कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होम क्‍वारेन्टाइनमा हेलचेक्र्याइँ

रमेशकुमार पौडेल

चितवन — संघीय र प्रदेश सभाका सांसद तथा स्थानीय तहका प्रमुखहरु समेत सहभागी बैठकमा चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टराईले जिल्लामा होम क्वारेन्टाइनमा बसेका व्यक्तिको संख्याहरु मात्रै सुनाएनन् समस्याहरु पनि अवगत गराए ।

होम क्‍वारेन्टाइनमा हेलचेक्र्याइँ

प्रजिअ भट्टराईका अनुसार जिल्लाका सातवटै स्थानीय तहमा होम क्वारेन्टाइनमा बस्ने ४८७ जना छन् । तर त्यसरी बस्नेले नियम पालना गर्न हेलचक्रयाइँ गरेका छन् ।

‘तुलनात्मक रुपमा सहरमा भन्दा गाउँमा होम क्वारेन्टाइनमा बस्नेले नियम पालना गरेको भेटिन्छ । तर पूर्ण पालनाको अवस्था भने सन्तोषजनक छैन,’ प्रजिअ भट्टराईले भने । बुधबार भरतपुरमा क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनका लागि गठन भएको सल्लाहकार समूहको बैठकमा उनले लकडाउन र होम क्वारेन्टाइनलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने अपिल गरे ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी महामारी भएको छ । विदेशबाट आउने व्यक्ति अहिले सिधै समाज र परिवारसँग घुलमिल हुन पाउँदैन । पहिला १४ दिन भने पनि अहिले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले १७ दिन क्वारेन्टाइनमा बस्नु पर्ने नियम ल्याएको छ । चितवनमा क्वारेन्टाइन अर्थात् अन्यको सम्पर्कमा नआएर घरमै राख्ने काम भएको छ । सार्वजनिक क्वारेन्टाइनमा बस्न थालेका छैनन् ।

होम क्वारेन्टाइनमा बस्दा निश्चित नियमहरु पालना गर्छु भनेर सहीछाप गर्नु पर्दछ । त्यो पालना गरे नगरेको हेर्न अनुमगन हुने गरेको छ । स्थानीय तहका प्रमुखको संयोजकत्वमा अनुगमन समिति र जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सञ्चालन समिति गठन भएको छ । प्रजिअ भट्टराईले अनुगमनका लागि प्रहरीहरुसमेत पठाइरहेको जानकारी गराए ।

प्रहरी जाँदा समुदायसँग घुलमिल गरेर बसेको अवस्था धेरै पटक देखिएको बैठकका सहभागीले जानकारी दिए । गाउँमा एक अर्काले धेरैलाई चिन्ने हुँदा विदेशबाट आएको मान्छे कम्तीमा घरभित्रै बस्ने र क्वारेन्टाइनका सर्तहरु सकेसम्म पालना गर्ने गरेको बैठकका सहभागीले बताए । तर सहर बजारमा को कहाँबाट आएको हो भन्ने हेक्का अरुलाई खासै नहुने हुँदा क्वारेन्टाइनका नियम उल्लंघन हुने गरेको बैठकमा चर्चा भयो ।

गाउँका मान्छेहरु पनि निगरानी हुँदैन भनेर आफ्नो गाउँ छाडेर अन्य नौलो ठाउँमा गएर घुलमिल हुने खतरा बढेको पनि बैठकका सहभागीहरुले बताए । ‘चितवनभर पाँच सयको हाराहारीमा मात्रै विदेशबाट आए भनेर कसरी विश्वस्त हुने । अनि लुके छिपेकाहरुलाई पनि कसरी खोज्ने ? यो विषयमा वडा कार्यालयहरु सक्रिय भएर लाग्नुपर्ने देखिन्छ,’ प्रतिनिधि सभा सदस्य उमा रेग्मीले बैठकमा सुझाव दिइन् ।

जिल्लामा संक्रमित व्यक्तिहरु नदेखिएको हुँदा अहिलेसम्म घर बाहिर सामूहिक क्वारेन्टाइन नराखिएको तर यस्तो खाले क्वारेन्टाइनको आवश्यकता बढेको बैठकमा बताइएको थियो । ‘संक्रमित फेला परे अब होम क्वारेन्टाइन भनेर मात्रै नपुग्ला । संक्रमितको सम्पर्कमा रहेका सबैलाई निश्चित समयका लागि कडा क्वारेन्टाइनमा राख्नै पर्दछ । त्यसका लागि अहिल्यैबाट तयारी गरौं,’ प्रजिअ भट्टराईले भने ।

भरतपुरको सरकारी अस्पतालका अध्यक्ष तथा कोरोना विशेष अस्थायी अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले होम क्वारेन्टाइनलाई व्यक्तिहरुले हल्का रुपमा लिने गरेका कारण यो विषयमा संवेदनशील हुनुपर्ने राय राखे । ‘क्वारेन्टाइनमा बसेको मान्छे अरु सामान्य मान्छेसँग तास खेलेर बसेको प्रहरीले भेटेको छ । यसरी त क्वारेन्टाइनमा बसेको भन्ने अर्थ नै रहेन । त्यसैले सबै गम्भीर हुनु पर्दछ,’ डा.अधिकारीले भने ।

भारतमा लकडाउन हट्ने र रोगको संक्रमण पनि बढ्न सक्ने सम्भावना देखिँदै गएका कारण अब होम क्वारेन्टाइनको विकल्प खोज्नै पर्ने बेला आएको उनले बताए । ‘भारतमा लकडाउन खुल्यो वा खुकुलो भयो भने नेपालीहरु देश फर्कन खोज्छन् । यहाँ चाप बढ्छ । फेरि भारतमा रोगको संक्रमण घट्ला भन्ने लक्षण पनि छैन । त्यसैले नेपालले क्वारेन्टाइनलाई प्रभावकारी बनाउन अहिलेदेखि सोच्नु पर्दछ,’ डा.अधिकारीले सुझाव दिए ।

बैठकको अध्यक्षता गरेका प्रतिनिधि सभाका सदस्य कृष्णभक्त पोखरेलले होम क्वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई सार्वजनिक क्वारेन्टाइनमा राख्ने निर्णय भएको जानकारी दिए । ‘होम क्वारेन्टाइनको अनुगमनका लागि स्थानीय तहका पदाधिकारीहरु खट्नेछन् । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि साथमा रहनेछन्,’ उनले भने ।

प्रकाशित : चैत्र २०, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?