कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अग्रिम सुरक्षा भत्ता वितरण

सिन्धुली — कमलामाई  नगरपालिका ६ अँधेरीकी ७० वर्षीया  सुन्तलीमाँया श्रेष्ठ नातिनीको सहारामा नुनथला आइपुगिन । भत्ता लिन नातिनीलाई लिएर आएको उनले बताइन ।

अग्रिम सुरक्षा भत्ता वितरण

‘कोरोनाले गर्दा भएको लकडाउनमा नगरपालिकाले दुई महिनाको अग्रिम सामााजिक सुरक्षा भत्ता वितरण गरिरहेका सुनेर आएकी हुँ’ उनले भनिन्, ‘ घरमा कमाउने पनि बाहिर निस्कन पाएका छैनन्, यो पैसाले ठूलै गर्जो टर्छ ।’


दैनिक ज्याला मजदुरी गरेर पेट भर्ने सुन्तलीमाँयाको परिवारमा छोरा, बुहारी सहित ७ जना छन् । ‘रोग आयो भन्छन, घर बाहिर निस्कन कोही पनि पाएको हैन्,’ उनले थपिन् । चामल, दाल, भुटुन, किन्नका लागि आफ्नो पैसा प्रयोग हुने र घरका सबै खुसी हुने उनले बताइन् ।


राम्माडीका ७५ वर्षिय रुद्रबहादुर वयलकोटीको त भान्सा नै बसिसकेको थियो । राहतको लागि नाम टिपेर लगे पनि राहत नपाएका उनलाई सामाजिक सुरक्षा भत्ता चुल्हो बाल्ने सहयोग गर्नेछ । ‘घरमा दाल, चामल केही थिएन्, अब यो भत्ताले जोहो गर्छु,’ उनले भने, ‘ राहत पाइएको होइन्, एकदुइ दिन बन्द होला भनेको यो त १५ दिन हुन लागिसक्यो ।’


गाउँमा अन्न उधारोमा बेसाउन जान पनि नपाएको उनले सुनाए । ‘घरमा अहिले नआइज है भन्छन, सबै ढोका लगाए जत्तिकै भएको छ, यो कस्तो रोग हो कोरोना?,’ उनले जिज्ञासा राख्दै भने, ‘यो भत्ता पनि नपाएको भए त भोकै मरिने रहेछ ।’ नगरपालिकाले दुई महिनाको सामाजिक सुरक्षा भत्ता १४ वडामा वितरण सुरु गरेको गरेको छ ।


लकडाउनका कारण विपन्न वर्ग मारमा परेकोले राहत स्वरुप समय अगावै चैत र बैशाख महिनाको सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ । यस्तो बेलामा वृद्धवृद्धा तथा अन्य सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई अग्रिम दिंदा ठूलो राहत हुने सोचेर वितरण शुरु गरेको नगरप्रमुख खड्गबहादुर खत्रीले बताए ।


कमलामाई नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या दोस्रो चौमासिक सम्ममा सात हजार ६०२ जना रहेका छन् । दुई महिनाको भत्ता स्वरुप तीन करोड ६७ लाख ९९ हजार दुई रुपैयाँ खर्च हुने नगरपालिकाले जनाएको छ । जेष्ठ नागारिक, दलित, एकल महिला, लोपोन्मुख, अपाङ्गता भएका , आंशिक अपाङ्गता भएका लगायतले उक्त भत्ता पाउदै आएका छन् । यसअघि सामाजिक सुरक्षा भत्ता तेस्रो तथा अन्तिम चौमासिक असारमा मात्र वितरण हुदै आएको थियो ।

प्रकाशित : चैत्र २५, २०७६ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?