३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

७ वर्षीय संक्रमित बालकका आफन्तलाई हेटौंडा ल्याइयो

सुवास विडारी

मकवानपुर — काठमाडौंमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि थाहा नगरपालिकाका सात वर्षीय बालकको घर र मामाघरको परिवारलाई स्वाब परीक्षणका लागि आइतबार बिहान हेटौंडा ल्याइएको छ ।

७ वर्षीय संक्रमित बालकका आफन्तलाई हेटौंडा ल्याइयो

थाहा नगरपालिका–७ स्थित चल्तीमा रहेको उनको घरका परिवार र गैरीगाउँमा रहेका मामाघरका परिवारका ११ जनालाई हेटौंडास्थित आइसोलेसन वार्डमा स्वाब परीक्षणका लागि ल्याइएको थाहा नगरपालिकाका मेयर लबशेर विष्टले जानकारी दिए । ‘बालकमा कोरोना पुष्टि भएसँगै हाम्रो नगरपालिकामा उपलब्ध स्रोत साधनबाट उच्च सतर्कताका साथ हामीले बालकको घर र उनको परिवारलाई हेटौंडा ल्याएका छौं । आजै पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

हेटौंडा–४ स्थित आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि किटजन्य रोग नियन्त्रण तथा तालिम केन्द्र पठाइसकिएको छ । चौलागाईंका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरुलाई आइतबार बिहान १ बजेतिर हेटौंडा ल्याइएको थियो ।

मेयर विष्टका अनुसार कोरोना संक्रमित बालक पालुङबाट वैशाख २९ गते काठमाडौंको सतुंगलस्थित डेरामा गएका थिए । उनमा जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी हाल काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीका आइसोलेसन वार्डमा उपचाररत् छन् । बालकको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ ।

आइतबार बिहानसम्म हेटौंडाको आइसोलेसन वार्डमा २८ जना रहेका छन् । आइसोलेसन वार्डमा भारतबाट फर्किएका १४, एकजना प्रहरी, ज्वरोको बिरामी एकजना र सडकमै बस्ने दुई जना व्यक्ति रहेका छन् । भारतबाट हेटौंडासम्म आएका सबै तीनदिन भारतबाट पैदल यात्रा गर्दै १२ दिन भारतको बाबागञ्जलगायतका क्वारेन्टाइनमा बस्दै नेपालगञ्ज आएका थिए ।

चौलागाईंका अनुसार भारतबाट आएकाहरुको नेपालगञ्जमा आरडीटी गर्दा नेगेटिभ देखिएपछि प्रतिव्यक्ति तीनहजार पाँचसय रुपैयाँ भाडा तिरेर हेटौंडा आएका थिए । हाल उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको चौंलागाईंले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७७ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?