२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

धादिङमा बाहिरी जिल्लाबाट ढुवानीमा रोक  

हरिहरसिंह राठौर

धादिङ — खाद्यान्न ढुवानीका नाममा चहलपहल बढ्न थालेपछि स्थानीय प्रशासनले लकडाउन थप कडा पारेको छ । प्रशासनले बिहीबार बाहिरी जिल्लाबाट हुने तरकारी, फलफूल र खाद्यान्न ढुवानीमा प्रतिबन्ध लगाएको छ ।

धादिङमा बाहिरी जिल्लाबाट ढुवानीमा रोक  

सदरमुकामनजिकैको ज्वालामुखीमा र्‍यापिड टेस्टमा एक जनामा कोरोना पोजिटिभ देखिएको र दैनिक उपभोग्य वस्तुको खरिदविक्रीका नाममा लापरबाही बढ्न थालेकाले कडाइ गरिएको प्रजिअ अस्मान तामाङले बताए । बुधबारसम्म दैनिक दुईपटक खोल्न दिइएका तरकारी र खाद्यान्न पसल पनि बिहीबारबाट बन्द गरिएका छन् । मोटरसाइकलसमेत चल्न दिइएका छैनन् ।

जिल्ला उद्योग वाणिज्य संघसहितको जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना संक्रमण फैलन नदिन वैशाख ४ देखि १० गतेसम्मलाई ढुवानीमा प्रतिबन्ध लगाएको हो ।

वाणिज्य संघले सदरमुकाममा १७ हजार बोरा चामल मौज्दात रहेको र आन्तरिक उत्पादनबाटै सस्तोमा तरकारी उपलब्ध गराउन सकिने जनाएपछि रोक लगाइएको प्रजिअ तामाङले बताए ।

यसअघि धादिङका विभिन्न संकलन केन्द्रबाट काठमाडौं गएको तरकारी फेरि धादिङबेंसी ल्याइने गरेको छ भने तराईका जिल्लाबाट पनि ढुवानी हुँदै आएको थियो । जिल्लामै उत्पादित तरकारी विक्री नभएर किसान मर्कामा परेका बेला यहीँ खपत गर्न सके सबैको भलो हुने वाणिज्य संघ अध्यक्ष रुद्रबहादुर खत्रीले बताए ।

भीडभाड बढेकै कारण बैंक तथा वित्तीय संस्था खोल्न पनि रोक लगाइएको छ । औषधि पसल पनि सुरक्षाका सम्पूर्ण उपाय अपनाएर मात्र खोल्न आग्रह गरिएको छ ।

बिरामी नबोकेको भन्दै एम्बुलेन्स तोडफोड

ज्वालामुखी–३ अमराईमा बुधबार राति स्वास्थ्य सामग्री बोकेको एम्बुलेन्स तोडफोड भएको छ । आरडीटीमा पोजिटिभ देखिएका ज्वालामुखीकै २७ वर्षीय युवकलाई अस्पताल लैजान नमानेको आरोपमा स्थानीयले एम्बुलेन्स तोडफोड गरेका हुन् ।

मैदी स्वास्थ्य चौकीद्वारा सञ्चालित बा२झ २७२५ नम्बरको एम्बुलेन्स बुधबार अन्य बिरामी काठमाडौं पुर्‍याई ज्वालामुखी स्वास्थ्य केन्द्रका संयोजक सुरज श्रेष्ठले सञ्चालन गरेको मेडिकल हलका लागि औषधि लिएर फर्कंदै थियो ।

युवकका आफन्तले चालक कृष्णप्रसाद श्रेष्ठलाई घेरा हाली व्यक्तिगत सामान बोकेको तर बिरामी बोक्न नमानेको आरोप लगाउँदै एम्बुलेन्समा ढुंगा हानेका थिए ।

मंगलबार आरडीटीमा पोजिटिभ देखिएका दक्षिण कोरियाबाट आएका ती युवकलाई ज्वालामुखी गाउँपालिकाका कुनै पनि एम्बुलेन्सले बोक्न नमानेपछि आफैं मोटरसाइकल चलाएर जिल्ला अस्पताल गएका थिए ।

प्रकाशित : वैशाख ४, २०७७ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?