पुल निर्माण रोकिँदा सिँधुरेटार जोखिममा

टीकाप्रसाद भट्ट

रामेछाप — लकडाउनले सुनकोशीमा निर्माणाधीन पक्की पुलको काम रोकिँदा सिँधुरेटार बस्ती जोखिममा परेको छ । काभ्रेको मुक्पाटार र रामेछापको बेथान जोड्ने पुलको काम अघि बढ्न नसकेको हो ।

पुल निर्माण रोकिँदा सिँधुरेटार जोखिममा

पुल बनाउन नदीको बीच भागमा बालुवाको ड्याम उठाएर फर्मा बनाइएको छ । फर्माकै कारण सुनकोशी सहजै बग्न पाएको छैन । ‘वर्षा लागिसक्यो, कोसी बढ्यो भने सिँधुरेटारको चिनोचपेटो पनि बाँकी राख्दैन,’ सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले भने, ‘तत्काल काम सकेर ड्याम खोल्नुपर्ने देखिएको छ ।’ सिँधुरेटारका सयौं रोपनी खेत र घर जोखिममा परेको उनले बताए ।

स्ल्याब ढलानका लागि रडसमेत बाँधिसकेपछि लकडाउनले निर्माण सामग्री अभाव भएर काम रोकिएको हो । निर्माण व्यवसायी तुदी कन्स्ट्रक्सनले झन्डै ५० कामदारलाई त्यसै राखेको छ । अब दिनदिनै कोशी बढ्ने भएकाले तत्काल काम नगराइए करोडौं रुपैयाँका रड र फर्मासमेत बगाउने अवस्था रहेको लामाले बताए ।

स्थानीय मनोज केसीका अनुसार निर्माण व्यवसायीको बदमासीले काभ्रेतर्फको भित्तोबाट बग्दै आएको सुनकोशी रामेछापतर्फ आएको छ । गत वर्ष जग खन्दा नै व्यवसायीले नदी किनार गहिरो बनाएकाले बहाव पूर्वतिर धकेलिएको हो ।

आइतबार पुल अवलोकन गर्न पुगेकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्माण कार्य सञ्चालन गर्न आवश्यक सामग्री ढुवानीका लागि प्रशासनले अनुमति दिने बताइन् । ‘सामग्री कहाँबाट ल्याउने हो, त्यसका लागि निर्माण व्यवसायीलाई हामी अनुमति दिन्छौं,’ उनले भनिन्, ‘चाँडो काम सक्नुपर्‍यो ।’

नदी र खोला संरक्षणका लागि कार्यान्वयनमा रहेका केही आयोजनाको निर्माण थाल्न यसअघि प्रशासनले अनुमति दिइसकेको छ । रामेछाप विमानस्थल, तामाकोशी र रणजोर खोला नियन्त्रणको काम भइरहेको छ । लकडाउनले रोकिएको मन्थली ढल व्यवस्थापनको कामसमेत थालिएको छ ।

खोला र कोशी बढेपछि काम गराउन नसकिने मात्र नभई योजनाको उद्देश्यअनुसार जनताको जग्गाजमिनसमेत बचाउन नसकिने मन्थली नगरप्रमुख रमेशकुमार बस्नेत बताउँछन् । त्यसैले कोरोना प्रकोपलाई समेत ध्यानमा राखेर सामाजिक दुरी कायम गरी काम गराउन पहल भइरहेको उनले जानकारी दिए । बस्नेतका अनुसार अन्य स्थानीय तह र सुरक्षा निकायसँगको समन्वयमा निर्माण सामग्री ढुवानीको प्रबन्ध गरिएको छ ।

प्रकाशित : वैशाख १५, २०७७ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?