कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बजार खोल्ने निर्णय बिनै रामेछापका व्यवसायीले पसल खाेले

टीकाप्रसाद भट्ट

रामेछाप — लकडाउनका कारण बन्द रहेको रामेछापको जिल्ला सदरमुकाम आइतबार बिहानबाट खुलेको छ । बजार खोल्ने निर्णय कुनै निकायबाट नभएपनि व्यवसायीले बजार खोलेका हुन् । 

बजार खोल्ने निर्णय बिनै रामेछापका व्यवसायीले पसल खाेले

लकडाउनको अवधिमा अत्यावश्यक खाद्यान्न, तरकारी, दूधजन्य सामाग्री, औषधि पसल यसअघि बिहान ६ देखि ९ बजेसम्म खुल्ने गरेका थिए । आइतबार भने होटल, कस्मेटिक, हाडवेयर, स्टेसनरी, कपडालगायत सबै पसलेले बजारमा सटर खुला गरेका छन् । खुलेका पसलमा लकडाउनमा अपनाउनुपर्ने दूरी कायमसमेत गरिएको छैन ।

लामो समयसम्म बजार बन्द हुँदा व्यवसायीको दैनिक गुजारामा समस्या परेको भन्दै रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीले स्थानीय प्रशासनसँग बैठक गर्ने तयारी गर्दै गर्दा व्यवसायीले आफूखुसी व्यवसाय खोलेका हुन् । व्यवसाय खोलेपछि महिनौदेखिको लकडाउन भत्किएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले लकडाउनका समयमा बजार खोल्ने कुनै निकायको निर्णय नभएकाले बजार खोल्ने कार्य उचित नभएको बताए । ‘यो उचित हुँदै होइन समस्यै परेको व्यक्तिलाई अघिपछि पनि सामान खरिद गर्ने अवसर थियो,’ पाठकले भने, ‘तर सबै व्यवसाय खुल्दा सुरक्षित हुने विधि अपनाउन नसकिने भएकाले यसलाई कडाइ गर्नैपर्छ ।’ उनले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासँग पनि छलफल गरेको बताए । उनले भने, ‘उहाँले बजार खोल्ने कार्य उचित नभएको भन्दै नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।’

अघीपछि सडकमा पैदल हिँड्नेलाई पनि सोधखोज गर्ने सशस्त्र र नेपाल प्रहरी आइतबार बिहान बजारमा देखिएका थिएनन् । यसअघि यातायातका साधन र पैदलयात्रुलाई ओहोरदोहोर गर्दा प्रहरीले सुरक्षण विधि अपनाउनका लागि सम्झाउँदै आएका थिए ।

प्रकाशित : वैशाख २८, २०७७ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?