भरतपुरमा कोरोना परीक्षण प्रयोगशाला तयार

दैनिक ९० वटासम्म नमुना परीक्षण गरिने
रमेशकुमार पौडेल

चितवन — कोरोना भाइरस परीक्षणका लागि चितवनमा प्रयोगशाला तयार भएको छ। भरतपुरमा रहेको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशालामा कोरोनाको परीक्षण हुनेछ।

भरतपुरमा कोरोना परीक्षण प्रयोगशाला तयार

आइतबार भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले परीक्षणका लागि संकलन भएको नमुनाको बक्स प्राविधिकहरूलाई हस्तान्तरण गरेर प्रयोगशालाको औपचारिक शुभारम्भ गरिन्।


प्रयोगशाला सञ्चालनको सम्भावना बुझ्न बुधबार नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराज खनालको नेतृत्वमा प्राविधिक टोलीले रामपुर क्याम्पस, क्यान्सर अस्पताल, पक्षी रोग प्रयोगशालाको अवस्था अध्ययन गरेको थियो। बर्ड फ्लुको संक्रमण देखिँदा पनि पक्षी रोग प्रयोगशालामा काम भएका कारण यसैलाई छनोट गरेको रजिस्ट्रार खनालले बताए।


प्रयोगशालामा रामपुर क्याम्पसको बायोटोक्नोलोजी ल्याबमा भएको पीसीआर मेसिन प्रयोग भएको छ। प्रयोगशाला सञ्चालनका लागि रामपुर क्याम्पस प्रयोगशालाका वैज्ञानिक ईश्वरी कडरियासहितको टिमले पनि सहयोग गर्ने खनालले बताए। क्यान्सर अस्पतालका प्रयोगशाला विज्ञ मदन पाण्डे र पुरानो मेडिकल कलेजका डा. बृजेश झा यसमा खटिनेछन्।


प्रयोगशाला निर्माणको कामको संयोजन गरेका क्यान्सर अस्पतालका चिकित्सक डा. कृष्णसागर शर्माका अनुसार सुरुमा दैनिक ९० वटासम्म नमुना परीक्षण गरिनेछ। जनशक्ति व्यवस्थापन भए प्रयोगशालाबाट दिनमा नौ सयसम्म नमुना परीक्षण गर्न मिल्ने उनले बताए। यसका लागि तीन सिफ्टमा प्रयोगशाला चलाउनुपर्नेछ।


एक सिफ्टमा ६ जना चाहिन्छन्। तत्कालका लागि एक सिफ्टमा ६ जना प्राविधिक खटाउने र पालो मिलाएर १८ जना कर्मचारी परिचालन गर्ने योजना बनाएको उनले बताए।


६८ जनाको नमुना परीक्षण


भरतपुर अस्पताल र कोरोना विशेष अस्थायी अस्पतालमासमेत गरेर चितवनमा हालसम्म ६८ जनाको नमुना संकलन गरी परीक्षण नतिजा आइसकेको छ। यीमध्ये कसैमा पनि कोराना भाइरसको संक्रमण भएको भेटिएन। कोरोना अस्पतालमा ४६ र भरतपुरको सरकारी अस्पतालमा २२ जनाको नमुना संकलन गरिएको थियो। भरतपुरको सरकारी अस्पतालको आइसोलेसन वार्डमा ३० वटा शय्या रहेका छन्।

प्रकाशित : चैत्र २३, २०७६ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?