धुलिखेलमा आइतबारबाट कोरोना परीक्षण, ३ सय ४९ ‘निगरानीमा’ 

नगेन्द्र अधिकारी

काभ्रे — धुलिखेल अस्पतालमा आइतबारबाट कोरोना भाइरस (कोभिड १९) संक्रमणसम्बन्धी परीक्षण हुने भएको छ 

संघीय सरकारको निर्णयअनुसार कोभिड १९ परीक्षणको सम्पूर्ण तयारी पूरा भएको अस्पतालका फोकल पर्सन डा. सुमनराज ताम्राकारले जानकारी दिए । उनका अनुसार, पर्सलन प्रोटेक्टिभ इक्‍वीपमेन्ट (पीपीई), परीक्षण किटलगायत सामग्रीको सिमितताका कारण सातामा दुई दिनमात्रै परीक्षण हुनेछ । डा ताम्राकारले चाप हेरेर सेवा विस्तार गरिने समेत बताए ।


सेवा सुरु भएपछि काभ्रेका अलावा सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा लगायतका जिल्लावासीलाई सहज हुनेछ । परीक्षणको व्यवस्थापनकै लागि वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले धुलिखेल नगरपालिकामार्फत अस्पताललाई २० लाख उपलब्‍ध गराएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।


३४९ जना ‘निगरानी’मा

जिल्लामा विभिन्न देशबाट स्वदेश फर्किएका ३ सय ४९ जनालाई निगरानीमा राखिएको छ । फाल्गुन १ देखि चैत्र ९ गतेसम्म नेपाल फर्किएका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा र धुलिखेल अस्पतालमार्फत निगरानी गरिएको हो ।


जिल्ला विपद व्यवस्थापन समितिका फोकल पर्सन रहेका स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार स्थानीय तहबाट संकलित विवरणका आधारमा दैनिक ३ पटक टेलिफोन गरेर उनीहरुको अवस्थाबारे जानकारी लिने गरिएको छ । ‘स्वास्थ्य शाखामार्फत दैनिक सम्पर्क गरेर उहाँहरुको अवस्थाबारे सोधपुछ गर्छौं,’ झाले भने, ‘धुलिखेल अस्पतालको सामुदायिक शाखाले पनि सम्पर्क गरेर ५ प्रश्न सोध्दै क्रस चेक गर्ने गरेको छ ।


कुवेत, साइप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, मलेसियालगायतका मुलुकबाट जिल्लावासी स्वदेश फर्किएका छन् । पनौतीमा १ सय १, मण्डनदेउपुरमा ३८, पाँचखालमा ३५, बनेपामा ३४, रोशी गाउँपालिकामा २२, बेथानचोकमा २२, तेमालमा १८, नमोबुद्ध नगरपालिकामा १८, महाभारतमा १४, खानीखोलामा ११, चौरीदेउरालीमा १० र भुम्लुमा ३ जना फर्किएका छन् । उनीहरुमा केहीको स्वास्थ्य परीक्षण भए पनि कोरोना लक्षण नदेखिएकाहरु होम क्‍वारेन्टाइनमा छन् ।

प्रकाशित : चैत्र २२, २०७६ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?