१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जंगलको बाटो घर फर्कँदै गरेका १०१ जनालाई खाना खुवाएर घर पठाइयो

मकवानपुर — थाहा नगरपालिकाले लकडाउनको अवधिमा जंगलको बाटो भएर घर जाँदै गरेको एक सय एक जनाको उद्धार गरेको छ ।

जंगलको बाटो घर फर्कँदै गरेका १०१ जनालाई खाना खुवाएर घर पठाइयो

छिमेकी जिल्ला धादिङको धुनवेशीस्थित जीवनपुरमा रहेको इँटाभट्टाका कामदारहरु थाहा नगरपालिका–९, चित्लाङको जंगलको बाटो हुँदै घर जाँदै गर्दा उनीहरुको उद्धार गरिएको हो । चित्लाङका प्रहरी, जनप्रतिनिधि तथा गाउँलेहरुले उनीहरुको शुक्रबार राति ८ बजे उद्धार गरेर शनिबार बिहान ट्रकमा राखेर बाराको पथलैयासम्म पुर्‍याइदिएको स्थानीय महालक्ष्मी प्राविका शिक्षक राजेन्द्र बलामीले जानकारी दिए । उनका अनुसार उनीहरुलाई शुक्रबार राति खाना खुवाएर नगरपालिकाको समन्वयमा सुरक्षित स्थानमा राखेर शनिबार बिहान तीनवटा ट्रकमार्फत् पथलैया पुर्‍याइएको हो ।

‘प्रहरी, नगरपालिका र स्वास्थ्यकर्मीको सहयोगमा उनीहरुको ज्वरो नापिएको थियो । उनीहरुको शरीरको तापक्रम सामान्य रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा मकवानपुरबाट बारा प्रहरीको जिम्मा लगाइएको हो,’ थाहा–९ का वडाअध्यक्ष पर्शुराम श्रेष्ठले भने । उनका अनुसार उद्धार गरिएकोमा ४५ जना पुरुष, ४० जना महिला, ९ बालिका र सात बालक रहेका थिए ।

‘हामी बिहान आठ बजे हिँडेका थियौं । रातको समयमा जंगलको बाटो हुँदै नौबिसेबाट चित्लाङको गोरेटोबाटोबाट भीमफेदी निस्कने योजना बनाएका थियौं,’ २ वर्षीया छोरी बोकेकी १९ वर्षीय सविना पाख्रिनले भनिन्, ‘हामी भोकभोकै १२ घण्टासम्म हिँड्यौ ।’, उनले बाटो–बाटोमा भेटिन धारामा पानी भर्दै खाँदै यात्रा गरेको बताइन् । आफूहरुसँग भएको सबै पैसा सकिएको र अझै लकडाउन खुल्ने ठेगान नभएपछि सबैजना मिलेर हिँड्ने निधो गरेको बताइन् । उनीहरु सिरहा, सर्लाही र रौतहटका रहेको बताइएको छ ।

प्रकाशित : वैशाख ६, २०७७ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?