लाङटाङ राष्ट्रिय निकुञ्‍जमा बढ्यो अवैध गतिविधि

बलराम घिमिरे

रसुवा — लकडाउनको समयमा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध गतिविधि बढेको छ। लकडाउन घोषणायता निकुञ्ज क्षेत्रभित्र ८ वटा अवैध गतिविधि भएका छन्।

लाङटाङ राष्ट्रिय निकुञ्‍जमा बढ्यो अवैध गतिविधि

त्यस्ता गतिविधिमा संलग्न ३७ जनालाई पक्राउ गरी निकुञ्जले कारबाही गरेको छ।

निकुञ्ज क्षेत्रभित्र पसेर वन्यजन्तुको अवैध सिकार गर्ने, माछा मार्ने, काठ तथा दाउरा संकलन गर्ने, वन्यजन्तुलाई पासो राख्ने, अवैध रुपमा भ्यागुता तथा पाहा संकलन गर्ने व्यक्तिलाई पक्राउ गरिएको निकुञ्जका रेन्जर रमेश बस्नेतले बताए। लकडाउनको समयमा सबै जना घरभित्र बसेको मौका छोपेर निकुञ्जमा प्रवेश गरी अवैध गतिविधि गर्नेको संख्या बढेको उनले बताए। पक्राउ परेका केहीलाई नियमानुसार जरिवाना र केहीलाई पुनः यस्ता गतिविधि नगर्ने सर्तमा छोडिएको छ।

अवैध गतिविधि बढ्न थालेपछि गस्ती बढाइएको निकुञ्जकी प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन्। २०३२ सालमा स्थापना भएको निकुञ्ज तीन जिल्लामा फैलिएको छ। जसले रसुवाको ५७ प्रतिशत, सिन्धुपाल्चोकको ३६ प्रतिशत र नुवाकोटको ७ प्रतिशत भूभाग ओगटेको छ।

निकुञ्जमा एक हजारभन्दा बढी वनस्पति, ४६ प्रकारका स्तनधारी जनावर, २ सय ५० भन्दाबढी पन्छी, ११ प्रकारका सरिसृप, ३० जातका माछा, १० किसिमका माकुरा र ५८ प्रजातिका पुतली पाइन्छ। निकुञ्जमा विश्वमानै दुर्लभ वन्यजन्तु हिँउचितुवा, रेडपाण्डा र कस्तुरी मृगको बासस्थान रहेको छ।

प्रकाशित : वैशाख १६, २०७७ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?