कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रिपोर्ट नेगेटिभ आएपछि घर फिर्ता   

कृष्ण थापा

नुवाकोट — नुवाकोटमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको परीक्षण थालिएको छ । विदुर नगरपालिका १ त्रिशूलीस्थित शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा रहेका १४ जनाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

रिपोर्ट नेगेटिभ आएपछि घर फिर्ता   

रिपोर्ट नेगेटिभ आएसंगै उनीहरु घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले भने, ‘उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किसकेका छन् ।’ जिल्लामा र्यापिड डायनोग्टिक टेस्ट (आरडीटी) किट आएपछि कोभिड परीक्षण थालिएको हो ।


क्वारेन्टाइनमा २१ दिन पुगेका १४ जनाको परीक्षण गरी घर पठाइएको कोभिड रोकथाम तथा नियन्त्रण सम्बन्धी जिल्लास्तरीय क्राइसिस् मेनेजमेन्ट सेन्टरका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । उनले भने, ‘अहिले क्वारेन्टाइन खाली छ ।’


आइतबार विदेशबाट आएका बेलकोटगढी नगरपालिकाभित्रका ६० र तारकेश्वर गाउँपालिकाका ८० जनाको परीक्षण थालिएको छ । गत चैत ४ गतेदेखि यता ३० वर्षमाथिका स्थानीयको परीक्षण थालिएको प्रजिअ पोखरेलले बताए । ‘भारतलगायत तेस्रो देशबाट जिल्ला प्रवेश गरेका स्थानीयको एउटा परिवारका बढी उमेर भएकाको परीक्षण थालेका छौ,’ उनले भने, ‘त्यसपछि क्रमशः अरु गाउँपालिकामा परीक्षण थालिने छ ।’


किट थोरै भएकाले सबैलाई परीक्षण गर्न कठिनाई हुने स्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाले शनिबार तीन सय आरडीटी जिल्ला स्वास्थ्यलाई पठाएको हो । भारतबाहेक अन्य संक्रमित मुलुकबाट चैत ४ देखि १५ गतेभित्र आएका सबैको परीक्षण गरिने भएको छ ।


जिल्लाको १२ वटै स्थानीय तहमा २ सय ७९ वटा क्वारेनन्टाइन र १८ वटा आइसोलेसन तयारी अवस्थामा छ । जिल्लामा १५ वटा एम्बुलेन्स तयारी राखिएको छ । त्रिशूली अस्पतालमा १५० पीपीई र ३ वटा थर्मल गन रहेको अस्पतालले जनाएको छ ।


अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रेमकुमार राईले ३ वटा थर्मल गन रहेको र ३ वटा स्थानीय तहमा पठाइएको बताए । अहिले सामान्य पेट दुखेको, टाउको दुखेको, हड्डी भाँचिएका दैनिक ५०/६० जना बिरामी बाहेक अन्य कोभिड संक्रमित बिरामी उपचारका लागि नआएको उनले बताए ।

प्रकाशित : चैत्र ३०, २०७६ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?