कोरोनासँग लड्न स्थानीय तहका लागि वाग्मती प्रदेशद्वारा राहत घोषणा

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्ध प्रभावकारी काम गर्नका लागि स्थानीय तहहरूलाई सहयोगस्वरुप उपलब्ध गराउने रकम घोषणा गरेको छ ।

कोरोनासँग लड्न स्थानीय तहका लागि वाग्मती प्रदेशद्वारा राहत घोषणा

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि– २०७६ स्वीकृत गर्नुका साथै स्थानीय तहका लागि सहयोग रकमसमेत घोषणा गरेको हो ।

प्रदेश मन्त्रिपरिषद् बैठकले वाग्मती प्रदेशमा रहेका १ सय १९ वटा स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिलाई उक्त घोषणा गरिएको रकम उपलब्ध गराइने आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । उनका अनुसार महानगरका समितिलाई २० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख रुपैयाँ दिने निर्णय भएको छ ।

प्रदेश अन्तर्गत १३ जिल्ला समन्वय समितिमा बनाएको सहयोग कोषमा ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सो रकम कोरोना संक्रमण रोकथाम एवम् उपचार, आइसोलेसन तथा क्वारेन्टाइन निर्माण, मेडिकल सामग्री खरिद, विपन्‍न परिवारलाई राहतका लागि प्रयोग गर्नसक्‍ने मन्त्री जम्कट्टेलले जानकारी दिए ।

मन्त्रिपरिषद्‍बाट कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधी–२०७६ स्वीकृत पारित भएसँगै मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार अनुदान रकम तत्काल स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।

‘प्रदेश सरकारले कोरोना भाइरस संक्रमण विरुद्धमा गरिरहेको कामबारे पनि बैठकमा छलफल भएको थियो । अहिलेसम्मका प्रगति र अब गर्नुपर्ने कामको बारेमा छलफल भयो’, ढुंगेलले भने ।

संघीय सरकारबाट प्रदेशले माग गरेको मेडिकल सामग्रीहरू सोमबारसम्ममा प्राप्त हुने जानकारी आएको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र १७, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?