कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

रसुवामा ३५ आइसोलेसन वार्ड र २१६ शय्याको क्‍वारेन्टाइन निर्माण

बलराम घिमिरे

रसुवा — जिल्लाको पाँच वटा गाउँपालिकामा ३५ वटा आइसोलेसन र २ सय १६ क्वारेन्टाइन शय्या निर्माणण गरिएको छ । गोसाइकुण्ड गाउँपालिकाको रसुवागढी, धुन्चे र स्याफ्रुबेंसीमा गरी १ सय १५ शय्याको क्वारेन्टाइन तयार पारिएको छ ।

रसुवामा ३५ आइसोलेसन वार्ड र २१६ शय्याको क्‍वारेन्टाइन निर्माण

रसुवा अस्पतालमा २० शय्याको आइसोलेसन वार्ड तयार परिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । सदरमुकाम धुन्चेमा रहेको कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्रमा ५०, रसुवागढीमा ५० र स्याफ्रुको कोमिन स्यामेवाङ्फेल माविमा १५ शय्या गरी १ सय १५ शय्याको क्वारेन्टाइन तयार परिएको छ ।


कालिका गाउँपालिकाको कालिका हिमालय मावि कालिकास्थानमा ५० शय्याको क्वारेन्टाइन र निलकण्ठ नमुना मावि जिबजिबेमा १५ शय्याको आइसोलेसन वार्ड तयार पारिएको कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीले बताइन् । जिबजिबे ग्रामिण अस्पतालमै १७ शय्याको थप बेड तयार पारिएको उनले बताइन् ।


त्यस्तै नौकुण्ड गाउँपालिकाको पारच्याङमा १५ र आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतमा १५ शय्याको क्वारेन्टाइन तयार पारिएको छ । उत्तरगया गाउँपालिकाको डाँडागाउँमा १५ र प्रतिनिधिसभा सदस्य मोहन आचार्यको घरमा २१ शय्याको क्वारेन्टाइन तयार पारिएको गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।


कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पाँचवटै गाउँपालिकाका विभिन्न ८ ठाउँमा क्वारेन्टाइन तथा आइसोलेसन वार्ड बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।


तयार पारिएको सबै क्वारेन्टाइन तत्काल सञ्चालनमा ल्याउनका लागि छलफल भइरहेको उनले बताए । क्वारेन्टाइन तथा आइसोलेसन वार्ड निर्माणका लागि पाँच वटै गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र चेम्बर अफ कर्मसले सहयोग गरेका छन् ।


त्यस्तै जिल्लाको विभिन्न १० स्थानमा हेल्थ डेक्स सञ्चालनमा आएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?