नुवाकोटका अधिकांश क्वारेन्टाइन रित्तै

कृष्ण थापा

नुवाकोट — जिल्लामा कोरोना संक्रमण फैलन नदिन विभिन्न ठाउँमा क्वारेन्टाइन स्थल बनाइए पनि प्रायजसो रित्तै छन् । विदेश तथा जिल्लाबाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा ल्याउनै मुस्किल देखिएको छ । 

नुवाकोटका अधिकांश क्वारेन्टाइन रित्तै

१२ वटा स्थानीय तहमा क्वारेन्टाइनका लागि २७९ वटा शय्या तयार पारिएका छन् । ११ वटा क्वारेन्टाइन स्थल विद्यालयमा छन्, तिनमा १ सय ४ शय्या राखिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सबैभन्दा धेरै बेलकोटगढी नगरपालिकाले ७३ शय्या तयार पारेको छ । यहाँ चार विद्यालयमा क्वारेन्टाइन गरिए पनि कोही बसेका छैनन् ।

विदुरनगरपालिकामा ४४ शय्याका क्वारेन्टाइन छन् । शैक्षिक तालिम केन्द्र भवनस्थित क्वारेन्टाइनमा १७ जना क्वारेन्टाइनमा बसिरहेका छन् । यहाँ शौचालय, पानी र सुरक्षाको हिसाबले सुविधा छ ।

तारकेश्वर गाउँपालिकाले १९ बेड तयार राखेको छ । यहाँ एउटा क्वारेन्टाइन विद्यालयमा छ भने अरू स्वास्थ्यसंस्थामा छ । यो गाउँपालिकामा भारतबाट फर्किएका १ सय ५५ जना होम क्वारेन्टाइनमा छन् । ‘बनाएको क्वारेन्टाइन रित्तै छ,’ गाउँपालिका अध्यक्ष रमेश वस्तीले भने, ‘एक जना पनि बसेका छैनन् ।’ तारकेश्वरका एक जना शंकास्पदलाई त्रिशूली अस्पतालको आइसोलेसन पठाइएकोमा परीक्षण रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।

बाहिरबाट जिल्ला भित्रिएका र संक्रमणको आशंका भएका अधिकांशको चाहना घरमै बस्न देखिन्छ । त्यसैले उनीहरू गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका छैनन् । बाहिरबाट फर्किएका ४ सय ७ जना होम क्वारेन्टाइनमा छन् ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले त्रिशूलीस्थित तालिम केन्द्रको क्वारेन्टाइनमा श्रीमान्–श्रीमतीसमेत बसिरहेको बताए । महिलाका लागि छुट्याइएको त्रिशूली क्लिनिक जनसेवा अस्पतालको क्वारेन्टाइन पनि रित्तै छ । फागुन ३० देखि लकडाउनसम्ममा जिल्लामा ४ सय २५ जनाजति भित्रिएको तथ्यांक छ ।

‘क्वारेन्टाइनमा नबसे पनि कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न स्वास्थ्यकर्मीसहित वडामार्फत निगरानी गरेका छौं,’ प्रजिअ पोखरेलले भने ।

विदुर नगरपालिकास्थित अस्थायी प्रहरी पोस्टमा राखिएका १० शय्या भने प्रहरी कर्मचारीलाई छुट्याइएको छ । सुविधासम्पन्न यो नयाँ भवन प्रहरीले आफ्ना लागि राखेको हो ।


प्रकाशित : चैत्र २१, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?