धादिङबेंसीमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किन सुरु 

हरिहरसिंह राठौर

काठमाडौँ — कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलन नदिन धादिङ सदरमुकाम धादिङबेंसीमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किन सुरु गरिएको छ । बजार क्षेत्रलाई जिवाणुमुक्त बनाउन भन्दै नीलकण्ठ नगरपालिकाले यहाँका विभिन्न चोक तथा टोलमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किएको हो । 

धादिङबेंसीमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किन सुरु 

धादिङका विभिन्न बस्तीमा आउजाउ गर्न सदरमुकाम क्षेत्र पुग्नुपर्ने भएकोले शनिबार पुछारबजारदेखि सिरानबजारसम्मै उक्त किटनाशक औषधि छर्किएको छ ।


यसैबीच कोरोना संक्रमण देखिएकी फ्रान्सबाट आएकी युवतीसँग कतार एयरवेजमा आएका धादिङका चार जनामध्ये दुई जना पनि घरमै क्वारेन्टाइनमा बसेका छन् । गजुरी गाउँपालिका–२ का सुधा पन्त र सीताराम पन्त स्थानीय स्वास्थ्यकर्मीको रेखदेखमा घरमै क्वारेन्टाइनमा बसेका गाउँपालिका अध्यक्ष राजेन्द्रविकक्रम बस्नेतले बताए ।


भारतीय नाका सुनौलीबाट पाँच दिन लगाएर धादिङबेंसी आइपुगेका नीलकण्ठ–१, भदौरेका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । योसँगै सदरमुकामस्थित क्वारेन्टाइन कक्षमा बस्नेहरुको संख्या १८ पुगेको छ । विदेश तथा भारतबाट फर्केका उनीहरुलाई सदरमुकामस्थित डिभिजन वन कार्यालयको नवनिर्मित भवनमा बनाइएको क्वारेन्टाइन कक्षमा राखिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताए ।


स्थानीयद्वारा झोलुङ्गे पुल बन्द

गोरखाको गण्डकी–७, घ्याल्चोकलाई पृथ्वी राजमार्गसँग जोड्न त्रिशूली नदीमा निर्माण गरिएको झोलुङ्गे पुल स्थानीयले बन्द गरिदिएका छन् ।


धादिङको वेनीघाट रोराङ–९ स्थित ज्यामिरेघाट जोड्ने उक्त झोलुङ्गे पुलमा स्थानियबासीले टायर, काँडेतार, जस्ता, बाल्टी, काठजस्ता सामग्री राखेर अवरोध गरेका हुन् । कोरोना भाइरसको संक्रमण फैलने आशंकामा राजमार्गबाट कोही पनि व्यक्ति पुल तरेर पारी नआउन् भन्न पुल बन्द गरिएको एक स्थानीयले बताए ।


गोरखामा उत्पादित तरकारी ज्यामिरेघाटस्थित संकलन केन्द्रमा ल्याउन सहज होस् भनि गत वर्ष मात्रै उक्त पुल निर्माण गरिएको थियो । धादिङबेंसीबाट साङ्गकोष उक्लने झोलुङ्गे पुल पनि स्थानीयले बन्द गरेका छन् । मुख्य बजार क्षेत्रका अधिकांश टोलमा पस्ने मुख्य सडकमा अपरिचितलाई पस्नमा अवरोध गर्न तगारो राखेर स्थानीयले निगरानी बढाएका छन् ।

प्रकाशित : चैत्र १५, २०७६ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?