२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कोरोना अस्थायी अस्पताल भरतपुर अस्पताल मातहत रहने

के-के छन् चितवनको तयारी र पूर्वाधार ?
रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकाको पहलमा स्थापना भएकाे कोभिड १९ (कोरोना) अस्थायी अस्पताल अब भरतपुर अस्पताल मातहत रहने भएको छ ।

कोरोना अस्थायी अस्पताल भरतपुर अस्पताल मातहत रहने

सरकारले मंगलबारमात्रै डा. भोजराज अधिकारीलाई भरतपुर अस्पतालको अध्यक्ष नियुक्त गरेको छ । अस्पतालकै जनरल फिजिसियन डा‍. अधिकारी कोरोना अस्थायी अस्पताल स्थापनामा सक्रिय थिए । उनी अस्थायी अस्पतालका प्रवक्ता समेत थिए ।

अधिकारीले कोरोना विशेष अस्पताललाई पनि भरतपुर अस्पतालकै मातहत ल्याइने बताए । ‘कोरोनाको जोखिमलाई कम आँक्न हुँदैन । यसका लागि पूर्वाधार तयार गर्ने, उपकरण जुटाउने, चिकित्सक र अन्य स्वास्थ्यकर्मी तथा बिरामीका लागि सुरक्षा पोसाक, औजार व्यवस्थापनमा लाग्नु नै अहिलेको मुख्य काम हो । म यसैमा केन्द्रित हुनेछु,’ उनले भने ।

६१ को परीक्षण, सबै नेगेटिभ

चितवनमा अहिलेसम्म शंकास्पद ६१ जनामा कोरोना परीक्षण गरिएकोमा सबैमा नेगेटिभ देखिएको छ । झन्डै सात लाख नागरिक रहेको चितवनले आसपास जिल्लाका अन्य १० लाखजतिलाई उपचार सेवा दिँदै आएको छ । त्यसैले जतिमा कोरोना परीक्षण गरियो, त्यति मात्रको परिणामले ढुक्क हुने अवस्था नभएको जानकारहरु बताउँछन्।

चितवन मेडिकल कलेजका सञ्चालक डा. हरीश न्यौपाने परीक्षण पर्याप्त नभएकाले जिल्लामा कोभिड–१९ को वास्तविकता थाहा पाउन अझै ८–१० दिन लाग्ने बताउँछन् । ‘चितवन र आसपास जिल्लाबाट विदेशमा पढ्न जाने विद्यार्थी अत्यधिक छन् । यस बेला उनीहरूमध्ये केही न केही त पक्कै घर आए । रोजगारीका लागि विदेश जाने पनि धेरै नै छन् । उनीहरू पनि आएकै होलान्,’ उनले भने । संक्रमण फैलिएका देशबाट भर्खरै फर्किएकाहरू संक्रमित भए उनीहरूमा लक्षण देखिन अझै दुई–चार दिन लाग्ने न्यौपाने बताउँछन् ।


भरतपुर अस्पतालले माघ १८ गते कोरोना उपचारका लागि पाँच शय्याको आइसोलेसन वार्ड बनाएको थियो । फागुन २९ मा संख्या बढाएर १९ पुर्‍यायो । अहिले आइसोलेसन वार्डमा ३० शय्या छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले आफूहरूले सम्भावित जोखिमलाई ख्याल गरेर पहिल्यैदेखि नै काम गर्दै आएको बताए ।


अरूले के–के गरे ?

कोरोनाको जोखिम बढ्दै जाँदा चितवन प्रशासनले जिल्लामा कम्तीमा ७५ शय्याको आइसोलेसन वार्ड बनाउने तयारी गर्‍यो । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले २०/२० गरेर ६० र अन्य निजी अस्पताल र नर्सिङ होमले बाँकी १५ शय्या तयार गर्नुपर्ने निर्देशन थियो । यो निर्देशनपछि कोरोना उपचारका लागि छुट्टै अस्पताल बनाउने तयारी सुरु भयो ।

चैत ७ देखि भरतपुरमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा आयो जहाँ जनरल वार्डमा ५० तथा आइसीयू र एचडीयूमा १०/१० शय्या छन् । विशेष अस्पतालमा वीरगन्जका सन्तोष यादवको मृत्यु भयो । यद्यपि उनमा कोरोना संक्रमण पुष्टि भएन ।

लुपस नामको रोगका बिरामी उनलाई चितवन मेडिकल कलेजले कोरोना अस्पताल पठाएको थियो । त्यहीँ उनको निधन भएपछि कोरोना अस्पतालको कमजोर अवस्था र मेडिकल कलेजको भूमिकाको आलोचना हुन थाल्यो । कोरोना अस्पतालका लागि नेपाल चिकित्सक संघको तत्त्वावधानमा गठित विज्ञ समितिले उपचारसम्बन्धी निर्देशिका (प्रोटोकल) तयार गरेको थियो ।

मेडिकल कलेज सञ्चालक न्यौपाने त्यही प्रोटोकलअनुसार यादवलाई कोरोना अस्पताल पठाइएको बताउँछन् । उनको भनाइलाई आधार मान्दा छुट्टै विशेष अस्पताल तयार भएपछि अस्पतालले आइसोलेसन वार्ड नबनाएको देखिन्छ । तर लक्षण मिलेकै आधारमा कोरोना अस्पताल पुगेको व्यक्तिलाई आकस्मिक रूपमा विशिष्ट उपचार दिन परे के गर्ने भन्ने अलमलले यादवको ज्यान गयो ।

जिल्लाभरका अस्पतालले लक्षण मिलेका आधारमा बिरामीलाई कोराना अस्पताल पठाउँछन् । विज्ञ समितिले बनाएको प्रोटोकलअनुसार नै बिरामी पठाउने गरिएको निजी अस्पताल सञ्चालकको दाबी छ । परीक्षणका लागि कोरोना अस्पताल जाने व्यक्ति पुरानो र जटिल रोगका कारण नाजुक अवस्थामा पुगे उसको उपचार भरतपुरको सरकारी अस्पतालले गर्ने निर्णय भएको उनीहरू बताउँछन् ।

‘त्यस्तो अवस्थामा सबै र सधैं भरतपुरको सरकारी अस्पतालले मात्रै उपचार गर्नुपर्छ भन्ने पनि होइन । कम्तीमा २० जना व्यक्ति आउँदासम्म भरतपुर अस्पतालबाट गरौं । त्यसपछि मेरो मेडिकल कलेज तयार छ । बिरामी बढदै जाँदा हामी हेरेरै त बस्दैनौं नि,’ चितवन मेडिकल कलेजका सञ्चालक डा. न्यौपानेले भने ।

यस्ता छन् पूर्वाधार

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार यहाँका सबै अस्पतालमा गरी २४ सय ८० शय्या छन् । ‘अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिने र अनुगमनको काम अगाडि बढाइरहेका छौं । भरतपुर अस्पताल, दुईवटा मेडिकल कलेजलाई सुरुवातमा प्रयोग गर्ने रणनीति छ । त्यसपछि सय शय्या र अनि ५० शय्याका अस्पताललाई उपचारका लागि प्रयोग गर्नेछौं,’ उनले भने ।

संक्रमितको अवस्था जटिल बनेको अवस्थामा भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आईसियू) आवश्यक हुन्छ । तिवारीका अनुसार चितवनमा क्यान्सर अस्पतालबाहेकमा १९६ वटा आईसीयू छन् । भेन्टिलेटरसहितका आईसीयू ८० वटा छन् । थप २० वटासम्म भेन्टिलेटर थप्न सकिने अवस्था रहेको तिवारीले बताए ।

निजी अस्पताल र मेडिकल कलेजका सञ्चालक पीपीई र सुरक्षित मास्कजस्ता आधारभूत वस्तुसमेत पाउन नसकेको गुनासो गर्दै आएका छन् ।

‘जिल्लाको स्रोत–साधन र जनशक्ति अधिकतम प्रयोग गर्ने नै छौं । तर अहिलेको आवश्यकता संक्रमण नै नफैलियोस् भनेर चनाखो र सजग रहने हो । यसका लागि लकडाउन र होम क्वारेन्टाइनलाई प्रभावकारी बनाऊँ,’ स्वास्थ्य कार्यालय प्रमुख तिवारीले अपिल गरे ।

प्रकाशित : चैत्र १९, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?