१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

प्रदेश २ बाट मकवानपुर प्रवेशमा रोक

मकवानपुर — तराईका जिल्लाहरुबाट मकवानपुर प्रवेशमा रोक लगाइएको छ । सोमबार दिउँसो बसेको कमान्ड पोष्टको बैठकले प्रदेश २ र मकवानपुरको सीमा चुरिया नाका भएर मकवानपुरमा सवारी तथा पैदल यात्रु प्रवेशमा रोक लगाएको हो ।

‘प्रदेश २ वा तराईका जिल्लाहरुबाट पैदल होस् वा सवारी साधानमा मकवानपुर कोही पनि मकवानपुर भित्रिन पाउने छैनन् । छिमेकी जिल्लामा कोरोना संक्रमणको दर बढेपछि यस्तो निर्णय गर्नुपरेको हो’ जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले भने ।

उनका अनुसार खाद्यान्न तथा अत्यावश्यक सामग्री बोकेको सवारी मकवानपुरको हाइवे भएर जान पाउने तर रोकेर यात्रु ओराल्न नपाउने निर्णय भएको छ । ‘हाम्रो जिल्ला भएर अन्य जिल्ला जान पाइन्छ । तर, हाम्रो जिल्ला प्रवेश गर्न पाइन्न’, उनले थपे । उनका अनुसार चुरिया भएर मकवानपुर प्रवेश भएको वा नभएको अनुगमन गर्न जनप्रतिनिधिसहितको नागरिक अनुगमन समितिसमेत गठन गरिएको छ । चुरियामा थप सुरक्षाकर्मी परिचालन गरिने छ ।

बैठकले मकवानपुरमा लकडाउनलाई थप कडाइ गर्ने निर्णयसमेत गरेको छ । संक्रमण देखिएका जिल्ला तथा भारतीय तरकारी बोक्ने सवारीलाई प्रवेशमा रोक लगाउने, बुधबारबाट हेटौंडा–१०, टीसीएनस्थित तरकारी बजारबाट बिक्रीवितरणमा रोक लगाउने निर्णय भएको प्रशासनले जनाएको छ । उनका अनुसार बैठकले अनावश्यक मोटरसाइकल सञ्चालन र हिँड्डुलमा कडाइ गरिने निर्णय समेत गरेको छ ।

मकवानपुरमा पछिल्लो समय सवारी साधन सञ्चालन र हिँड्डुल गर्नेक्रम एक्कासी बाक्‍लिएपछि कोरोना संक्रमणको जोखिम बढेको सर्वसाधारणको गुनासो थियो ।

प्रकाशित : वैशाख ३०, २०७७ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?