काेरोनाले मृत्यु भएकी महिलाकाे शिशुलाई पूर्वमन्त्रीदेखि स्थानीयसम्मको सहयोग 

अनिश तिवारी

सिन्धुपाल्चोक — कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएकी बाह्रबिसे नगरकी सुत्केरी महिलाको शिशुको स्याहारसुसारका लागि सहयोग दिनेहरु बढेका छन् ।

पीसीआर परीक्षण नेगेटिभ आएपछि काभ्रेको धुलिखेल अस्पतालबाट डिस्चार्ज भएलगत्तै शिशुका परिवारलाई भेट्दै पूर्वमन्त्रीदेखि स्थानीयले यथासक्दो रकम सहयोग गरेका हुन् ।

मेलम्ची नगरपालिका–११ का दिनेश खतिवडाले ५१ हजार एकसय ५१ रुपैयाँ सहयोग पीडितकै खातामा जम्मा गरिदिए । पोखराकी समाजसेवी पार्वती गुरुङ, माया गुरुङको ५० हजार र ५० हजारसहित एक लाख रुपैयाँ पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले शिशुका आफन्तलाई शुक्रबार हस्तान्तरण गरे ।

उज्ज्वल भविष्यको कामना गर्दै सघाउने पूर्वमन्त्री बस्नेतसहित सम्पूर्ण सहयोगीलाई संक्रमितका परिवारले भावुक हुँदै धन्यवाद दिएका थिए । पूर्वमन्त्री बस्नेत र प्रदेश–३ का सामाजिक तथा विकास मन्त्री युवराज दुलाल शरदले पीडितलाई सघाउन सबै एकजुट भएर लाग्न आग्रह गरेका छन् । पूर्वमन्त्री र मन्त्रीको आग्रहमा स्थानीयले मृतक संक्रमितको अध्ययन र सुस्याहारको लागि रकम सहयोग गरेका हुन् । ‘मेरै आग्रहमा खतिवडाजीले सघाउनुभयो, अरु पनि अग्रसर हुनुभएको छ, दुखमा परेकालाई म आफै पनि गर्नुपर्ने सहयोगमा तत्पर छु,’ संक्रमितको आफन्तको स्वास्थ्य बुझ्न गाउँमै पुगेका मन्त्री शरदले भने । महिलाको मृत्यु भएलगत्तै वाग्मती सरकारको विज्ञ संलग्न र्‍यापिड रेस्पोन्ससहित जिल्ला स्वास्थ्यकर्मीको टिम लिएर गाउँमा पुगेका उनले सबैलाई ढुक्क हुन आग्रह गरेका थिए ।

सबै स्वास्थ्यकर्मीको म्यादी बिमा

आमा गुमाएका नवजात शिशुको १२ कक्षासम्मको शिक्षा र त्यसपछिको रोजगारीको जिम्मा लिने प्रतिबद्धता गरेका पूर्वमन्त्री मोहनबहादुर बस्नेतले फ्रन्टलाइनमा खटिरहेका स्वाथ्यकर्मीको कोरोना म्यादी बिमा गरिदिने बताए । उनका अनुसार जिल्लाभरका तीन नगर र नौ गाउँपालिकाभरका सबै सरकारी अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्रदेखि स्वास्थ्य चौकी, एकाइका सम्पूर्ण कर्मचारीको बिमा गरिनेछ । ‘उहाँहरुको मनोबल उच्च बनाउन यो अभियान सुरु गरेका हाैं, फ्रन्टलाइनमा खटिरहेका स्वाथ्यकर्मी र सुरक्षाकर्मी उच्च जोखिममा छन्,’ उनले भने । बिमा गरिदिने खबर अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी उत्साहित भएका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७७ १०:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संखुवासभाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

दीपेन्द्र शाक्य

संखुवासभा — हेलिकप्टरबाट थप उपचारका लागि उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की सुत्केरी गंगा कार्कीको मृत्यु भएको छ । शुक्रबार राति साढे १० बजे उपचारका क्रममा थापाथली प्रसूति गृहमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मिमबहादुर लामाले बताए ।

बच्चा गुमाएकी ३२ वर्षीया कार्कीलाई सेनाको हेलिकप्टरबाट शुक्रबार ४ बजे काठमाडौं लगिएको थियो । खाँदबारी–६ पांठा घर भएकी उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनलाई उद्धार गरेर थप उपचारका लागि लगिएको थियो ।

प्रसव पीडाले च्यापेपछि कार्की चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुन भर्ना भएकी थिइन् । तर उनको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको चिकित्सकले पत्ता लगाएपछि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो ।

नोबेल अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् । त्यहाँ उनका परिवारले २ लाखभन्दा बढी खर्च गरेका थिए । अस्पतालमा शुल्क तिर्न नसकेपछि कार्कीलाई परिवारले घर फर्काएको थियो ।

प्रकाशित : जेष्ठ १०, २०७७ १०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×