१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

थपिएका क्‍वारेन्टाइनमा पीपीई अपुग  

हरिहरसिंह राठौर

धादिङ — यहाँका सबै स्थानीय तहले धमाधम क्वारेन्टाइनको व्यवस्थापन गरेपनि बस्न आउनेको संख्या न्यून छ । लकडाउन पछि वैदेशिक रोजगारी र भारतबाट फर्केकाको संख्या करिब १२ हजार आंकलन गरिए पनि ४६ जना मात्रै क्वारेन्टाइनमा बस्न रुचाएका छन् ।

थपिएका क्‍वारेन्टाइनमा पीपीई अपुग  

बाँकी सम्पर्कविहीन छन् । संघीय सरकारको निर्देशनमा स्थानीय तहले क्वारेन्टाइन बनाएका हुन् । जिल्लामा १३ स्थानीय तहले ३५९ र सुरक्षा निकायले ८० गरी ४३९ वेडसहित क्वारेन्टाइन तयार पारेका छन् ।


दुर्गम गाउँपालिका रुवीभ्यालीले तीनवटा विद्यालयमा २८ वटा र एउटा स्वास्थ्य संस्थामा चार गरी ३२ वेडको क्वारेन्टाइन बनाएको छ । स्वास्थ्यकर्मी र सहयोगी गरी ३३ कर्मचारीलाई २० वटा साधारण बुट बाहेक एप्रोन उपलब्ध गराइएको छ । खनियावास गाउँपालिकामा कार्यरत कर्मचारीलाई लगाउने पीपीई र ज्वरो नाप्ने डिजिटल थर्ममिटर नभएको र १४ जना स्वास्थ्यकर्मीका लागि पाँच थान पीपीई उपलब्ध रहेको स्वास्थ्य संयोजक आइतबहादुर तामाङले बताए । पालिका भित्रिने नाकाहरु लक गरिएको र आएकाहरुलाई ज्वरो नापेर प्रवेश गराएको र चार स्थानमा २० बेडको क्वारेन्टाइन तयार गरेको उनले जनाए ।


यसैगरी, नेत्रावती दवजोङ गाउँपालिकाले २५ वेडको क्वारेन्टाइन तयार गरेको छ । ११ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । कतारबाट आएका एकसहित ३ जना र सुनौलीबाट आएका ४ जनालाई धादिङबेंसीस्थित क्वारेनाइनमा राखिएको छ । गजुरी गाउँपालिकास्थित एउटा विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ । त्यहाँ खटिएका १४ स्वास्थ्यकर्मी र सहयोगीसंग सात थान पीपीई मात्र रहेको छ ।


गंगाजमुना गाउँपालिकामा ५० वेडसहितको क्वारेन्टाइन तयार गरेको छ । स्वास्थ्यकर्मी र सहयोगीसहित ४८ जनाका लागि २५ थान साधारण किसिमको पीपीई उपलब्ध गराइएको छ । त्रिपुरासुन्दरी गाउँपालिका पालिकास्तरमा २० वेड र वडास्तरमा ३५ वेड क्वारेन्टाइन तयार गरेको छ ।


तर अहिलेसम्म कोही नबसेको र पााच वेडको आइसोलेसन वेड तयार पारेको त्रिपुरासुन्दरीका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले बताए । ६० जना कर्मचारीलाई २५ सेट पीपीई उपलब्ध छ । भारत सहितका अन्य मुलुकबाट आउने ३६ जना गाउँपालिकाको सर्म्पकमा रहेको र उनीहरुलाई स्वास्थ्यकर्मीले निगरानीमा राखेको श्रेष्ठले बताए ।


ज्वालामुखी गाउँपालिकाले १८ वेडको क्वारेन्टाइन बनाएको छ । ४० जना कर्मचारीलाई २८ थान पीपीई उपलब्ध छ । भारत सहितका देशबाट आउने ७२ जना होम क्वारेन्टाइनमा बसेका छन् । अरुको पनि पहिचान गर्ने काम भईरहेको त्यहाँका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताए । जिल्ला सदरमुकाम समेत रहेको नीलकण्ठ नगरपालिकाले ३५ वेडको क्वारेन्टाइन बनाएको छ । १८ जनालाई क्वारेन्टाइनमा राखेको छ । १० जना नीलकण्ठ नगरपालिका ६ वडाका हुन् भने आठ जना नेत्रावती दवजोङ गाउँपालिकाका हुन् । ४४ जना कर्मचारीलाई ३४ थान पीपीई उपलब्ध छ ।


यसैगरी, नगरपालिका पर्ने खुलामञ्चमा सुरक्षा निकायले टेन्ट हालेर ८० वेडको क्वारेन्टाइन बनाएपनि अहिलेसम्म कोही बस्न आएका छैनन् । सिद्धलेक गाउापालिकामा १० बेडको क्वारेन्टाइन बनाएको छ । १८ जना कर्मचारीलाई एक थान पनि पीपीई नभएको सिद्धलेकका स्वास्थ्य संयोजक रामप्रसाद सिलवालले बताए । विदेशबाट कति आए त्यसको लेखाजोखा राख्न र पहिचान गर्ने काम भइरहको उनले जनाए । बेनीघाट रोराङ गाउँपालिकाले पृथ्वी राजमार्गमा क्लोरिन झोल स्प्रे गरेको छ । ३२ वेडको क्वारेन्टाइनमा २ जना बसेका छन् । ३४ जना कर्मचारीलाई १५ सेट पीपीई मात्र उपलब्ध गराइएको बेनीघाटका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले बताए ।


गजुरी गाउँपालिकाले क्लोरिन झोल सडकमा स्प्रे गर्ने तयारी गरेको छ । २० वेडको क्वारेन्टाइन बनाएको छ । ७ जना विदेशबाट आएकाहरु निजी घरमै क्वारेन्टाइनमा बसेको स्वास्थ्य संयोजक डाक्टर रामहरी रेग्मीले बताए । ४५ जना स्वास्थ्य सम्बन्धी कर्मचारीलाई १० सेट पिपिइ उपलब्ध छ । गल्छी गाउँपालिकाले २५ वेडको क्वारेन्टाइन बनाएकोमा १८ जना बसेका छन् । ४३ जना कर्मचारीलाई २७ थान पीपीई उपलब्ध रहेको स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवालीले बताए ।


थाक्रे गाउँपालिकाले ३२ वेडको क्वारेन्टाइन बनाएको छ । भारतीय नागरिक आठ जना सहित २३ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । ४७ जना स्वास्थ्य सम्बन्धी कर्मचारीलाई पाँच थान पीपीई र ३० थान गाउन उपलब्ध भएको त्यहाँका स्वास्थ्य संयोजक रविन्द्र पाण्डेले बताए । धुनीबेंसी नगरपालिकाले ५२ वेड क्वारेन्टाइन बनाएको छ । विभिन्न देशबाट फर्केका १९ जना निजी क्वारेन्टाइनमा बसेको धुनीबेंसी स्वास्थ्य संयोजक ध्रुवकुमार अधिकारीले बताए । ४२ जना स्वास्थ्यकर्मी र सहयोगीलाई १४ थान पीपीई उपलब्ध गराएको उनले जनाए ।

प्रकाशित : चैत्र १८, २०७६ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?