कोरोनाविरुद्ध वाग्मती प्रदेश: २५ सय बेडको क्‍वारेन्टाइन, ६ सय आइसोलेसन वार्ड

११० को मात्रै स्वाब परीक्षण
प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेशका १३ वटा जिल्लामा कोरोना भाइरसका (कोभिड—१९) रोकथाम, नियन्त्रण र उपचार गर्नका लागि २५ सय ३३  क्वारेन्टाइन र ६ सय १५ शय्या क्षमताको आइसोलेसन वार्ड निर्माण गरिएको छ ।

सबैभन्दा बढी आइसोलेसन वार्ड चितवनमा निर्माण गरिएको छ । १ सय ९६ वटा आइसोलेसन तयार भइसकेका छन् । १ सय ८२ शय्याको क्वारेन्टाइन निर्माण भइसकेको छ ।

चितवनस्थित कोरोना अस्पतालमा ९ जना आइसोलेसन वार्डमा छन । यसैगरी दोलखामा ५९ शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ भने १ सय १८ वटा बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । दोलखाका स्वास्थ्यकर्मीलाई ४८ थान पीपीई उपलब्ध गराइएको छ ।

सिन्धुलीका ९ वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएको छ । एक पालिकामा २ देखि ३९ सम्म क्वारेन्टाइन निर्माण गरिएको छ । सिन्धुलीमा १ सय ३ वटा क्वारेन्टाइन बेड तयार राखिएको छ । ५ वटा स्थानीय तहमा १४ वटा आइसोलेसन वार्ड निर्माण गरिएको छ । ४ वटा पालिकामा आइसोलेसन छैन । सिन्धुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा २ जनाको उपचार भइरहेको छ । उनीहरूको स्वाब परीक्षणका लागि बुधबार काठमाडौं पठाइएको छ । सेल्फ क्वारेन्टाइनमा १० जना बसेका त्यहाँका अधिकारीले जनाएका छन् ।

यसैगरी नुवाकोटमा १० वटा आइसोलेसन वार्ड र एक सय ९१ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । उक्त जिल्लामा विदेशबाट आएका १५ जना सेल्फ क्वारेन्टाइनमा छन् । उपत्याकासँग जोडिएको काभ्रे जिल्लामा २१ वटा आइसोलेसन वार्ड निर्माण गरिसकेको छ । नेपाली सेनालगायत स्थानीय तहको सक्रियतामा १ सय ४३ शय्याको क्वारेन्टाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

वागमती प्रदेशको दुर्गम जिल्ला रसुवामा २ सय १६ शय्याको क्वारेन्टाइन बनाएको छ भने ५२ शय्याको आइसोलेसन निर्माण गरिएको छ ।

यसैबीच सिन्धुपाल्चोकमा १४३ शय्याको आइसोलेसन वार्ड तयार पारिसकेको छ । २ सय १३ बेड क्वारेन्टाइन निर्माण गरिएको छ । गाउँपालिकाहरूले क्वारेन्टाइन थप निर्माण गरिरहेका छन्। रामेछापमा २ सय २७ शय्याको क्वारेन्टाइन निर्माण गरिसकेको छ । २९ शय्याको आइसोलेसन तयारी अवस्थामा छ । यस जिल्लाका तेस्रो मुलुकबाट आएका ३६ जना क्वारेन्टाइनमा छन् भने एक जना आइसोलेसन वार्डमा छन ।

धादिङमा ६ शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ । उक्त जिल्लामा ४६४ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । विभिन्न मुलुकबाट आएका स्थानीय ३ महिलासहित ६९ जना क्वारेन्टाइनमा छन् ।

मकवानपुरमा अहिलेसम्म १ सय ८६ बेडको क्वारेन्टाइन निर्माण गरिसकेको छ । ३० बेडको आइसोलेसन पनि तयारी अवस्थामा छ । यस प्रदेशको १३ वटा जिल्लामा ३ सय २० वटा आईसियू तयारी अवस्थामा रहेको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जानकारी दिए ।

विभिन्न जिल्लाका क्वारेन्टाइनमा ६ सय ५४ व्यक्ति बसिरहेका छन् । प्रवक्ता सुवेदीका अनुसार यस प्रदेशका विभिन्न जिल्लाका १ सय ३३ जनाको स्वाब परीक्षण गरेकोमा १ सय १० नतिजा आइसकेको छ । सबैमा कोरोनाको लक्षण नेगेटिभ देखिएको छ ।

२३ जनाको रिपोर्ट आउन बाँकी छ । सबैभन्दा धेरै चितवन जिल्लामा स्वाब परीक्षण गरिएको छ । ५४ जनाको स्वाब परीक्षण गर्न पठाएकोमा ४५ जनाको रिपोर्ट आएको सुवेदीले जनाए ।

प्रकाशित : चैत्र २०, २०७६ ०९:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउनका कारण इ–पासपोर्टको टेन्डर अवधि बढाइँदै

५ लाख एमआरपी मात्रै मौज्दातमा
देवेन्द्र भट्टराई

काठमाडौँ — इ–पासपोर्ट छपाइका लागि परराष्ट्र मन्त्रालयले एक महिनाअघि आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा १३ कम्पनीले सहभागी हुने सूचना दिएका छन् । तर, लकडाउनका कारण बोलपत्रको अवधि थप हुने संकेत देखिएको छ ।

४५ दिनको अवधि तोकिएको बोलपत्रमा सहभागी हुन इच्छुक कम्पनीका प्रतिनिधिसँग मंगलबार परराष्ट्र मन्त्रालयमा ‘भर्चुअल–मिटिङ’ आयोजना गरिएको थियो । ‘अहिले जारी लकडाउनको अवस्था र कोरोना भाइरसको सन्त्रासले सबैतिर असहज देखिएकाले दरखास्त दिने अवधि केही थप्न सकिने देखिएको छ,’ राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले कान्तिपुरसँग भने ।

अहिले तोकिएको बोलपत्रको म्याद वैशाख ५ सम्म मात्रै छ । मंगलबारको ‘प्री–बिड’ बैठकपछि सहभागी हुने कम्पनीले राखेका जिज्ञासाको विभागले ५ दिनभित्र जवाफ दिइसक्नुपर्नेछ । तर, बैठकमा नआउने कम्पनीले पनि बोलपत्रमा सहभागिता राख्न सक्नेछन् ।

परराष्ट्र स्रोतका अनुसार अहिलेको चरणमा चीन, फ्रान्स, यूएई, सिंगापुर, जर्मनीसहित मुलुकका १३ कम्पनी सहभागी हुँदै छन् । यो बोलपत्रमा तीन वर्षभित्र २० लाख प्रति एमआरपी उत्पादन गर्नुपर्ने सर्त छ । स्रोतका अनुसार अहिले नेपाललाई एमआरपी सेवा प्रदान गरिरहेको कम्पनी ओबरथर (हाल नाम परिवर्तित) र पछिल्लो समय सेक्युरिटी प्रिन्टिङ प्रेसमा जोडिएर विवादमा आएको फ्रेन्च कम्पनी इन– ग्रुपले पनि बोलपत्रमा प्रतिस्पर्धा गर्दै छन् ।

‘कन्फरेन्स–कल’ बैठकमा इन–ग्रुपका नेपाल प्रतिनिधि भने सहभागी थिएनन् । सेक्युरिटी प्रेस मामिलामा जोडिएको इन–ग्रुपको नेपाल प्रतिनिधिको जिम्मेवारी यति होल्डिङ्सले लिएको भन्दै सार्वजनिक लेखा समितिमा डेढ महिनाअघि चर्को बहस भएको थियो ।

यसअघि ५० लाख इ–पासपोर्ट छाप्ने प्रक्रियामा परराष्ट्र मन्त्रालयले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र गत कात्तिक २१ मा अन्तिम घडीमा आएर खारेज भएको थियो । मुलुकभित्रै सुरक्षण मुद्रण प्रेस स्थापना गर्ने प्रधानमन्त्री तहको निर्णय भए पनि स्थापनाको प्रक्रिया नै विवादमा परेपछि यो विषय अहिले संसदीय समिति हुँदै अख्तियारसम्म पुगेको छ । यस्तो अन्योलपछि गत फागुन ९ मा इ–पासपोर्टबारे अर्को चरणको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको हो ।

कोरोना सन्त्रासका कारण गत बुधबारबाट सरकारले लकडाउन घोषणा गरेपछि अहिले राहदानी विभागले पनि नियमित कामकारबाही बन्द गरेको छ । ‘अब हामीसँग झन्डै ५ लाखजति एमआरपी मौज्दात होला,’ विभागका एक अधिकारीले भने, ‘अहिलेकै हिसाबमा अब झन्डै ६ महिनाजति यो मौज्दातले सेवाग्राहीको माग धान्नेछ, त्यसपछि राहदानीको संकट देखिने स्थिति छ ।’

यी पनि पढ्नुहोस् :

प्रकाशित : चैत्र २०, २०७६ ०९:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×