कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दोलखामा जेठ ५ सम्म तरकारी र खाद्यान्‍न आयातमा प्रतिबन्ध

राजेन्द्र मानन्धर

दोलखा — लकडाउन अवधि जेठ ५ गतेसम्म दोलखा जिल्ला बाहिरबाट खाद्यान्‍न, तरकारी र फलफूल ल्याउन प्रतिबन्ध लगाइएको छ ।

कोभिड— १९ संक्रमणको भयावह हुनसक्ने अवस्थालाई ध्यान दिएर जिल्ला बाहिरबाट उक्त वस्तुहरु ल्याउन प्रतिबन्ध लगाउनु परेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।

खासगरी कोभिड— १९ फैलिरहेका तराईका जिल्लाहरुबाट खाद्यान्‍न, फलफूल र तरकारी आउने क्रम बढेपछि त्यस्तो नीति लिइएको प्रजिअ शर्माले बताए । जिल्लाका दुई प्रमुख नाका किर्नेटार र खरिढुंगाबाट तरकारी र फलफूल पूर्णतः प्रतिबन्ध लगाइएको हो । खाद्यान्‍नको हकमा कोभिड— १९ को संक्रमण नदेखिएको जिल्लाहरुबाट भने प्रकृया पूरा गरेर ल्याउन दिइने प्रजिअ शार्माले बताए ।

दोलखाका मुख्य बजारहरुमा तराई र राजधानीबाट तरकारी र फलफूल आयात हुन्छ । लकडाउन पनि उक्त जिल्लाहरुबाट दिनहुँ तरकारी र फलफूल आयात भइरहेका थिए । जिल्लाभित्र नै उत्पादित तरकारीले पुग्‍ने र खाद्यान्‍नको पनि मौज्दात रहेकाले उक्त वस्तुहरु आयातमा प्रतिबन्ध लगाउने निर्णय बुधबार गरिएको हो ।

हाल दोलखा जिल्लाभित्र उत्पादित काउली, बन्दाकोभी, सागहरु प्रशस्त मौज्दात छन् । काउली र बन्दाकोभी किसानका बारीमा छिप्पिदै गएको छ । राजधानीका बजारमा बिक्री हुन छाडेपछि ठूलो मात्रामा तरकारी उत्पादक किसानहरुले सम्बन्धित स्थानीय तहहरुसँग क्षतिबारे गुनासो र परिपूर्तिबारे छलफल गरिरहेका थिए ।

पाँच दिनका लागि बाहिरबाट तरकारी आउन नआउँदा जिल्लाभित्र उत्पादित तरकारीहरुको मौज्दात घटेर किसानलाई राहत हुने देखिन्छ । जेठ ५ पछिको अवस्था हेरेर अर्को निर्णय लिइने कोभिड— १९ जोखिम न्यूनीकरण जिल्ला समन्वय समितिले जनाएको छ ।

प्रकाशित : जेष्ठ १, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?