कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैनिक १५ हजार लिटर दूध किसानको घरमै रोकियो

हेटौंडा — कोरोना भाइरस (कोभिड–१९) का कारण देशभर जारी लकडाउनको असर मकवानपुर जिल्लाका कृषि क्षेत्रमा पनि देखा परेको छ । लकडाउनका कारण मकवानपुर जिल्लामा दैनिक करिब १५ हजार लिटरभन्दा बढी दूध किसानको घरमै रोकिएको छ ।

दैनिक १५ हजार लिटर दूध किसानको घरमै रोकियो

मकवानपुर जिल्लाका करिब आठ हजार किसानका गोठबाट दैनिक ३५ हजार लिटरभन्दा बढी दूध संकलन गर्दै आएको जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमारमणि दाहालका अनुसार लकडाउनका कारण विशेषगरी काठमाडौं निर्यात हुने मात्रा घटेको छ । द्रधको निर्यात घटेसँगै सहकारीले दिन बिराएर किसानसँग दूध संकलन गरिरहेको दाहालले बताए ।

‘हामीले यस्तो समयमा दूधको खपत बढाउन मिल्क पाउडर उद्योग सञ्चालनको माग लामो समयदेखि गर्दै आएको भए पनि बेवास्ता भयो । जसको प्रत्यक्ष मारमा अहिले किसानहरुमाथि पर्‍यो,’ उनले भने । राज्यले पर्याप्त अनुदान पनि उपलब्ध नगराउने र यस्तो अवस्थामा पनि साथ नदिने हुँदा दूध उत्पादक किसानमा सधैं बन्द हड्ताललगायत विभिन्न परिस्थितमा मारमा पर्दै आएको उनले दाबी गरे ।

काठमाडौंका सातवटा उद्योगले दैनिक २० हजार लिटर दूध मकवानपुरबाट लैजाने गरेकोमा लकडाउनका कारण अहिले तीनवटा उद्योगले दैनिक १० हजारको हाराहारी दूध लैजाने गरेका छन् । मकवानपुरका किसानसँग संकलन गरिएको दूध सहकारी संघमार्फत् हेटौंडा औद्योगिक क्षेत्रस्थित दुग्ध वितरण आयोजनाले दैनिक पाँच हजार पाँच सय लिटर, हेटौंडा–१९, नेवारपानीस्थित हेटौंडा डेरी इन्डष्ट्रिजले दैनिक सात हजार लिटर दूध खरिद गरिरहेको दाहालले बताए ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध नभएका तर व्यावसायिक पशुपालन गर्ने, सिधै बजारका मिठाई पसलमा दूध बिक्री गर्ने किसान पनि प्रत्यक्ष मर्कामा परेका छन् । लकडाउनका कारण हेटौंडा बजार क्षेत्रमा रहेका डेरीहरुले घरघरमा विभिन्न सवारीमार्फत् पुर्‍याएर दूध बिक्री गरिरहेका छन् ।

प्रकाशित : चैत्र २१, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?