भीमफेदी–कुलेखानी सडक स्तरोन्नति कार्य पुन: सुचारु

प्रताप विष्ट

हेटौंडा — सबै सुरक्षा उपाय अपनाएर भीमफेदी—कुलेखानी सडकको स्तरोन्नतिको कार्य लकडाउनमै सुचारु गरिएको छ ।

उक्त सडक खण्डमा हाल सवारी साधन नचल्ने र काम गर्न ‘डिस्टर्व’ नहुने भएकाले स्तरोन्नति कार्य पुन: सुचारु गरिएको वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले बताए । उनले भने, ‘कोरोना भाइरसको संभावित संक्रमणबाट जोगिन सुरक्षा अवस्था मिलाएर काम थालिएको हो ।’ सुरुमा लकडाउन लगतै सडकको स्तरोन्नतिको कार्य रोकिएको थियो ।


मन्त्री फुँयालले १५ किलोमिटर सडकमा भीमफेदीदेखि देउरालीसम्म र देउरालीदेखि कुलेखानी बाँधसम्म गरी दुई भागमा काम भईरहेको बताए । भीमफेदी–देउरालीसम्म आठ किलोमिटर १७ करोड रुपैयाँमा र बाँकी साढे सात किमी सडक १५ करोड लागतमा ठेक्का सम्झौता भएको छ । मोती दाना निर्माण कम्पनीले ठेक्का पाएको छ । कम्पनीले गत चैत १८ देखि निर्माण कार्य सुरु गरेको हो । अहिले पाँचवटा स्काभेटरले फरक–फरक स्थानबाट बाटो चौडा बनाउने कार्य गरिरहेको छ ।


काठमाडांै प्रवेश गर्ने सबै भन्दा छोटो दूरीको वैकल्पिक मार्ग हेटौडा, भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हँुदै फर्पिङ पुगिने सडक खण्डको भीमफेदी—कुलेखानी करीब १६ किमी साँघुरो र अत्यन्त जोखिमयुक्त छ । घुमाउरो र साँघुरो भएका कारणले उक्त खण्डमा दुर्घटना अधिक हुने गर्छ । उक्त खण्डमा वाग्मती प्रदेश सरकारले सुरुङ मार्ग समेत निर्माण गर्ने जनाएको छ । आगामी वैशाखमा सुरुङको टेन्डर आव्हान गर्ने तयारीमा सरकार जुटेको छ । सुरुङ मार्ग निर्माण गर्न कम्तिमा पनि तीन वर्ष लाग्ने भएकाले अहिले संचालन आईरहेको सडकलाई फराकिलो र स्तरोन्नती गर्न लागेको मन्त्री फुँयालले बताए ।


अहिले सडकको मोड सुधार गर्नुका साथै ६ मिटर चौडा र कालोपत्रेसमेत गर्नु पर्ने गरी सम्झौता भएको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका इन्जिनियर नविन सिंहले बताए । उक्त सडकको स्तरोन्नती पछि वाग्मती प्रदेशको काठमाडाैं, भक्तपुर, ललितपुर, रामेछाप, काभ्रे, दोलखा, रसुवा, सिन्धुपाल्चोक र नुवोकाट जिल्लालाई प्रदेशको राजधानी हेटौडा आउजाउ गर्न सहज हुने प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।



भीमफेदी—कुलेखानी सडकको स्तरोन्नति पछि दूरी पनि छोटिने प्राविधिकहरुले बताएका छन् । निर्माणको ठेक्का पाएको कम्पनीले एक्साभेटर लगाएर कटिङको काम गरिरहेको छ । सडकलाई चौडा बनाउन आवश्यक परे विगतमा लगाएको रिटेनिङ वाल र तारजाली पनि भत्काईने प्राविधिकहरुले जनाएका छन । उक्त सडकको खण्डको सिस्नेरी–दक्षिणकाली र फाखेल–हुमाने भन्ज्याङ क्षेत्रमा पनि सडक स्तरोन्नति भइरहेको छ । स्तरोन्नतीको कार्य सम्पन्न भएपछि साढे २ घन्टामै हेटौडबाट काठमाडांै पुगिने दाबी भौतिक पूर्वाधार तथा विकास मन्त्री फुँयालको छ ।


वाग्मती प्रदेशका सांसदहरुले प्रदेशको राजधानी आउजाउ गर्न सडकको कारणले समस्या भएको आवाज प्रदेश सभामा उठाउने गरेका छन । सडकको स्तरोन्नति गर्न उनीहरुले दवाव दिदै आएका छन । उक्त सडकमा दैनिक एक हजार भन्दा बढी सवारी साधनहरु आउजाउ गर्छन् । प्रकाशित : चैत्र २५, २०७६ १४:१८

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

समाचार संकलनमा अवरोध

रमेशचन्द्र अधिकारी

धनकुटा — स्वास्थ्य सामग्री हस्तान्तरणबारे समाचार संकलनका लागि पुगेका पत्रकारलाई मंगलबार स्थानीय प्रशासनले अवरोध गरेको छ । सूर्यबहादुर थापा प्रतिष्ठानले जिल्लाका स्वास्थ्य संस्थाका लागि पठाएको सामग्री जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने कार्यक्रममा पत्रकारलाई रोक लगाइएको नेपाल पत्रकार महासंघ धनकुटाले जनाएको छ । 

महासंघका जिल्ला उपाध्यक्ष नगेन्द्र राई, द हिमालय टाइम्सका खगेन्द्र घिमिरे, हिमालय टेलिभिजनका कविराज घिमिरे, अन्नपूर्ण पोस्ट् दैनिकका हरिबहादुर लम्जेल र रेडियो भेडेटारका स्टेसन म्यानेजर पूर्णकुमार चौधरीलाई दुर्व्यवहार गरिएको जनाइएको छ ।

प्रतिष्ठानले सामग्री हस्तान्तरण कार्यक्रममा जिल्लास्थित पत्रकारलाई समाचार संकलनको लागि डाकेको थियो । तर जिल्ला प्रशासन कार्यालय पुगेका पत्रकार खगेन्द्र घिमिरे र कविराज घिमिरेलाई कार्यक्रमस्थलबाटै निष्कासन गरिएको थियो । आफूहरूलाई प्रशासन कार्यालय परिसरबाट प्रहरीले अपमानजनक ढंगले निकालिएको उनीहरूले बताए । अन्य चार जनालाई मुख्य मन्त्रीको सम्पर्क कार्यालयबाहिर सडकमा प्रहरीले रोकेका थिए । ‘कार्यक्रममा बोलाएर अपमानजनक व्यवहार गरियो,’ खगेन्द्र घिमिरेले भने, ‘हामी सुरक्षित भएर गएका थियौं, तर समाचार संकलन र तस्बिर खिच्न नदिई दुर्व्यवहार गरियो ।’

बाटोमा रोकिएका पत्रकारलाई पनि प्रहरीले फोटो–भिडियो मेट्न दबाब दिएका थिए ।
घटनापछि महासंघले विज्ञप्तिमा पत्रकारितामार्फत जनताको सुसूचित हुने अधिकार हनन गरिएको भन्दै त्यस्ता कार्य बन्द आग्रह गरेको छ ।
दुर्व्यवहार गरिएको होइन : प्रशासन
प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले सूचना संकलनमा अवरोध नगरिने भन्दै पत्रकारलाई अपमानजनक व्यवहार नगरिएको दाबी गरेका छन् । प्रतिष्ठानले पत्रकारलाई निम्ता गरेको जानकारी नहुँदा भिडभाड हुन नदिन पत्रकार र अन्यलाई बाहिर बस्न अनुरोध गरिएको उनको भनाइ छ । त्यसै गरी जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले सामग्री हस्तान्तरण कार्यमा पत्रकारको आवश्यकता नभएको ठानेर रोक लगाइएको बताए ।

प्रकाशित : चैत्र २५, २०७६ १४:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×