दुबईबाट आएका एकलाई ज्वरो आएपछि आइसोलेसनमा 

कृष्ण थापा

नुवाकोट — कोरोना भाइरस (कोभीड–१९) संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै विदुरमा एक जनालाई आइसोलेसनमा राखिएको छ । नुवाकोटमा शंकास्पद बिरामीलाई आइसोलेसनमा राखिएको यो पहिलो घटना हो ।


ज्वरो र रुखाखोकी लागेपछि उनलाई सोमबार त्रिशूली अस्पतालमा बनाइएको आइसोलेसनमा राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेममार राईले बताए । उनको स्वाबको नमुना लिई परीक्षणका लागि टेकु पठाइएको राईले जानकारी दिए ।


गत चैत ६ मा उनी दुबईबाट एयर अरेबियाको विमानमा काठमाडौं उत्रिएका थिए । सरकारले ‘लकडाउन’ गरेपछि उनी घरमै क्वारेन्टाइनमा बसेका थिए ।


त्यसैगरी, शिवपुरी गाउँपालिका–१, तलाखुका एक जनालाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि त्रिशूली अस्पतालले एम्बुलेन्समार्फत काठमाडौंको टेकु अस्पताल लगेको छ ।


विदेशबाट आएका ११ जना क्वारेन्टाइनमा

विदेशबाट ११ जनालाई विदुर नगरपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको छ । विदुर–१, त्रिशूलीको शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा भारतबाट आएका सात जना र दुबईबाट आएका ४ जनालाई राखिएको छ । उनीहरुमध्ये १० जना विदुरकै स्थानीय हुन् भने एक जना तादी गाउँपालिकाका छन् ।


घरमा सुरक्षित भएर नबसेपछि उनीहरुलाई शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।


विदेशबाट आएकामध्ये दुई जनालाई भने क्वारेन्टाइनमा नराखी घर फर्काइएको छ । उनीहरुमध्ये एक विदुर–५ का र अर्का ९ नम्बर वडाका छन् । जिल्लामा घरमै क्वारेन्टाइनमा बस्नेको संख्या एक सय ६२ जना पुगेको जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका पोखरेलले जानकारी दिए । विदेशबाट फर्किका जिल्लावासीको लगत लिन १२ वटै स्थानीय तह र ८८ वटा वडा नै खटिएका छन् ।


लकडाउनका कारण जिल्लाका पासाङ ल्हामु राजमार्ग, त्रिशूली–गल्छी र छहरे–गुर्जेभन्ज्याङ सडक सुनसान छन् । बजार क्षेत्रका सडक किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सडकमा बढीजसो एम्बुलेन्स चलेका छन् । आइतबारबाट स्थानीय प्रशासनले अतिआवश्क सवारीलाई प्रयोजन खुलाएर पास उपलब्ध गराउन थालेको छ ।


प्रकाशित : चैत्र १७, २०७६ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मजदुरलाई घर पठाउन सवारी पास

कृष्ण थापा

नुवाकोट — बाहिरी जिल्लाबाट आएर विकास निर्माण खटिएका र इँटा भट्टामा कार्यरत मजदुरलाई घर फर्काउन जिल्ला प्रशासन कार्यालयले सवारी पास वितरण गर्न थालेको छ । सोमबार अपरान्हसम्म साढे चार सय वटा पास वितरण भएको प्रशासनले जनाएको छ । 

‘काम नभएर अलपत्र परेका कामदारलाई सम्बन्धित आयोजना वा इँटा भट्टले नै उनीहरुको घरसम्म पुर्‍याउने गरी पास दिइएको हो,’ प्रजिअ द्रोण पोखरेलले भने । जिल्लामा विद्युत आयोजना, सडक निर्माण र इँटा भट्टामा गरी करिब चार हजारको संख्यामा बाहिरी जिल्लाका कामदार नुवाकोटमा कार्यरत रहेका स्थानीय प्रशासनले जनाएको छ ।

मजदुरहरुको संख्या इँटा भट्टामा बढी छ । लकडाउन थपिएपछि उनीहरुको जीवनयापन कष्टकर नहोस् भनेर घरसम्म पठाउन लागिएको नुवाकोट इँटा व्यवसायी संघका अध्यक्ष जयबहादुर लामाले बताए । जिल्लामा सानाठूला गरी तीन हजार पाँच सयभन्दा बढी कामदार इँटा भट्टामा काम गर्छन् । ७ वटा इँटा उद्योग दर्ता गरी चलाइएको छ भने दर्ता हुन बाँकी आधा दर्जनभन्दा बढी छन् ।

त्यसैगरी, सोलार प्यानल, विद्युत आयोजनाहरु, १२ वटा स्थानीय तहमा निर्माण भइरहेका सडक, कुलो, टेवापर्खाल लगाउने, पुल निर्माण लगायतमा मजदुरहरु कार्यरत छन् । उनीहरु अधिकांश तराई र भारतका हुन् ।

प्रकाशित : चैत्र १७, २०७६ २१:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×