कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

हेटौंडामा आजबाट कोरोना परीक्षण

मकवानपुर — हेटौंडामा कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण परीक्षणका लागि ल्याब तमतयार राखिएको छ । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा बिहीबारबाट कोरोना परीक्षण गर्न लागिएको हो । 

हेटौंडामा आजबाट कोरोना परीक्षण

वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीका अनुसार अहिलेसम्म अस्पताल, क्वारेन्टाइन तथा आइसोलेसनबाट नमुना स्वाब आइसकेका छैनन् । ‘हामीले आन्तरिक रूपमा सम्पूर्ण तयारी गरिसकेका छौं, स्वाबहरू प्राप्त भएपछि क्रमशः नतिजा आउन थाल्नेछ’, उनले भने ।

संघीय सरकारले किट, औषधि र पीपीई उपलब्ध गराएको तीन दिनपछि परीक्षण सुरु भएको हो । ‘हामीसँग भाइरस, ब्याक्टेरिया, प्यारासाइटको प्रजाति अध्ययन गर्ने र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्ने पीसीआर मेसिन पाँच वर्षअघि नै थियो । तर, परीक्षण किट र आवश्यक जनशक्ति नहुँदा समस्या भइरहेको थियो,’ सुवेदीले भने ।

उक्त ल्याब सञ्चालन गर्न संघीय स्वास्थ्य मन्त्रालयको टोली हेटौंडा आएर अध्ययन गरेको थियो । ल्याबमा एकपटकमा ६० वटा नमुना परीक्षण गर्न सकिन्छ । परीक्षण थालिएको साढे दुई घण्टाजतिमा नतिजा प्राप्त हुन्छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टका अनुसार एकपटक परीक्षण गर्दा करिब १३ हजार रुपैयाँ लागत पर्छ । मन्त्रालयसँग करिब पाँच सय नमुना परीक्षण गर्न पुग्ने केमिकल छ ।


यसअघि विज्ञको अभावमा उक्त ल्याब प्रयोगमा आउन सकेको थिएन । २०७१ सालमा दाताको सहयोगमा स्थापित ल्याबमा अहिले टेक्निसियन निरीक्षक र असिस्टेन्ट गरी दुई जना मात्र प्राविधिक कर्मचारी छन् । ‘यो ल्याब नियमित सञ्चालन गर्ने हो भने हेटौंडामा भाइरस, ब्याक्टेरिया र प्यारासाइटको अध्ययन गरी उपचार सहज बनाउन सकिनेछ’, सामाजिक मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा. पुरुषोत्तम सेढाईंले भने ।

२०३५ सालमा स्थापित उक्त केन्द्रमा २१ जनाको दरबन्दी रहेकोमा प्राविधिकसहित १६ जना कार्यरत छन् । कार्यालयप्रमुख डा. यदुचन्द्र घिमिरे दुई साताअघि सरुवा भएपछि केन्द्र प्रमुखविहीन बनेको छ ।

प्रकाशित : चैत्र २०, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?