१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मारमा दूध उत्पादक किसान, भन्छन्- 'पाउडर उद्योग चलाऊ'

लकडाउन सुरु भएपछि डेरीहरुले दूध लैजान कटौती गरेका छन्
रमेशकुमार पौडेल

चितवन — देशभर लकडाउन लागू भएपछि दुग्ध किसान संकटमा पर्न थालेका छन्। गाई-भैंसीलाई खुवाउने दाना चोक्करको मूल्य बढ्ने तर उत्पादन भएको दूध बिक्री हुन गाह्रो हुन थालेको छ।

मारमा दूध उत्पादक किसान, भन्छन्- 'पाउडर उद्योग चलाऊ'

लकडाउनको पीडाबाट किसानलाई जोगाउन देशका विभिन्न ठाउँमा रहेका धुलो दूध कारखाना पूर्ण क्षमतामा चलाउन किसानले माग गरेका छन्।


पूर्वी चितवन रत्ननगरका युवा किसान किशोर बगालेले २५ वटा दुधालु गाई पालेका छन्। दिनमा दुई सय लिटर दूध उत्पादन हुन्छ। लकडाउन सुरु भएपछि प्रत्येक दिन दूध बिक्री गर्न उनलाई गाह्रो भइरहेको छ। सामान्य समयको तुलनामा १५/२० प्रतिशत पनि दूध बिक्री नभएको उनले बताए।

‘दानाको मूल्य ह्वात्तै नबढे पनि चोक्करको मूल्य बढ्यो। लकडाउनअघि ४० किलोको एक बोरा चोक्कर १७ सयमा पाइन्थ्यो, अहिले साढे १८ सय पर्छ,' बगाले भन्छन्। उनी चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका सचिव पनि हुन्।


जिल्लाभर दूध उत्पादन गर्ने १०८ सहकारी संघका आबद्ध छन्। यी सहकारीमा रहेका करिब ४० हजार किसानले दैनिक डेढ लाख लिटरको हाराहारीमा दूध उत्पादन गर्छन्। संकलन भएको दूध दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरीले काठमाडौं, पोखरा, हेटौंडासम्म लैजान्छन्। लकडाउन सुरु भएपछि डेरीहरुले दूध लैजान कटौती गरेको बगालेले बताए।


भरतपुर महानगरपालिका–६ मा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी जिल्लाको सफल सहकारीमध्ये पर्छ। यहाँ दैनिक ८ हजार २ सय लिटर दूध संकलन हुन्थ्यो। तर अनेक प्रबन्ध मिलाउँदा पनि अहिले ७ हजार ५ सय लिटर दूध संकलन गर्न सकेको संस्थाका सल्लाहकार भागीरथ तिमिल्सिनाले बताए। यो सहकारीको धेरै दूध पहिला स्थानीय बजारमा बिक्री हुन्थ्यो।

‘पहिला हामीले लोकल मार्केट (चितवन आसपास) मा दैनिक ४ हजार लिटर बेच्दै आएका थियौं। अहिले १५ सय लिटर पनि बेच्न गाह्रो छ। संकलन भएको दूध गाह्रोसाह्रो मिलाएर डीडीसीले लगिरहेको हुँदा थोरै भए पनि राहत मिलेको हो। नभए गाह्रो छ,’ तिमिल्सिनाले भने।

अहिले उत्पादन भएको दूध पाउडर बनाएर राखे भविष्यमा काम लाग्ने किसान बताउँछन्। 'चितवनमै दैनिक एक लाख लिटर दूध खपत गर्ने क्षमताको धुलो दूध कारखाना छ। यसलाई चलाउनुपर्‍यो,’ बगालेले भने।


तिमिल्सिनाका अनुसार 'चितवन मिल्क'को एक लाख लिटर दूध खपत गर्ने क्षमता भए जस्तै अन्य दुई धुलो दूध उद्योग पनि नेपालमा छन्। विराटनगरमा डीडीसीको धुलो दूध कारखानाको क्षमता ५० हजार लिटर छ। पोखरामा रहेको सुजलको क्षमता पनि ५० हजार लिटर खपत गर्ने रहेको छ।


कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा चैत १० मा बसेको दुग्ध विकास बोर्डको बैठकले धुलो दूध कारखाना पूर्ण रुपमा चलाउन अनुरोध गर्ने र आवश्यक सहयोग दिने निर्णय गरेको तिमिल्सिनाले जानकारी दिए। तर लकडाउन सुरु भएपछि उद्योग राम्रोसँग चलेका छैनन्।


'चितवन मिल्क चलाउँछौं'


चितवन मिल्क प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठले आफूहरु उद्योग चलाउन तयार रहेको बताए। तर पूर्ण क्षमतामा चलाउन भने गाह्रो हुने उनको भनाइ छ। ‘लकडाउनअघि राम्रैसँग चलेको हो। त्यसपछि अन्योल भयो,' उनले भने, 'आज (सोमबार) बाट उद्योग फेरि चलेको छ।’


उद्योगको क्षमता दैनिक एक लाख लिटर दूध खपत गरेर पाउडर बनाउन सक्ने भए पनि अहिले त्योअनुरुप चलाउन नसक्ने उनले बताए। ‘४५ देखि ५० हजार लिटर दूध खपत गर्न सक्छौं,’ श्रेष्ठले भने।

प्रकाशित : चैत्र २४, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?