१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बिरामी अलपत्र छाडेर ‘स्टाफ’ ओसार्छन् एम्बुलेन्स 

सुवास विडारी

मकवानपुर — लकडाउनका बेला एम्बुलेन्सजति ‘मेडिकल स्टाफ’ बोक्न खटिएपछि बिरामी मर्कामा परेका छन् । एम्बुलेन्स चालकहरू जानाजान बिरामी बोक्न आनाकानी गर्दै ‘स्टाफ’ ओसारिरहेका हुन्छन् ।

बिरामी अलपत्र छाडेर ‘स्टाफ’ ओसार्छन् एम्बुलेन्स 

पहिले हेटौंडा अस्पतालबाहिर बिरामी बोक्न एम्बुलेन्स लामबद्ध हुने गरेकोमा अहिले फोन गर्दासमेत नआउने गरेको स्थानीयको गुनासो छ । लकडाउनमा मेडिकल स्टाफका सवारी सञ्चालनमा रोक लगाइएको छैन । तर बजार अनुगमनमा कतिपय मेडिकल स्टाफ एम्बुलेन्समा आउने र एम्बुलेन्सचालकहरू तिनैलाई पर्खर बस्ने गरेको देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सोमबार हेटौंडा–१७ का ६ वर्षीय सन्तोष कार्कीको आँखामा चोट लागेपछि अस्पतालले काठमाडौं रिफर गरेको थियो । तर परिवारले धेरै कोसिस गर्दा पनि एम्बुलेन्स पाउन सकेन । हेटौंडा अस्पताल र अन्य अस्पताललाई आग्रह गर्दा पनि नभएपछि उनीहरूले प्रहरी गुहारे । प्रहरीले काठमाडौं जाँदै गरेको अन्य सवारीमा पठाउने व्यवस्था मिलाइदियो ।


‘हामीले एम्बुलेन्स खोज्दा पाएनौं तर बिरामीलाई समन्वय गरेर पठाइयो’, प्रहरी निरीक्षक सुजन पाठकले भने, ‘धेरै गुनासो आएपछि एम्बुलेन्स पार्किङ गर्ने स्थानमा सोधखोज गर्दासमेत भेटिएन ।’


हेटौंडा अस्पतालमा भेटिएका बिरामीका आफन्तहरूले केही एम्बुलेन्स चालकले फोनै नउठाउने, उठाए पनि नभ्याउने जवाफ दिने गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल एम्बुलेन्सले बिरामी बोक्न आनाकानी गर्न नमिल्ने जनाउँदै सम्बन्धित निकायसँग जानकारी लिने सुनाउँछन् ।

हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेलले एम्बुलेन्सले बिरामी नबोकेको गुनासो आफूसम्म पनि आएको बताए । ‘चिकित्सकलाई ल्याउन र पुर्‍याउन छुट्टै सवारीको व्यवस्था गरिएको छ,’ उनले भने, ‘अस्पतालका एम्बुलेन्सले गल्ती गरेका भए कारबाही गरिनेछ ।’


स्वाब परीक्षण बढाउन पालिकाहरूको जोड

पालिकाहरूले कोरोना संक्रमण फैलन नदिन शंकास्पद बिरामीको स्वाब परीक्षणको दर बढाउनुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समितिमा बसेको स्थानीय तह समन्वय बैठकले लकडाउन प्रभावकारी बनाउँदै स्वाब परीक्षण व्यापक बनाउने व्यवस्था मिलाउन प्रदेश तथा संघीय सरकारसँग आग्रह गरेको हो ।

हेटौंडामा दैनिक ६० जनासम्मको स्वाब जाँच्न सकिने ल्याब स्थापना गरिए पनि परीक्षण थोरै भइरहेको भन्दै सहभागीले जिल्लाबाहिरबाट आएका तथा लक्षण देखिएकाहरूलाई ध्यान दिनुपर्ने बताए ।

बैठकले निगरानी बढाउने तथा स्वाब संकलनमा स्थानीय तहहरूले समन्वय गर्ने निर्णय गरेको जिसस प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।


बैठकले राहत वितरण एकद्वार प्रणालीमार्फत गर्नुपर्ने तथा आवश्यक व्यक्तिले मात्र राहत पाऊन् भन्ने विषयमा पालिकाले विशेष ध्यान दिनुपर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी पालिकाका प्रमुख/उपप्रमुखहरूले महामारी फैलिहाले अहिले निर्माण भएका क्वारेन्टाइन र आइसोलेसन व्यवस्थित र पर्याप्त नभएकाले हेटौंडा अस्पताललाई नै आइसोलेसन अस्पताल बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित : चैत्र २५, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?