कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कतै राहत त कतै मास्कमा ‘अनियमितता’

राजकुमार कार्की

सिन्धुली — सरकारले लकडाउन अवधि बढाएपछि गिटी कुटेर जीवन निर्वाह गर्दै आएका मजदुरहरु विपत्तिमा परेको र उनीहरुको चुल्हो बल्न छाडेको भन्दै कमलामाई नगरपालिकाले राहत वितरण गर्यो ।

कतै राहत त कतै मास्कमा ‘अनियमितता’

नगरप्रमुख खड्गबहादुर खत्री चामलका बोरो, दाल, नुन, तेल, आलु र मसलासहितका सामग्री मिनी ट्रकमा लोड गराएर ग्वाङखोलाका बगरमा पुगी ६६ जना मजदुरलाई वितरण गरे ।

मेयरको यो कार्यको प्रशंसा गर्दै सामाजिक संजालमा केही युवाहरुले फोटो समेत हाले । तर, त्यो प्रशंसा लामो समय टिकेन । खाद्यान्ह राहत वितरण गर्दा मनपरि गरेको भन्दै दुइ दिन नबित्दै उनी आलोचित भएका छन् । राहत सामग्रीमा ‘नगरप्रमुख राहत प्याकेज’ भनेर लेखेकाले उनको आलोचना भइरहेको छ ।

प्रचारमुखी भई काम थाल्दा समस्या भएको कमलामाई–४ का वडाध्यक्ष महेन्द्रप्रसाद ढकालले बताए । उनी भन्छन्, ‘आफ्नै खल्तीको रकमले राहत बाँडेको जसरी नगरप्रमुख खत्रीले काम गर्दा अहिले राहत माग्नेको ओइरो लागेको छ ।’ नगरपालिकाको वोर्ड मिटिङमा कुनै निर्णय नभई मनपरि ढंगले राहत वितरण तथा प्रचारमुखी काम नगरप्रमुखले गरेको उनले आरोप लगाए ।

नगरप्रमुखले किटनाशक औषधी पनि सबै ठाउँमा नछर्केको गुनासो स्थानीयको छ । कोरोना संक्रमण हुन नदिनका लागि बारुण यन्त्रमा किटनाशक औषधि डिसइन्फेक्टेन्ट राखी नगरप्रमुख खत्रीले नगरको १ र २ वडाको बजार क्षेत्रमा मात्र स्प्रे गरेको स्थानीय बताउँछन् । उनीहरुले माझीटार, ढुंग्रेवास, रातमाटामा गरिएको स्प्रेमा पानी मात्र भएको भन्दै नगरप्रमुखको आलोचना गरेका छन् ।

कोरोना नियन्त्रणका लागि विषादी सहितको औषधि छर्नु पर्नेमा पानी मात्र छर्किएर सिङ्गो नगरपालिकाकै गरिमा घटाउने काम नगरप्रमुखले गरेको वडाध्यक्ष ढकालले सुनाए । नगरप्रमुख खत्री भने महामारीको समयमा सबैकुरा मिटिङबाट हुन नसक्ने भन्दै कोरोना कहरपछि पारदर्शितामा कन्जुस्याइ नहुने प्रतिक्रिया दिए ।

जिल्लाका ९ वटा स्थानीय तहमा दुइवटा नगरपालिकामध्ये दुधौली विवाद मुक्त हुन सकेन । नगरपालिकाले मास्क खरिद गरी वडामा पठाएको र वडाध्यक्षले घप्लाबाजी गरेको भन्दै नगरप्रमुख घनश्याम राउत र वडा १ का अध्यक्ष गोविन्द पहाडीबीच द्वन्द्व चर्किएको छ ।

वडामा एक हजार पाँचसय मास्क आएको पहाडीको दाबी छ भने नगरप्रमुख राउतले दुइहजार पाँचसय मास्क पठाएको जिकिर गरेका छन् । यो विषयमा छानबिनको माग समेत भएको छ । प्रचारबाजी बढी भएकाले समस्या भएको मेयर राउतले बताए ।

यसैबीच, चन्द समूहको नेकपाले दुवै नगरपालिकामा अनियमितता र घृणित कार्य भएको भन्दै कारवाहीको चेतावनी दिएको छ । चन्द समूहका जिल्ला सेक्रेटरी प्रसिद्धले जारी गरेको विज्ञप्तीमा कमलामाई नगरपालिकाका नगरप्रमुखले मनपरि ढंगले राहत बाँडेको र विषादी सहितको स्प्रे भनेर पानी मात्र छर्केको भन्ने आएकोले ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै दुधौली नगरपालिकामा जनताका नाममा खरिद गरिएको मास्क लुकाएको, हिनामिना गरेको भन्दै विज्ञप्तिमा कारवाहीको चेतावनी दिएको छ ।

प्रकाशित : चैत्र २६, २०७६ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?