१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कोरोनाबारे सचेतना जगाउँदै ८२ वर्षीय वडाध्यक्ष

अनिश तिवारी

सिन्धुपाल्चोक — सुकिलो दौरा सुरुवालमा थाकेकोजस्तो देखिने बुढ्यौली शरीर, शिरमा ढाका टोपी, पाउमा थोत्रो तुने चप्पल । मास्क, साबुन र सेनिटाइजरलगायतका सामग्री बाँड्दै स्वास्थ्य परिक्षणको लागि डाक्टरसहित स्वास्थ्यकर्मीसँगै गाउँको टोलैपिच्छै पुगिरहेका ८२ वर्षे उनी तरुनोझैं हरेक घर पुगेर स्थानीयलाई सम्झाउँछन्, कोरोनाबारे सूचना र परामर्श दिन्छन् ।

कोरोनाबारे सचेतना जगाउँदै ८२ वर्षीय वडाध्यक्ष

जिल्लाकै ज्येष्ठ वडा अध्यक्ष त्रिपुरासुन्दरी गाउँपालिका- १, घोर्थलीका कर्णबहादुर खड्का यस्तै काममा व्यस्त छन् । ‘स्थानीय एकदमै डराएका छन्, जनप्रतिनिधिले भूमिका देखाउने समय भनेको आहिले हो, जनताले विश्वास गर्ने हामीलाई नै हो । हामीले नगरे कस्ले गर्छ र ?,’ खड्काले भने । कोरोना भाइरस संक्रमण (कोभिड- १९) लाई लिएर आत्तिएका स्थानीयलाई सर्तकता अपनाउन हरसम्भव प्रयास गरिएको उनले बताए ।

साबुन पानीले हात धुने, निश्चित दुरी राखेर भेट्ने र मास्क लगाएर बोल्ने, हात नमिलाउने, अपरिचितसँग नभेट्नेजस्ता सचेतनाका उपाय बताउँदै खड्का आफै हिँडिरहेका छन् । उनले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि ‘कोरोना रोकथामको लागि घर–टोलमा वडाध्यक्ष’ पनि संचालन गरेका छन् ।

‘परामर्श दिनुनका साथै मास्क, साबुनलगायत सामग्री बाँडिरहेका छौं, भविष्यमा हुनसक्ने कोरोना संक्रमण रोकथामको लागि कुदिरहेका छौ,’ उनले भने ।

झण्डै १५ हजार जनसंख्या भएको त्रिपुरासुन्दरी गाउँपालिकामा चोकटी, धुस्कुन, तौथली, पिस्कर र टेकानपुरसहित वडा १ मा साबिक घोथर्लीको ५ र ९ वडा समावेश छन् । तीभन्दा फरक र विकट देखिने भौगोलिक अवस्था बोकेको घोर्थलीभर ५ सय घरपरिवार बस्छन् । ती सबै परिवारको अवस्थाको विवरण लिइएको उनले बताए । उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य पूर्वाधार र हुनसक्ने खाद्य संकटबाट पार पाउनका लागि योजना बनाइरहेको पनि उनले जानकारी दिए ।

त्रिपुरासुन्दरीका गाउँलेले खाद्य, नुनतेलजस्ता दैनिक सामग्री ल्याउने मुख्य बजार चीनसँगको सीमावर्ती क्षेत्र तातोपानी नाकासँग जोडिएको २६ किलोमिटर दूरीमा रहेको बाह्रबिसे हो । उक्त बजार पुग्न दिनभर हिँड्नुपर्छ । ‘त्यहाँबाट आउने कुनै खाद्य सामग्रीको लागि रोक लगाएका छैनौं, स्थानीयलाई सहकार्य गरिदिन सुरक्षाकर्मीसँग छलफल गरिसकेका छौ,’ वडाअध्यक्ष खड्काले भने । कोरोना सचेतना अभियानमा लागेका उनले आइसोलेसन र क्वारेन्टाइनको पूर्वाधार निर्माण गर्नका लागि गाउँपालिकासँग छलफल भएको बताए । वडामै क्वारेन्टाइन निर्माण गरिएको छ । विदेशबाट फर्किएकालाई स्वास्थ्य परीक्षण गरेर होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका- ३ मा १५ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि कोरोनाविरुद्ध जनचेतना फैलाउन लागिरहेका छन् । ८२ वर्षको उमेरमा पनि कोरोना संक्रमण रोकथाम गर्न सचेतनामा जुटेका खड्का उदाहरणीय बनेको त्रिपुरासुन्दरी गाउँपालिकाका अगुवा भक्तध्वज बोहोराले बताए । ‘गाउँपालिका अध्यक्ष र अन्य जनप्रतिनिधिले पनि वडाअध्यक्ष खड्काको जस्तै सक्रियता देखाउनुपर्ने हो, तर हुन सकेन । वडाअध्यक्ष खड्काको सक्रियता प्रशंसनीय छ,’ उनले भने ।

प्रकाशित : वैशाख ५, २०७७ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?