३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

संक्रमितको उपचार गर्न ‘सिस्टर रोबोट’

प्रताप विष्ट

हेटौंडा — नेपाली इन्जिनियरहरूले कोरोना भाइरस संक्रमितको उपचारार्थ ‘सिस्टर रोबोट’ निर्माण गरेका छन् । आइसोलेसनमा रहेका बिरामीबाट स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न रोबोट निर्माण गरिएको हो ।

संक्रमितको उपचार गर्न ‘सिस्टर रोबोट’

नेपाल इन्जिनियर्स एसोसिएसन वाग्मती प्रदेशको नेतृत्वमा र ओज्टेक, कान्तिबिर, द रोबोनौट्स र रोबोटोक्स एसोसिएसन अफ नेपालको प्राविधिक सहयोगमा उक्त रोबोट निर्माण गरिएको छ । एक लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त रोबोट वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एक समारोहबीच हेटांैडा अस्पताललाई हस्तान्तरण गरेका थिए ।

कोभिड–१९ लगायत रोग संक्रमण भएका बिरामीहरूलाई आइसोलेसनमा उपचारार्थ राख्दा स्वास्थ्यकर्मीलाई उक्त रोबोटले सुरक्षित राख्नुका साथै विशेष सहयोग पुर्‍याउने वाग्मती प्रदेशका इन्जिनियर एसोसिएसनका अध्यक्ष नन्दलाल बन्जाडेले बताए । उनका अनुसार बिरामीलाई आवश्यक पर्ने औषधि, खाना, खाजा र पानीलगायत सामग्री रिमोट कन्ट्रोलको सहायताले उक्त रोबोटमार्फत बिरामीसम्म पुर्‍याउन सकिन्छ । अस्पतालको कन्ट्रोल रुमबाट ७ सय मिटरसम्म रोबोटले बिरामीलाई ती सामग्री पुर्‍याउन सक्ने उनको भनाइ छ । उनका अनुसार रोबोटले ३० किलोसम्म सामान ओसार्न सक्छ । रोबोटमा एफपीभी (फस्र्ट पर्सन भ्यु) द्वारा रियलटाइम भिडियो हेर्न सकिने व्यवस्था मिलाएको इन्जिनियर सुरज गौतमले बताए ।

उक्त रोबोटमा ट्याब्लेट (फोन) समेत जडान गरिएको छ । ‘जसबाट स्वास्थ्यकर्मीले बिरामीसँग कुराकानी गर्न सक्नेछन्,’ उनले भने । हेटौंडा अस्पतालका प्रमुख डा. प्रवीण श्रेष्ठले कोभिड–१९ का बिरामीलगायत अन्य सरुवा रोगीहरूको उपचारमा उक्त रोबोट उपयोगी सावित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : वैशाख २५, २०७७ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?