ढुक्क भएर कृषिकर्ममा व्यस्त

अनिश तिवारी

सिन्धुपाल्चोक — कोभिड १९ को संक्रमण त्रासमा देशभर लकडाउन छाएपछि मुख्य र साना बजारक्षेत्रमा सुरक्षाकर्मीबाहेक अन्यलाई देख्नै मुस्किल छ । पूर्व तातोपानीदेखि पश्चिम हेलम्बु बजारसम्मका स्थानीय घरबाट बाहिर निक्लिएका छैनन् ।

ढुक्क भएर कृषिकर्ममा व्यस्त

तर, लकडाउनको शून्यबीच सबै गाउँक्षेत्रका बासिन्दा भने ढुक्क भएर दैनिकी खेतीपाती र कृषिकर्ममा व्यस्त देखिएका छन् । चैते धान रोपाईमा व्यस्त चौतारा साँगाचोकगढी नगरको झ्याडी टोलका माझी, दनुवार समुदायमा भने छुट्टै रौनक छाएको छ । इन्द्रावती किनारको फाँटमा आलोपालो गरी रोपाईमा व्यस्त छन् ।


‘काम नगरी कसरी बाँच्ने, अब यहाँ बाहिरबाट आएका कोही छैनन्, कोरोना कहाँबाट सर्नु हजुर ,’ झ्याडी टोलका सुरेन्द्र माझीले भने । साबुन पानीले हात धोएर सचेतना अपनाएरै माझी र दनुवार समुदाय एक भएर दैनिक काममा खटिरहेको उनले बताए ।



नजिकै रहेको अरनिको राजमार्गस्थित काभ्रेको दोलालघाट, बन्देउ हुँदै सुकुटे, बलेफी जस्ता सबै बजार सुनसान देखिएको छ । ‘ ज्याला मजदुरी गरेर खाइन्थ्यो, त्यसको पनि केही अर्थ रहेन, लकडाउनको आलु खन्न सदुपयोग गरियो,’ मेलम्ची नगरपालिकाको फाँटमा आलु भित्राइरहेका नवराज श्रेष्ठले भने ।


खेतैपिच्छै आलु खनेर ठड्याइएको बोरा देखाएर उनले उत्साह पोखे । हल्लाकै भरमा कोरोना भाइरसको बारेमा चर्चा सुनेकी जुगल गाउँपालिका–३, तेम्बाथान्की माइली शेर्पा निर्धक्क सामुहिक रुपमा बाख्रा चराउछिन् । छिमेकीसँगै झण्डै सय वटा बाख्रा चराइरहेकी उनले कोरोना भाइरसबारे सबैकुरा थाहा नपाइसकेको खुलाइन् । ‘यता नेटकवर्क र फोन केही लाग्दैन्, बिजुली छैन्, टेलिभिजन, रेडियो कहाँबाट हेर्नु सुन्नु र, तैपनि यो रोगबारे हल्ला चाही सुनेको छु, ,’ उनले भनिन् ।




अझैसम्म सडक नजोडिएको जुगल गाउँपालिकाको अन्तिम गाउँ दिपु, तेगा र तेम्बाथान् गाउँमा स्वास्थ्य चौकी पुग्न झण्डै दुई दिन लाग्छ । स्वास्थ्य परीक्षण गर्न लामो दूरी हिड्नुपर्ने भएकाले अरुले भनेको सुनेको आधारमा साबुन पानीले हात धुने र अपरिचितसँग टाढा रहेर नबोल्ने गरिएको उनको भनाइ छ । ‘हाम्रो लेक गाउँमा पनि कोरोना आउछ र ?,’ उनले प्रश्न गरिन् ।




बाटैमा दाउराको भारी बोकेर आइरहेकी बाह्रबिसे नगरपालिका–६ घुम्थाङ गाउँकी डोमा शेर्पाले साबुन पानीले हात धुने र नचिनेको मान्छेसँग दूरी राखेर भेट्ने गरेको सुनाइन् । ‘हामी त ढुक्क छौ, केही गरी कोरोना आएपछि हेरौंला, अरु सचेतना जसरी पनि अपनाइएकै छ, अरु के गर्नु र ?,’ उनले भनिन् । उनका अनुसार गाउँभर विदेशबाट आएका सबैको अवस्था सामान्य रहेको र होम क्वारेन्टाइनमा बसेकोले खासै समस्या देखिएको छैन् । ‘साबुन पानीले हात पहिलेदेखि धुँदै आएका हौं, अब अरु नयाँ थपियो,’ उनले भनिन् ।


जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँगै प्रहरी खट्दै


तीन नगर र नौ गाउँपालिकाका जनप्रतिनिधि स्वास्थ्यकर्मीलाई लिएर कोरोना भाइरस फैलिन नदिन स्वास्थ्य परीक्षण र सचेतना फैलाउन कस्सिएका छन् । बाह्रबिसे, मेलम्ची नगरदेखि हेलम्बु, इन्द्रावती गाउँपालिकाले कोरोना सचेतना अभियान व्यापक बनाएका छन् ।


‘जनप्रतिनिधि, स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मी पनि दौडिरहेका छन् , कोरोना रोकथामको लागि घरमै पुगेर सचेतना फैलाईरहेका छौं ’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले भने ।

प्रकाशित : चैत्र २५, २०७६ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?