१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भीमफेदी कारागारमा उच्च सतर्कता

दिन बिराएर कैदीबन्दीको तापक्रम जाँच, दुई कोठाको क्वारेन्टाइन तयार
प्रताप विष्ट

हेटौंडा — भीमफेदीस्थित कारागार कार्यालयले दिन बिराएर कैदीबन्दीको तापक्रम नाप्न थालेको छ । कारागारमा कोरोना संक्रमण फैलन नदिन कार्यालयले सतर्कता अपनाएको हो । 

भीमफेदी कारागारमा उच्च सतर्कता

१ हजार १ सय जनाको क्षमता भएको कारागारमा अहिले ९ सय ५७ कैदीबन्दी छन् । ‘सबैलाई एक/एक थान साबुन वितरण गर्नुका साथै एक दिन बिराएर ज्वरो नाप्ने काम गरिरहेका छौं,’ जेलर प्रकाश खनालले भने, ‘कैदीबन्दीलाई परिवार र आफन्तसँग भेटघाटमा निषेध गरिएको छ ।’

कामका सिलसिलामा कारागार पुग्ने बाहिरका व्यक्तिलाई समेत हात धोएर, स्यानिटाइजर र मास्क लगाएर मात्र प्रवेश गराइएको खनालले बताए । कैदीबन्दीमा कोरोना संक्रमणको लक्षण देखिए क्वारेन्टाइनमा राख्न दुईवटा कोठा तयार पारिएको छ ।


३५ जना छुट्न सक्ने

सर्वोच्च अदालतको पछिल्लो आदेशअनुसार भीमफेदी कारागारबाट ३५ कैदी छुट्न सक्ने अवस्थामा छन् । सर्वोच्चले चैत ७ गते कोरोना संक्रमणको जोखिमका बेला कारागारको चाप व्यवस्थापन गर्न एक वर्षभन्दा कम सजाय तोकिएकाहरूले त्यसबापतको जरिवाना तिरेर निस्कन सक्ने फैसला गरेको थियो । अहिलेसम्म पाँच कैदी जरिवाना तिरेर छुटेका छन् ।

कारागारप्रमुख खनालका अनुसार थप सात कैदीले जरिवाना तिरेर कैदमुक्त हुन निवेदन दिइसकेका छन् । मुलुकी फौजदारी संहिताले यसरी छुट पाउन दैनिक तीन सय रुपैयाँबराबर जरिवाना तिर्नुपर्ने र छुटेको व्यक्तिले तीन वर्षभित्र कैद सजाय हुने अर्को कसुर गरे उसलाई पहिले तोकिएको कैदसमेत थपेर सजाय गरिने उल्लेख छ ।


प्रकाशित : चैत्र २१, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?