहयोग दिनेहरु बढेका छन् ।

काेरोनाले मृत्यु भएकी महिलाकाे शिशुलाई पूर्वमन्त्रीदेखि स्थानीयसम्मको सहयोग 

पीसीआर परीक्षण नेगेटिभ आएपछि काभ्रेको धुलिखेल अस्पतालबाट डिस्चार्ज भएलगत्तै शिशुका परिवारलाई भेट्दै पूर्वमन्त्रीदेखि स्थानीयले यथासक्दो रकम सहयोग गरेका हुन् ।

मेलम्ची नगरपालिका–११ का दिनेश खतिवडाले ५१ हजार एकसय ५१ रुपैयाँ सहयोग पीडितकै खातामा जम्मा गरिदिए । पोखराकी समाजसेवी पार्वती गुरुङ, माया गुरुङको ५० हजार र ५० हजारसहित एक लाख रुपैयाँ पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले शिशुका आफन्तलाई शुक्रबार हस्तान्तरण गरे ।

उज्ज्वल भविष्यको कामना गर्दै सघाउने पूर्वमन्त्री बस्नेतसहित सम्पूर्ण सहयोगीलाई संक्रमितका परिवारले भावुक हुँदै धन्यवाद दिएका थिए । पूर्वमन्त्री बस्नेत र प्रदेश–३ का सामाजिक तथा विकास मन्त्री युवराज दुलाल शरदले पीडितलाई सघाउन सबै एकजुट भएर लाग्न आग्रह गरेका छन् । पूर्वमन्त्री र मन्त्रीको आग्रहमा स्थानीयले मृतक संक्रमितको अध्ययन र सुस्याहारको लागि रकम सहयोग गरेका हुन् । ‘मेरै आग्रहमा खतिवडाजीले सघाउनुभयो, अरु पनि अग्रसर हुनुभएको छ, दुखमा परेकालाई म आफै पनि गर्नुपर्ने सहयोगमा तत्पर छु,’ संक्रमितको आफन्तको स्वास्थ्य बुझ्न गाउँमै पुगेका मन्त्री शरदले भने । महिलाको मृत्यु भएलगत्तै वाग्मती सरकारको विज्ञ संलग्न र्‍यापिड रेस्पोन्ससहित जिल्ला स्वास्थ्यकर्मीको टिम लिएर गाउँमा पुगेका उनले सबैलाई ढुक्क हुन आग्रह गरेका थिए ।

सबै स्वास्थ्यकर्मीको म्यादी बिमा

आमा गुमाएका नवजात शिशुको १२ कक्षासम्मको शिक्षा र त्यसपछिको रोजगारीको जिम्मा लिने प्रतिबद्धता गरेका पूर्वमन्त्री मोहनबहादुर बस्नेतले फ्रन्टलाइनमा खटिरहेका स्वाथ्यकर्मीको कोरोना म्यादी बिमा गरिदिने बताए । उनका अनुसार जिल्लाभरका तीन नगर र नौ गाउँपालिकाभरका सबै सरकारी अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्रदेखि स्वास्थ्य चौकी, एकाइका सम्पूर्ण कर्मचारीको बिमा गरिनेछ । ‘उहाँहरुको मनोबल उच्च बनाउन यो अभियान सुरु गरेका हाैं, फ्रन्टलाइनमा खटिरहेका स्वाथ्यकर्मी र सुरक्षाकर्मी उच्च जोखिममा छन्,’ उनले भने । बिमा गरिदिने खबर अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी उत्साहित भएका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७७ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?