कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दोलखा लकडाउन डायरी : घरमै पुगेर तापक्रम नाप्नेदेखि निषेधाज्ञासम्म

राजेन्द्र मानन्धर

दोलखा — जिल्लाबाट थ्रोट स्वाब परीक्षण गर्न पठाइएका पाँचै जनाको नतिजा ‘नेगेटिभ’देखिएको छ । चरिकोट अस्पतालले बहिरंग सेवा बन्द गरेर आकस्मिक र ज्वरो क्लिनिक सञ्चालन गरिरहेको छ । अस्प्तालका प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. रीना लम्साल आकस्मिक सेवा लिन आएकामध्ये दैनिक आठ/दश जनामा ज्वरो देखिएको छ ।

दोलखा लकडाउन डायरी : घरमै पुगेर तापक्रम नाप्नेदेखि निषेधाज्ञासम्म

‘यो सिजनमा यसलाई सामान्य मान्न सकिन्छ,’ उनले भनिन् ।उनका अनुसार सामान्यतया यहाँ दैनिक तीनसय ५० जना बिरामी उपचारका लागि आउने गर्थे । त्यसमा ठूलो संख्या फ्लुका बिरामीको हुन्थ्यो । लकडाउनका कारण अहिले बिरामीको संख्या स्वात्तै घटेको छ ।

दोलखामा दुई नगरपालिका र ७ वटा गाउँपालिका छन् । सबै पालिकाको ध्यान कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिनेतर्फ छ । यसका लागि विभिन्न कार्यक्रम तथा उपाय अपानाइएको छ ।

लकडाउनपछि जिल्लाभर २४ वटा आइसोलेसन कक्ष निर्माण भएको छ । कोरोना संक्रमितको उपचार गर्न बनाइएका आइसोलेसन कक्षहरु मापदण्डविपरीत भएको चर्चा हुन थालेपछि केही गाउँपालिकाले यस्ता कक्षलाई क्वारेन्टाइन बनाएका छन् । क्वारेन्टाइनमा विदेशवाट आएका वा सम्भावित कोरोना संक्रमितलाई राखिनेछ । मंगलबारसम्म जिल्लाभर ३७ वटा क्वारेन्टाइन कक्ष तयार भइसकेका छन् । गाउँपालिकाहरुमा निर्मित क्वोन्टाइनहरुमा हालसम्म कसैलाई पनि राखिएको छैन । कतिपय भने क्वारेन्टाइन बस्न नमानिरहेको स्थानीय जनप्रतिनिधिहरुले बताइरहेका छन् ।

पूर्वतयारी

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार हाल एक सय जना स्वास्थ्यकर्मीलाई पुग्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र शरीरको तापक्रम नाप्ने ‘थर्मल गन’ २२ वटा मौज्दात छन् ।

जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको संयोजकत्वमा कोभिड–१९ जोखिम नियन्त्रण समन्वय समिति गठन भई कार्य थालनी भइसकेको छ । उक्त समितिले जिल्लाभित्रका स्थानीय तहका प्रमुखहरुको बैठक डाकी कोभिड–१९ विरुद्धको अभियानको समन्वय गरिरहेको छ । सबै स्वास्थ्य इकाइका प्रमुखहरुसँगको बैठकबाट हालसम्मका कार्य र पूर्वतयारीका उपायहरुबारे योजना बनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माको अध्यक्षक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक दिनहुँ बसिरहेको छ । नेपाली सेना, सशस्त्र, जनपद प्रहरीलाई समेत संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि विभिन्न योजनाहरु बनाउन र कार्यन्वयन गर्न सामेल गरिएको छ ।

नेपाली सेनाको तारादल गणले सदरमुकाम चरिकोटमा आवश्यक परेको अवस्थामा४० बेड क्षमताको क्वारेन्टाइन बनाउनसक्ने गरी तयारीमा बसेको जानकारी दिएको छ । आउनसक्ने थप समस्याका बारेमा पनि योजना बनाइरहेको तारादल गणका निकिल कुँवरले बताए ।

चरिकोट, जिरी, किर्ने र सिंगटीमा आइसोलेन कक्ष निर्माण गर्ने कार्य सुरु भएको छ । चरिकोटपछि जिरी अस्पतालमा कोरोनाको शंका लागेमा स्वाब संकलनको व्यवस्था गरिएको छ । जिल्लाभित्र सेवा दिइरहेका २१ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ ।

घरघरै पुगेर तापक्रम मापन

विभिन्न उपायहरुको खोजी गर्ने क्रममा स्वास्थ्यकर्मीहरुको बैठकले जिल्लाभरी घरघरै पुगेर जनताको शरीरको तापक्रम मापन गर्ने निर्णय भएको छ ।त्यसोगर्दा ज्वरोका बिरामीहरु स्वास्थ्य केन्द्र आउन नपर्ने र थप संक्रमण फैलन रोकिने बैठकको निष्कर्ष छ ।

खासगरी विदेशबाट आएका व्यक्ति, ज्वरो, रुघाकोकीका बिरामी भएको सूचनाका आधारमा स्वास्थ्यकर्मीहरु उपकरणसहित घरघर पुग्ने योजनाबनाइएको छ । उक्त योजना कार्यान्वयनमा जनशक्तिको अभाव हुने देखिएको छ ।

रातो झण्डाको संकेत

मेलुङ गाउँपालिकाले विदेशबाट आएकाको घरमा रातो झण्डा गाडेको छ । विदेशबाट आएकाको घरमा रातो भण्डा राख्नुको कारणबारे सामाजिक सञ्जालमा पोस्ट गर्दै अध्यक्ष नरबहादुर श्रेष्ठले विदेशबाट आएकाको घर पहिचान गर्ने पहिलो काम भएको उल्लेख गरेका छन् ।

उक्त घरलाई झण्डा राखिएको मितिदेखि १४ दिनसम्म सेल्फ क्वारेन्टाइनको रुपमा हेरिनेउनले बताए । विदेशबाट फर्किएका मानिसहरु स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्न इन्कार गरेपछि त्यस्तो उपाय अवलम्बन गरिएको हो । विदेशबाट आएकालाई थपलाई समेत आफ्नै घरमा बसाइने उनको भनाइ छ ।

विदेशबाट आउने २६१ जना

वडाअध्यक्षसहितको नेतृत्वमा हरेक दिन विदेशबाट आउनेको लगत संकलन र हेरचाह गरिन थालिएको छ ।मंगलबारसम्म जिल्लामा दुई सय ६१ जना विदेशबाट फर्किएका छन् । दैनिक फोन सम्पर्कबाटै तथ्यांक लिने काम भइरहेको कालिञ्चोक गाउँपालिकाकास्वास्थ्य शाखा प्रमुख सुशील श्रेष्ठले जानकारी दिए ।

जिरी नगरपालिका, वैत्येश्वर, तामाकोसी, गौरीशंकर र मेलुङ गाउँपालिकाले दैनिक विदेशबाट आएका व्यक्तिहरुको विवरण जिल्ला स्वास्थ्य कार्यालयमा अध्यावधिसमेत गरिरहेका छन् ।जसमध्ये दुई सय ४३ जना भारतबाट,दुबईबाट सात जना, कतारबाट तीन जना र अन्य मुलुकबाट आठ जना फर्किएका छन् ।भीमेश्वर नगरपालिका, विगु र शैलुङ गाउँपालिकाले भने विवरण पठाएका छैनन् । उक्त पालिकाहरुमा तथ्यांक संकलनको कार्य भइरहेको बताइएको छ ।


गाउँबस्तीमा माइकिङ र पर्चा

लकडाउनर कोरोना भइरसबारे सचेत गराउन गाउँगाउँमा माइकिङ र पर्चा बाँडिएको छ ।विगु गाउँपालिकाले सुरु गरेको यो अभियानले उक्त स्थानमा फैलिएको धार्मिक अन्धविश्वासलाई हटाउन सघाउ पुगेको बताइएको छ । त्यहाँ ‘दलाई लामाको विभूति खाँदा कोरोना नलाग्ने’ अफावह फैलाइएको थियो । एक स्थानीयका अनुसार माइकिङपछि उक्त अन्धविश्वासलाई मानिसहरुले विश्वास गर्न छाडेका छन् ।

जिल्लभर निषेधज्ञा

सहर र बजारमा सुरक्षाकर्मीको उपस्थितिका कारण लकडाउनको पालना भए पनि ग्रामीण क्षेत्रमा भने खासै प्रभाव नपरेको गुनासो आएपछि स्थानीय प्रशासनले चैत १८ बाटजिल्लामा निषेधज्ञा जारी गरेको छ । अत्यावश्यकबाहेक हिँडडुलमा प्रतिबन्ध लगाउँदै अवज्ञा भए कानुनअनुसार कारबाही हुनसक्नेछ । बाहिरबाटग्रामीण भेगमा फर्केकाहरुभेटघाट गर्दे भोजभतेर गर्ने,जुवातास खेल्ने, नाचगान गर्ने जस्ता क्रियाकलाप बढेपछि सोको नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।

प्रकाशित : चैत्र २०, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?