संक्रमित बालकको परिवार र आफन्तका रिपोर्ट नेगेटिभ

सुवास विडारी

मकवानपुर — काठमाडौंमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका मकवानपुर थाहा नगरपालिकाका ७ वर्षीय बालकको घर र मामाघरको परिवारका स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

संक्रमित बालकको परिवार र आफन्तका रिपोर्ट नेगेटिभ

सोमबार हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको स्वाब परीक्षण रिपोर्टअनुसार उनीहरुमा कोरोना संक्रमण नदेखिएको हो । उनीहरुलाई स्वाब परीक्षणका लागि आइतबार बिहान हेटौंडा ल्याइएको थियो । ‘सोमबार परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ आएको छ’, सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा महाशाखाका प्रमुख डा. पुरुषोत्तम सेढाईंका अनुसार मकवानपुरका ११, रौतहटका ११ र सिन्धुलीका ४ जनाको कोरोना परीक्षण हेटौंडामा गरिएको थियो । उनीहरु सबैको परीक्षण नेगेटिभ नै आएको छ ।

संक्रमित बालकका परिवार र गैरीगाउँमा रहेका मामाघरका परिवारका ११ जनालाई हेटौंडास्थित आइसोलेसन वार्डमा राखेर स्वाब परीक्षण गरिएको थियो । ‘बालकमा कोरोना पुष्टि भएसँगै हाम्रो नगरपालिकामा उपलब्ध स्रोत साधनबाट उच्च सतर्कताका साथ हामीले बालकको घर र उनको परिवारलाई हेटौंडा ल्याएका थियौं । तर, पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अब डिस्चार्जपश्चात् सुरक्षित रुपमा थाहानगर लैजानेछौं’, थाहा नगरपालिकाका मेयर लबशेर विष्टले भने ।

मेयर विष्टका अनुसार कोरोना संक्रमित बालक पालुङबाट वैशाख २९ गते काठमाडौंको सतुंगलस्थित डेरामा गएका थिए । उनमा जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी हाल काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीका आइसोलेसन वार्डमा उपचाररत छन् । बालकको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ ।

हेटौंडा–४ स्थित आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार उनीहरुसहित मकवानपुरका ४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आइसोलेसन वार्डबाटै स्वाब संकलन गरिएको भारतबाट फर्किएका १४ जना, एक प्रहरी, ज्वरोको बिरामी एकजना र सडकमै बस्ने दुई व्यक्तिको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

भारतबाट हेटौंडासम्म आएका सबै तीनदिन भारतबाट पैदल यात्रा गर्दै १२ दिन भारतको बाबागञ्जलगायतका क्‍वारेन्टाइनमा बस्दै नेपालगञ्ज आएका थिए । भारतबाट आएकाहरुको नेपालगञ्जमा आरडीटी गर्दा नेगेटिभ देखिएपछि हेटौंडा आएका थिए । ४१ जनाको आइतबार नै रिपोर्ट आउनुपर्ने भए पनि प्राविधिक कारण सोमबारमात्र रिपोर्ट आएको हो ।

रिपोर्ट नेगेटिभ आएपछि हेटौंडा आइसोलेसन वार्डमा रहेकाहरु डिस्चार्ज हुँदैछन् । सोमबार ६ वटा नमुना संकलन गरेर परीक्षण हुँदै गरेको चौलागाईंले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ५, २०७७ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?