चिउरा र पानीको भरमा सयौं किमि पैदल
चितवन — कोहीले झोला बोकेका छन्, कोहीले सकी नसकी सुटकेश घिसारेका छन् । बिहीबार बिहान १० बज्दै गर्दा नारायणगढमा सूर्यको ताप पनि बढ्दै थियो । पुल्चोकमा भेटिएका ती सात युवाले आफ्नो यात्राको एक छेउ पनि पूरा गरेका थिएनन् । काठमाडौंबाट उनीहरु घर जान निस्केका हुन् । दाङका तीन जना, बाँके बर्दियाका दुई/दुईजना । उनीहरु काठमाडौंबाट हिँडेरै आफ्नो घर जाँदै थिए ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न सरकारले देशभर लकडाउन घोषणा गरेको छ । यो बेला सबै आ–आफ्नै घरभित्र बस्नु पर्ने हुन्छ । सडकमा अत्यावश्यक सेवा बाहेकका गाडीहरु गुड्न बन्देज छ । तर काठमाडौं माछापोखरी डेरा भएका यी सात मजदुरहरुलाई न रोगको त्रासले रोक्यो न गाडी नचल्ने समस्याले । पाँच सय किलो मिटरभन्दा परको घर पैदलै पुग्ने आँट गरेर उनीहरु काठमाडौंबाट निस्केका हुन् ।
‘१४ दिन त डेरामै बसेर कुर्यौं तर लकडाउन झन् लम्बियो । अब कहिले खुल्छ के ठेगान । डेरामा बसेर खानै संकट पर्ने भयो । त्यसैले जे जे होला होला भनेर हिँड्यौं’ कमलप्रसाद चौधरीले भने । उनको घर बाँकेको राप्ती सोनारी गाउँपालिका हो ।
काठमाडौंबाट हिँडेको चार पाँच दिनमा त कसो घर नपुगिएला भन्ने लागेर बाटो लागेको उनले बताए । उनीहरु बुधबार बिहानपख झिसमिसेमै काठमाडौंबाट हिँडेका थिए ।‘गाडी पाइएला भन्ने आशा त थिएन । तैपनि लैजान्छन् कि भनेर भेटेका ट्रक, जीपलाई अनुरोध गर्यौं । उनीहरुले पुलिसले बाटोमै झार्दिन्छ भो फर्कनुस् भने । तर हामी पैदल नै जाने निधो गरेर हिँडेकाहरु रोकिएनौं’ कमलप्रसादले भने । उनीहरु बुधबार राति बेनीघाट आएर सुते । बाटो छेउमा नै गफ गर्दै र यस्सो झकाएर रात कटाएको उनले बताए । बिहान ३ नबज्दै उनीहरुले यात्रा सुरु गरे ।
‘काठमाडौं गएको एक महिना पनि भएको थिएन । यस्तो आपत आयो । न कमाउन पाइयो न राम्ररी घर फर्कन पाइयो’ कमलप्रसादले दु:ख पोखे ।
सातजनाले आफ्नो झोलसँगै एउटा अलग्गै बोरा पनि साथमा बोकेका छन् । उनीहरु पालो लगाएर त्यो बोरा बोक्छन् । यात्रामा यो बोरा निकै महत्वपूर्ण छ । बाटोमा खान भनेर उनीहरुले बोराभरी चिउरा राखेका छन् । ‘बाटोमा कति बेला कहाँ पुगिन्छ । पसल खुल्ला नखुल्ला । त्यसैले एक बोरा चिउरा साथमै राखेका छौं । अलिकति नुन पनि छ । यही खाँदै अबको तीन/चार दिनभित्र घर त पुगिएला नि’ कमलप्रसादले भने । नारायणगढ पुल्चोकमा भने उनीहरुले चिउरा चपाउनु परेन । त्यहाँ नेपाली युवा उद्यमी मञ्चले नि:शुल्क खानाको प्रबन्ध गरेको थियो । खाना र पानी टन्न खाएर उनीहरु फटाफट बाटो लागे ।
नवलपुर दलदलेबाट हिँड्दै आएका कमलु सेख रौतहट जानु पर्ने थियो । पुल्चोकमा थकाइ मार्दै गरेका उनले हिँडेरै भए पनि घर पुग्नु पर्ने बाध्यता सुनाए । ‘घरमा आमा निकै बिरामी हुनु भएको छ । अरु ठूला मान्छे कोही छैन । उपचार गर्न म नै जानु पर्ने भयो । तर खै गाडी चलेको छैन । अब हिँडेरै जान्छु । दुई दिनमा कसो नपुगिएला’ कमलु सेखले भने ।