कमलामाईका मेयरले भने- ‘तपाईंहरू घरभित्र बस्नुस्, बाहिरको जिम्मा मेरो’

विपन्‍नलाई खाद्यान्‍न
राजकुमार कार्की

सिन्धुली — मुखमा मास्क, हातमा पञ्जा लगाएर बजारमा कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री निस्किए । पछिपछि वारुण यन्त्र थियो । कतिपयले कतै दुर्घटना त भएन भनेर शंका गरे । तर धेरैलाइ थाहा थियो कीटाणुनाशक औषधि छर्कने कार्यक्रम ।

कमलामाईका मेयरले भने- ‘तपाईंहरू घरभित्र बस्नुस्, बाहिरको जिम्मा मेरो’

मेयर खत्रीले माढी बजारको पुछारबाट डिसइन्फेक्टेन्ट स्प्रे छर्किन सुरु गरे । वारुण यन्त्रमा ल्याइएको कीटाणुनाशक औषधि डिसइन्फेक्टेन्ट मेयर आफैंले माढीबजारका घर, चौक, सटर र सम्भावित जोखिमका स्थानहरूमा खटेर छर्किए । धेरै कामदार ल्याएर भिडभाड गर्नुभन्दा आफैं समेत खटेर कमलामाई नगरपालिकालाई कोरोना संक्रमण मुक्त बनाउन लागि परेको मेयर खत्रीले बताए ।

'विपत्‌को समयमा कता कामदार खोजिरहनू, सक्ने काम आफैं गर्नुपर्छ,' उनले भने, ‘सबै मिलेर सामना गर्ने हो ।’ उनले नगरवासीलाइ घरभित्र बसेर गुन लगाइदिन आग्रह गरे । 'तपाईंहरू घरभित्र बसिदिनुस्, बाहिरको जिम्मा मेरो भो,' उनले थपे ।

सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकामा जिल्लाका ९ वटै स्थानीय तहका मानिस बसोबास गर्ने भएकाले आउजाउ बढी हुने र जोखिम कम गर्न पुरै बजार क्षेत्रमा डिसइन्फेक्टेन्ट छर्किने उनले जनाए ।

सदरमुकामका २ नम्ब बजार, १ नम्ब बजार, स्टल, धुराबजार, लोकतान्त्रिक चोक, सरकारी कार्यालयहरू, मिलनचोक, शन्तिनगर, रातमाटा, ढुंग्रेबास लगाएतका क्षेत्रमा किटनाशक औषधि छर्किने कार्यक्रम रहेको छ ।

नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालका अनुसार कोरोना भाइरस (कोभिड१९) सक्रमण सम्भावित जोखिमयूक्त स्थानहरू पहिचान गरेर कीटाणुनाशक औषधि छर्किने योजना छ ।

विपन्‍नलाई खाद्यान्‍न

यसैबीच कमलामाई नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्दै आएका विपन्‍न परिवारलाई खाद्यान्न वितरण गर्ने भएको छ । सूचना अधिकारी ढकालका अनुसार नगर क्षेत्र भित्रका विपन्न परिवारको लगत संकलन भइरहेको र पहिचान गरी घरमै खाद्यान्‍न पुर्‍याउने व्यवस्था मिलाउन लागिएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?