रगत अभाव पूर्ति गर्दै सामाजिक संघसंस्था

सुवास विडारी

(मकवानपुर) — हेटौंडामा रगत अभाव देखिन थालेपछि यहाँका विभिन्न सामाजिक संघसंस्थाले रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान गरिरहेका छन् । रगत अभाव टार्न हेटौंडामा क्रियाशील विभिन्न संघ, संस्था तथा क्लबहरु केन्द्रमै पुगेरै रक्तदान कार्यक्रम आयोजना गरिरहेका छन् ।

रगत अभाव पूर्ति गर्दै सामाजिक संघसंस्था

हेटौंडा लेडी जेसीजको आयोजनामा शुक्रबार ४३ जनाले हेटौंडा–१, राप्तीरोडस्थित रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान गरेका छन् । केही दिनअघि हेटौंडाको एफसी विजय युथ क्लबले रक्तसञ्चार केन्द्रमै गरेको कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए । यस्तै, कपडा तथा तयारी पोसाक व्यवसायी संघका पदाधिकारीको पहलमा भएको कार्यक्रममा केन्द्रमै पुगेर ६ जनाले रक्तदान गरेका थिए । सामान्य अवस्थामा रक्तदान कार्यक्रम विभिन्न संघ, संस्थाका लागि सामाजिक सेवाको महत्वपूर्ण क्रियाकलापको रुपमा रहने गरेको थियो ।

रक्तदानलाई जीवनदानको नारा दिएर संघ, संस्थाले आफ्ना वार्षिकोत्सव, स्थापना दिवस, विशेष अवसरमा रक्तदान कार्यक्रम गर्ने गरेको भए पनि कोभिड–१९ का कारण देशमा जारी लकडाउनको समयमा यस्ता कार्यक्रम गर्न नमिल्दा समस्या भइरहेको छ ।

यसरी आयोजना गरिने कार्यक्रमले स्वास्थ्य उपचारका क्रममा आवश्यक रगतको माग पूरा भइरहेको थियो । तर, कोरोना भाइरसको संक्रमणको जोखिम न्यून गर्न भन्दै सरकारले चैत ११ देखि आह्वान गरेको लकडाउनले रक्तदान कार्यक्रम आयोजना हुने स्थिति नहुँदा बेला–बेलामा रक्तसञ्चार केन्द्रमै रगतको अभाव हुने गरेको छ ।

रक्तसञ्चार केन्द्र हेटौंडामा दैनिक औसत सात युनिट रगतको माग हुने गरेको केन्द्र प्रमुख टंक दाहालले जनाए । रगत अभाव हुँदा रक्तसञ्चार केन्द्रका कर्मचारीले सम्पर्कमा रहेका रक्तदातालाई केन्द्रमै बोलाएर पनि रगत संकलन गरी मागअनुसारको आपूर्ति व्यवस्था मिलाउने गरेको उनले बताए ।

प्रकाशित : वैशाख ५, २०७७ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?