१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

संक्रमित बसेर गएको धादिङको जुँगेखोला बस्ती सिल

हरिहरसिंह राठौर

जुँगेखोला, धादिङ — काठमाडौंमा सोमबार संक्रमण पुष्टि भएका धादिङका एक व्यक्तिको थाक्रे गाउँपालिका–७ जुँगेखोलास्थित बस्ती सिल गरिएको छ । लकडाउनमा उनी यही बस्तीमा ४७ दिन बिताएर काठमाडौं गएका थिए ।

संक्रमित बसेर गएको धादिङको जुँगेखोला बस्ती सिल

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा मंगलबार बसेको जिल्ला सुरक्षा समिति बैठकले पूर्वमा धार्केखोला पुल, पश्चिममा आठकिलो मोड, उत्तरमा महेश खोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालयबीचको क्षेत्रलाई सिल गरेको हो ।

चार किल्लाभित्र प्रहरी परिचालन गरेर पूर्ण रूपमा आवतजावत बन्द गराइएको प्रजिअ तामाङले बताए । संक्रमितको घर राजमार्गसँगै जोडिएको छ । त्यहाँ नेपाल र सशस्त्र प्रहरीले नियमित गस्ती गरिरहेका छन् । स्थानीयलाई घरबाहिर निस्कन रोक लगाइएको छ ।

संक्रमित लामो समय गाउँमा बसेर काठमाडौं गएकाले उनको सम्पर्कमा रहेकाहरूको खोजतलास गर्न वडाअध्यक्ष रामकुमार बस्नेत, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टिम बनाइएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिए । ‘संक्रमित व्यक्तिसँग मर्निङवाक जाने, ४ किलाका होटलमा चिया पिउने, साँझ नियमित जमघट हुने गरी जोडिएका सबै स्थानीयलाई क्वारेन्टाइनमा ल्याएर राख्नेछौं,’ उनले भने, ‘उनीहरू सबैको पीसीआर परीक्षण गराउनेछौं ।’

४१ वर्षीय संक्रमित काठमाडौंको बागबजारमा बसेर त्यहीँकै एक छापाखानामा काम गर्थे । उक्त छापाखाना पनि सिल भइसकेको प्रजिअ अस्मान तामाङले जानकारी दिए । ती व्यक्ति लकडाउनलगत्तै चैत ११ गते गाउँमा आएर वैशाख २८ गते मोटसाइकलमा काठमाडौं फर्किएका थिए । घरबेटीले कोरोना नजाँची डेरामा पस्न नदिने अडान लिएपछि उनी वैशाख २ गते परीक्षण गर्न गएका थिए । ५ गते नतिजा आउँदा उनमा पोजिटिभ देखिएको हो ।

संक्रमितको परिवारमा रहेका ६० वर्षीया आमा, श्रीमती, भाइ र दुई छोराछोरीसहित १० जनाको तत्काल पीसीआर जाँच गरी त्यसको नतिजाका आधारमा परीक्षणको दायरा बढाइने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. भुवन पौडेलले बताए ।

योसँगै धादिङमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । एक जना निको भएर घर भइसके भने दुईको उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?