विदेशबाट फर्किएका ३२ जना होम क्‍वारेन्टाइनमा

कृष्ण थापा

नुवाकोट — जिल्लामा विदेशबाट फर्किएकाको लगत संकलन गरी होम क्‍वारेन्टाइनमा राख्‍न थालिएको छ । 

कोरोना भाइरस (कोभिड—१९) को संक्रमणको खतरालाई न्यूनीकरण गर्न बिहीबारसम्म ३२ जनालाई होम क्‍वारेन्टाइनमा राखिएको जिल्ला सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए । विदेशबाट फर्किनेमा सबैभन्दा बढी विदुर नगरपालिकाभित्रका छन् । नगरमा २२ जना विदेशबाट आएको तथ्यांक छ । त्यसैगरी तादी गाउँपालिकामा १ जना, तारकेश्वरमा ३ जना, लिखु गाउँपालिकामा ३ जना र बेलकोटगढी नगरपालिकामा ३ जना छन् ।


जिल्लाका १२ वटै स्थानीय तहका वडा कार्यालयले लगत लिने र स्वास्थ्य परीक्षण गराउने कार्य भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर घिमिरेले बताए । दुबईबाट १०, भारतबाट १०, कतारबाट ३, मलेसिया ४, साउदीबाट १, जापानबाट १ र पोर्चुगलबाट १ जना जिल्ला भित्रेका छन् । विनपा ५ र तारकेश्वर गाउँपालिका जोरचौताराका १/१ जना कुन देशबाट आएको भन्‍ने खुलेको छैन । प्रकाशित : चैत्र १३, २०७६ १९:२२

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तमोर करिडोरमा कार्यरत ४५ मजदुर अलपत्र

रमेशचन्द्र अधिकारी

धनकुटा — तमोर करिडोरको धनकुटा खण्डमा कार्यरत मजदुर दुई दिनदेखि अपलत्र परेका छन् । कोभिड–१९ रोकथामका लागि देशभर लकडाउन गरिएपछि तमोर करिडोरको मुलघाटदेखि पाँचथरको नावा खोलासम्म कार्यरत ४५ जना मजदुर कार्यरत अवस्थामा अपलत्र परेका हुन् ।

दुई दिनदेखि काम रोकिएपछि उनीहरु अलपत्र परेको सुपरभाइजर रोशन भण्डारीले बताए। उक्त खण्डमा रौता कन्ट्रक्सन प्रालि काम गर्दै आएको छ। काम नभएको अवस्थामा रासन समेत सकिएर भोकै बस्नुपर्ने अवस्था आएको मजदुरहरूले बताएका छन्। भण्डारीले गाउँमा खाना समेत पाइन छोडेको बताए। दुई दिनसम्म अलपत्र पर्दा खर्च सकिँदै गएपछि मजदुर बिचल्लीमा परेको बताइएको छ।

मजदुरलाई खाद्यान्न उपलब्ध गराउन प्रयासरत रहने प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए। उनले ठेकेदार कम्पनीले पछि मजदुरको तलबबाट तिर्नेगरी खाद्यान्न उपलब्ध गराइने बताए।

घरभाडा नलिन वाणिज्य संघको आग्रह

कोभिड–१९ नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको अवधिभर धनकुटाका घरधनीले डेराभाडा नलिन उद्योग वाणिज्य संघ धनकुटाले जिल्लावासीलाई अपिल गरेको छ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै वाणिज्य संघले उक्त आग्रह गरेको हो। लकडाउनको अवधिमा व्यापार व्यवसाय ठप्प रहने भएकोले घरभाडा नलिई सहयोग गर्न घरधनी समक्ष आग्रह गरिएको वाणिज्य संघका जिल्ला अध्यक्ष विजयसन्तोषी राईले बताए।

यसैगरी लकडाउन अवधिको ऋणीहरुबाट ब्याज समेत मिनाहा गर्न संघले उल्लेख गरेको छ। विषम परिस्थितिमा सबैले साथ सहयोग गर्न समेत वाणिज्य संघका अध्यक्ष राई र वरिष्ठ उपाध्यक्ष तारा तितुङले संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित : चैत्र १३, २०७६ १९:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×