१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लकडाउनको मारमा तरकारी किसान

हरिहरसिंह राठौर

धादिङ — मुलुकभरका १८ वटा ठूला तरकारी संकलन केन्द्र मध्येको एक धादिङको बेनीघाट चरौंदी तरकारी संकलन केन्द्र यतिखेर सुनसान छ । बाह्रै महिना दैनिक ४० देखि ५० टन ताजा तरकारी मुलुकका ठूला सहरमा पठाउने यो संकलन केन्द्र कोरोना भाइरस (कोभिड- १९)को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनले सुनसान बनेको हो ।

लकडाउनको मारमा तरकारी किसान

यो केन्द्रमा लकडाउन सुरु भएपछि दैनिक ५ टन तरकारी पनि संकलन हुँदैन । काठमाडौं, पोखरा, बुटवललगायत मुलुकका प्रमुख सहरमा तरकारी पठाउने यो संकलन केन्द्रमा लकडाउनपछि संकलन गरेको तरकारी पनि किसानले सस्तैमा बेच्दै आएका छन् ।

गत वर्षका यी महिना किलोको १ सय रुपैयाँ पर्ने हरियो काक्रो, हरियो मटर कोसा, लौका अहिले ३० देखि ४० रुपैयाँमा बेच्न पनि गाह्रो भइरहेको छ,’ चरौंदीस्थित कृषक सुधार फलफूल तथा तरकारी संकलन केन्द्रका बजार व्यवस्थापक रेशम उप्रेतीले भने ।

उप्रेतीका अनुसार संकलन केन्द्रबाट तरकारी उठाएर काठमाडौं लगायतका सहरमा लैजाने व्यापारी आउन छोडेका छन् । ‘संकलन केन्द्रमा ठूला ट्रक लिएर नियमित तरकारी लिन आउने व्यापारी लकडाउनमा परेपछि किसानले गाउँबस्तीबाटै साना जीपमा लिएर पोखरा काठमाडौं लिएर गए पनि भाउ नपाएर तरकारी छोडेर आइरहेका छन्,' उनले भने ।

सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति गर्ने व्यवस्था गर्ने भने पनि लकडाउनको प्रत्यक्ष प्रभाव भने धादिङका बेमौसमी तरकारी उत्पादक किसानमा परेको छ । कोरोना नियन्त्रणका लागि मंगलबारदेखि गरिएको लकडाउनले छिटै नष्ट हुने तथा दैनिक अत्यावश्यकीय वस्तु दूध, फलफूल, तरकारीलगायतले बजार पाएका छैनन् ।

बिनाअनुमति ढुवानीका साधन रोकिने भएकाले कृषि उपज आपूर्ति गर्ने निजी साधन चल्न नपाउँदा आपूर्तिकर्ता अन्योलमा परेका हुन् । 'रोग नियन्त्रणका लागि सरकारले लिएको कदमको हाम्रो साथ र सहयोग छ, अत्यावश्यकीय वस्तु आपूर्तिमा हामी प्रतिवद्ध छौं,' वेनीघाट स्थित गणेश सहकारी केन्द्रका केशवराज नहर्कीले भने, 'कुन समयमा वा दिनभर नै थोक तथा खद्रा पसल खोल्ने हो भन्ने अन्यौल छ बिनापास ढुवानीको साधन गुड्न नपाएको र पास बनाउन समन्वयको अभाव हुँदा अन्योलमा छौं ।' उपभोक्ताले पनि तीन–चार दिन पुग्ने मात्रै स्टक गर्न सक्ने भएकोले थप सहजीकरण नभएमा भने तरकारी तथा फलफूल आपूर्तिमा समस्या आउने उनले बताए ।

जिल्लाका ठूला तरकमारी संकलन केन्द्रहरू चरौंदी, विशालटार, मलेखु, गजुरी, आदमघाट, धार्के, थाक्रे लगायतका तरकारी संकलन केन्द्र यतिखेर सुनसान छन् ।

प्रकाशित : चैत्र २०, २०७६ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?