१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

लकडाउमा ओसारिएका यात्रुलाई दोब्बर भाडा

राजकुमार कार्की

सिन्धुली — लकडाउनले काठमाडौंमा अलपत्र जिल्लाबासीलाई ओसार्ने भन्दै पालिकाहरूबीच बस रिजर्भ गर्ने होडबाजी नै देखिएको छ । अहिलेसम्म झन्डै तीन सयभन्दा बढी बसमा यात्रु जिल्ला भित्रिसके ।पालिकाहरूले बस रिजर्भ गरिएको भने पनि यात्रुहरूले आफूहरूसँग दोब्बर भाडा असुलिएको गुनासो गरेका छन् ।

लकडाउमा ओसारिएका यात्रुलाई दोब्बर भाडा

कमलामाई–४ मल्लागाउँका बुद्धकुमार कार्की एक हजार भाडा तिरेर आएका छन् । उनका अनुसार ‘रिजर्भ’ भनिएका बसहरूले सिन्धुली र काभ्रेको सिमाना नेपालथोकनजिक एकान्तमा रोकेर भाडा असुल गरेका थिए । ‘हामी आएको र अन्य दुईवटा बसले एकैपटक भाडा उठाए, हजार घटी लिएका छैनन्,’ उनले भने, ‘बसका कामदारले भाडा नतिर्नेलाई झर्न भनेपछि कोकोहोलो भएको थियो ।’ उनका अनुसार पैसा नहुनेहरूले सरसापट गरेर तिरेका थिए । एउटा बसले ७० हजारसम्म असुलेका छन् ।

एक महिनादेखि थन्किएका बसवालाहरूले लकडाउनलाई एकैचोटि कमाउने मौका बनाइरहेका छन् । दुधौली नगरपालिकामा यात्रु पुर्‍याएर फर्किएको वासुकी यातायातलगायत केही बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार रोकिदिएको थियो । यसको कारण उनीहरूले दुधौलीबाट आउँदा पनि यात्रु ल्याएका थिए । जिल्ला ट्राफिक प्रमुख श्याम खत्रीलाई दुधौलीका वडाध्यक्षले फोन गरेर ‘अब यात्रु बोके आफूहरू जिम्मेवार’ नहुने बताएका थिए । ‘यी बसले लकडाउनलाई अवसर बनाएर बढी भाडा असुली दैनिक यात्रु ओसार्ने रहेछन् । हामी यस्तो हुन दिँदैनौं,’ खत्रीले भने ।

यसरी ल्याइएका यात्रु सोझै गाउँ पुग्दा स्थानीय भने त्रासमा छन् । कोरानाका बेला एक त आउजाउ गर्नै दिन नहुने, दिए पनि क्वारेन्टाइनमा राखेर मात्र घर पठाउनुपर्ने उनीहरूको भनाइ छ । ‘गाउँघरमा नयाँ मान्छे भित्रिएका छन्,’ वासेश्वरका सुमन कोइरालाले भने, ‘उनीहरूलाइ क्वारेन्टाइनमा राख्ने व्यवस्था हुनुपर्ने तर भएन ।’

यसरी आएका कुनै पनि बसलाई आफूहरूले पास नदिएको प्रजिअ योगेन्द्र पाण्डेले बताए । ‘यीे सबै माथिबाटै मिलाएर आएका हुन्,’ उनले भने ।

जनप्रतिनिधिकाे होडबाजी

सामाजिक सञ्जालमा चार दिनअघि तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापामगरको मोबाइल नम्बर राखेर काठमाडौंबाट गाउँ फर्कन चाहनेलाई सम्पर्क गर्न आह्वान गरिएको थियो । नभन्दै गाउँपालिकाले १० वटा बस रिजर्भ गरेर यात्रु ओसार्‍यो । यो कुरा उपाध्यक्ष पदममाया तामाङलाई चित्त बुझेन । उनी पनि तत्काल राजधानी गई छुट्टै चारवटा बस रिजर्भ गरेर नागरिक पठाइन् ।

यसरी नै काठमाडौं पुगेकी सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालले आफ्नो पालिकाका मात्र नभएर जिल्लाभरिकै यात्रुको उद्धार गरेको रटान लगाइन् । कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले पनि सामाजिक सञ्जालमार्फत आह्वान गरेर अलपत्र परेकाहरूलाई उद्धार गरेको बताए ।

मरिण र हरिहरपुरगढी गाउँपालिकाले लकडाउनको दोस्रो साता नै दर्जनभन्दा बढी बस रिजर्भ गरेका थिए । दुधौली नगरपालिका, फिक्कल, गोलन्जोर र घ्याङ्लेख गाउँपालिका पनि लकडाउनले दुःख पाएकालाई उद्धार गर्ने नाममा यसै गरी यात्रु ओसार्ने प्रतिस्पर्धामा सहभागी भए ।

जिल्लाका स्थानीय तहले तीन सयभन्दा बढी बस रिजर्भ गरेर यात्रु ल्याएको दाबी गरेका छन् । पैदल यात्रुको उद्धार गर्दागर्दा थाकेपछि आह्वान नै गरेर बसमा ल्याउनुपरेको सुनकोशीकी अध्यक्ष दाहालको तर्क छ । तराई तथा पूर्वी नेपालका लागि हिँडेका ८ हजारभन्दा बढी मजदुरको उद्धार गरेको उनले सुनाइन् । अन्य संघसंस्थाले पनि काठमाडौंबाट यात्रु ल्याएका छन् । तर तिनको कुनै रेकर्ड छैन ।

प्रकाशित : वैशाख १३, २०७७ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?